+
+
Shares

ओलीको प्रश्नः शंकास्पद कुरा लुकेको ग्रीन आर्मीसँग मेरो नाम किन जोडियो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १२:३३
Photo Credit : News Agency Nepal

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केपी शर्मा ओलीले ‘ग्रीन आर्मी’को गतिविधि, तालिम, आर्थिक स्रोत र परिचालनबारे सरकारसँग स्पष्ट जानकारी माग गरेका छन्।
  • उनले ७० हजार सदस्य दाबी गरिएको समूहको पोसाक, दर्ज्यानी चिह्न र आफ्नो नाम जोडिएको विषय शङ्कास्पद भएको बताएका छन्।
  • ओलीले नेपाली सेना राजनीतिक विवादमा मुछिनु दुःखद् भएको भन्दै राहत र पुनर्स्थापना नै मुख्य प्राथमिकता हुनुपर्ने बताए।

१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, तालिम र आर्थिक स्रोतमाथि गम्भीर प्रश्न उठाएका छन्।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले उक्त समूहको परिचय र उद्देश्य स्पष्ट पार्न सरकारसँग माग गरेका हुन्।

अध्यक्ष ओलीले ‘ग्रीन आर्मी’ले २०७२ सालको भूकम्प र कोभिड–१९ को महामारीका समयमा राहत पुर्‍याएको भनी गरेको दाबीको खण्डन गरे। सेनाको ‘चुस्ता’ जस्तै देखिने पोसाक र कतिपयमा दर्ज्यानी चिह्न समेत प्रयोग गरिएकोमा आपत्ति जनाउँदै उनले त्यसको कानुनी आधार र खर्चबारे जिज्ञासा राखे।

‘यो संस्था २०७२ सालमा थिएन, कोभिडको समयमा पनि थिएन। गत वर्ष रसुवामा बाढी आउँदा वा मुलुकमा अन्य राजनीतिक घटनाक्रम हुँदा पनि यो युनिफर्ममा कुनै जनशक्ति देखिएको थिएन,’ ओलीले भने, ‘सेनाले एनसीसीका विद्यार्थीहरूलाई आवधिक तालिम दिने गर्छ, तर यो समूह कसरी र कुन प्रक्रियाबाट तालिम प्राप्त भयो ? यसको खर्च कसले व्यहोर्‍यो ? मेरो नाम किन जोडिएको छ ? यसमा केही शङ्कास्पद कुरा लुकेको देखिन्छ।’

७० हजारको संख्यामा रहेको दाबी गरिएको यस समूहको बुट, चुस्ता र परिचालन खर्चको स्रोत के हो भनी प्रश्न गर्दै ओलीले रक्षा मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना र सशस्त्र प्रहरी बलले यसबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने माग गरे।

आफू प्रधानमन्त्री भएको समयमा उक्त संस्था दर्ता भएको भनी आएका चर्चाप्रति टिप्पणी गर्दै उनले संस्था दर्ता गर्ने काम प्रधानमन्त्रीको नभई छुट्टै ऐन र कार्यालयहरूमार्फत हुने स्पष्ट पारे।

‘ग्रीन आर्मी’ जस्ता अपारदर्शी समूहको परिचालनले सुरक्षा र कानुनी मर्यादामा चुनौती थप्न सक्ने उनको संकेत थियो।

‘सेना विवादमा मुछिनु दुःखद्’

अध्यक्ष ओलीले नेपाली सेना जस्तो गरिमामय संस्था राजनीतिक विवादमा मुछिनु दुःखद् भएको बताए। राष्ट्रिय सुरक्षाको सुदृढ र विश्वसनीय संस्थाका रूपमा रहेको नेपाली सेना सधैँ निष्कलंकित र निर्विवाद रहनुपर्नेमा उनले जोड दिए।

‘नेपाली सेना राजनीतिक विवादमा मुछिनै नहुने संस्था हो, तर गत वर्षदेखि यसलाई विवादमा तान्ने काम भइरहेको छ,’ ओलीले भने, ‘सेना नेपाली जनताको आशा र भरोसाको केन्द्र भएकाले यो संस्था सधैँ स्वच्छ र आफ्नो सीमाभित्र रहनु उचित हुन्छ।’

विपद् व्यवस्थापनका सन्दर्भमा बोल्दै उनले सेनाको पछिल्लो सक्रियता र समयसन्दर्भमाथि समेत प्रश्न उठाउँदै राहत र उद्धारको नाममा सेनाको उपस्थितिको प्रभावकारिता स्पष्ट नभएको टिप्पणी गरे। नेपाली सेना र नेपाल प्रहरीले उद्धार तथा राहतका क्षेत्रमा पुर्‍याएको योगदानको भने उनले प्रशंसा गरेका थिए।

अहिलेको मुख्य प्राथमिकता राहत र पुनर्स्थापना नै हुनुपर्ने बताउँदै ओलीले प्रदेश सरकारमार्फत विभिन्न स्थानमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने तथा अवरुद्ध सडक सञ्चालन गर्ने कार्य भइरहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?