१९ भदौ, काठमाडौं । दुई जनाको जीवितै उद्धार भएको माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङमा एउटा शव फेला परेको उद्धारकर्मीहरूले जनाएका छन् ।
आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट एउटा शव निकालेका छन् ।
शवको अहिले पहिचान हुन बाँकी छ ।
आयोजनाको सुरुङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नेपाल विद्युत प्राधिकरणसमेतको उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको थियो । उद्धार भएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली थ्री–ए परियोजनामा सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ । त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत् गृहमा नै रहेको अनुमान छ ।
सो आयोजनाको भूमिगत विद्युत् गृह क्षेत्रमा थप मानिसहरुलाई उद्धार गर्न सकिन्छ कि भनेर निरन्तर खोजी तथा उद्धार अभियान जारी छ ।
प्रतिक्रिया 4