+
+
Shares

ओलीको तर्क- सरकारबाट जाँदा ढिला हुने भएर सीधै पीडितलाई राहत दियौं

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १२:२४
Photo Credit : News Agency Nepal
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केपी शर्मा ओलीले रसुवाका बाढीपीडितलाई सरकारी कोषभन्दा सिधै राहत पुर्‍याउने एमालेको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
  • उनले उद्धार र प्रारम्भिक राहतपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने र पार्टीले करिब १ करोड २० लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने लक्ष्य राखेको बताए ।
  • ओलीले विपद्को बेला एआई जेनेरेटेड तस्वीरबाट सस्तो लोकप्रियता कमाउन खोजिएको भन्दै उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुन आग्रह गरे ।

१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोषमार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकाले पार्टीले सिधै पीडितसम्म पुग्ने बाटो रोजेको तर्क गरे ।

‘हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौँ भनेका होइनौँ । तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पुर्‍याउने कार्यलाई प्राथमिकता दिएका हौँ,’ अध्यक्ष ओलीले भने ।

उनले उद्धार तथा प्राथमिक राहतका कामहरू सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने बताए ।

अध्यक्ष ओलीका अनुसार, एमालेले आफ्नै सामर्थ्य र कार्यकर्ता परिचालनमार्फत राहत सङ्कलन तथा वितरण गरिरहेको छ । पार्टीले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखेको भए पनि राहतको कुल परिमाण त्योभन्दा बढी हुने उनले जानकारी दिए ।

अध्यक्ष ओलीले महाविपद्को संवेदनशील घडीमा प्रविधिको दुरुपयोग गरी एआई जेनेरेटेड तस्वीरको सहारामा सस्तो लोकप्रियता कमाउन खोजिएको भन्दै आलोचना गरे ।

‘यस दुःखद् घडीमा हजारौँको संख्यामा जीवनको क्षति र ठूलो अनुपातमा संरचनाको विनाश भएको छ । यस्तो समयमा हामीले पीडितलाई अधिकतम सेवा पुर्‍याउनेतर्फ लाग्नुपर्छ,’ ओलीले भने, ‘कोही एआईको सहायताले कृत्रिम दृश्यहरू चित्रण गरी आफूलाई जनताको सेवक देखाउन खोजिरहेका छन् । कृत्रिम फोटोहरू खडा गरेर प्रचार गर्ने समय यो होइन ।’

उनले विपद्को बेला प्रचारमुखी नभई सेवामुखी बन्न आग्रह गर्दै सबैको ध्यान र सामर्थ्य उद्धार, राहत तथा पुनर्स्थापनामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?