+
+
Shares

‘इथा’: इतिहासको पातलो आवरणभित्रको बृहत् आख्यान

मानिसको क्रोध, आवेग र आवेशलाई व्यक्त गर्दा समेत सभ्य शब्दहरूको प्रयोग सम्भव छ- ‘इथा’ ले यही भन्छ ।

महेशविक्रम शाह महेशविक्रम शाह
२०८३ भदौ २२ गते ११:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केशव दाहालको दोस्रो औपन्यासिक कृति ‘इथा’ लाई इतिहास, सभ्यता, दर्शन र मानवीय चेतनाको सिर्जनात्मक पुनराविष्कारका रूपमा मूल्यांकन गरिएको छ।
  • उपन्यास ‘इथा’ ले करिब २४ सय वर्षअघिको बुद्धकालीन वैशाली, मगध र मञ्जुपट्टनलाई आधार बनाएर नयनताराको जीवनयात्रा र लिच्छविहरूको उदयको कथा प्रस्तुत गरेको छ।

प्रारम्भः

सुपरिचित लेखक केशव दाहालको दोस्रो औपन्यासिक कृति ‘इथा’ चर्चामा छ । थोरै लेखेर नेपाली साहित्यमा आफ्नो जबरजस्त उपस्थिति बोध गराउने दाहाल मूलतः सामाजिक अभियन्ता हुन् । राजनीतिक विश्लेषक हुन् । मेरो विचारमा उनी त्योभन्दा बढी विचारको खेती गर्न मन पराउने सर्जक हुन् ।

विचारका बेर्नाहरू सप्रिँदै गएर बोटमा लहलह बालाहरू नझुले पनि उनी नव चेतनाका बेर्नाहरू रोप्न छोड्दैनन् । बागमती नदीको बाढीले सहर पसेर घर, आँगन र सडकमा चिरा पारे पनि उनी बागमतीका किनारमा रुख रोप्न छोड्दैनन् । वैचारिक रूपमा ऊर्जावान् लेखक दाहाल नेपाली बौद्धिकहरूको पातलो झुण्डका एक खरा र तेजिला प्रकाश हुन् ।

उनै ऊर्जाशील लेखक केशव दाहालले एक दिन वसन्तपुरको हिमालयन जाभामा चुरोटको सर्को तान्दै मलाई भने—‘काठमाडौं उपत्यकाका प्राचीन दरबार, दरबारका कलात्मक बुर्जाहरू, दरबारअगाडिको खुला पटाङ्गिनी र दरबारको ठीक अगाडि निर्मित मन्दिर तथा मन्दिरमा ठड्याइएका टुँडालहरू देखेर म भावुक हुन्छु । आफ्नो गर्भभित्र प्राचीन इतिहासलाई लुकाएर ठिङ्ग उभिरहेको दरबारलाई घण्टौं हेरिरहन मन लाग्छ मलाई ।

म कल्पना गर्छु कि दरबारको पटाङ्गिनीमा रानी झुल्किइन् । रानीका पछिपछि कुदेर आउँदैछन् सुसारेहरू ! रानीले पहिरेका राजसी पोसाक र गहनाहरूको वैभवता देखेर म जिल्ल पर्छु । अचम्म ! मैले हेर्दाहेर्दै रानीको मुस्कुराइरहेको देदीप्यमान अनुहारमा गाढा छायाँ देखिन्छ । रानी कोकोहोलो गर्दै घोप्टो परेर रुन थाल्छिन् ।

दरबारको पटाङ्गिनीको ठीक मुनि दरबारका प्रजाहरू हात जोडेर दासत्वको भावमा ठिङ्ग उभिएका छन् । तीनका अनुहारहरूमा न खुसी छ, न विषाद ! ती सपाट छन् । मलाई रानीको रोदन र प्रजाको सपाट अनुहारभित्रको तथ्यको कथ्य बनाउने रहर छ।’

त्यो दिन मैले देखें, टेबलमा अमेरिकानो कफी चिसो हुन लागेको छ, तर लेखक दाहालका आँखा भने वसन्तपुरको सेतो दरबारबाट चिप्लिँदै कुमारीघरमा पुगेर विश्राम लिइरहेका छन् ।

‘म कुमारी वसुधालाई इथालयको संसारमा घुमाउन लैजाँदै छु, मित्र !’ उनी फुसफुसाउँछन् । ‘को वसुधा ? अनि इथालय ! यो के हो ?’ म आश्चर्य प्रकट गर्छु ।

‘म त्यही त भन्न खोज्दैछु, कथाकारज्यू !’ उनी मतिर हेरेर मुस्कुराउँछन् । यसरी नै समय बित्छ । र मलाई सङ्क्षिप्त कथा सुनाएको करिब एक वर्षपछि एकदिन फोन गरेर भन्छन्– ‘मित्र, मैले उपन्यास पूरा गरेँ ।’

‘कुन उपन्यासर?’ म कौतुहलतासाथ सोध्छु । ‘इथा,’ उनको आवाजमा एक स्रष्टाको आत्मसन्तुष्टि र गर्व झल्किन्छ । मैले ‘इथा’ को पाण्डुलिपि अध्ययन गर्ने मौका पाएँ । प्रकाशन भएपछि एकपटक फेरि यो उपन्यास अध्ययन गरेँ । पाण्डुलिपिको दाँजोमा प्रकाशित संस्करण परिष्कृत थियो, भाषा बेजोड थियो । नेपाली साहित्यलाई एक उम्दा कृति प्रदान गरेकोमा मैले आख्यानकार केशव दाहाललाई बधाई दिएँ ।

‘इथा’ को कथा

‘इथा’  ले करिब २४०० वर्षअघिको बुद्धकालीन समय र परिवेशलाई उपन्यासको आधार बनाएको छ । उपन्यासको कथा राजा प्रमातिको वैशाली हुँदै राजा बिम्बिसारको मगध राज्य र सौमरहरूको मञ्जुपट्टनसम्म पुगेर टुङ्गिन्छ । उपन्यासको प्रारम्भिक समयदेखि अन्त्यसम्म उपन्यासका मूल पात्रहरू वसुधा, नयनतारा, सैरन्द्री र सुपुष्प लिच्छविहरूको वैशालीदेखि सौमरहरूको मञ्जुपट्टनसम्मको यात्रा गर्छन् ।

वैशाली राज्यका ग्रामाधिपति किसानकी छोरी नयनताराको कोलिग्राम राज्यसम्मको यात्रा लोमहर्षक छ । वैशालीमा यौवनको खुड्किलोमा चढ्दै गर्दा नयनतारा डाँकुहरूबाट अपहरित हुन्छिन् ।

लिच्छविहरूले सौमरहरूमाथि विजय प्राप्त गरी नयनताराका छोरा सुपुष्प मञ्जुपट्टनको राजा घोषित हुन्छन् । लिच्छविहरूले मञ्जुपट्टनको नाम परिवर्तन गरी नयाँ राज्य कोलिग्रामको जग बसाल्छन् ।

अमरावतीका राजा कामदेवका भाइ शुभकामदेवको धोखाबाट विक्षिप्त भएर अग्निदाहको प्रतीक्षामा रहेकी कुमारी वसुधा र उनकी सखी लखाभद्रालाई नयनतारा र सैरन्द्रीको सङ्घर्षमय जीवनयात्रा (इथालय) को दर्शन गराएर वसुधालाई आत्मदाहको निर्णयबाट विमुख गराउने वृद्धा नयनतारा नै हुन् भन्ने अनुमान गर्न सकिन्छ ।

लेखकले ‘ती वृद्धा को हुन् ?’ भनेर अनुमान गर्ने जिम्मा पाठकलाई नै छोडिदिएका छन् । लेखकले उपन्यासमा विभिन्न राज्यहरूको गठन, विघटन, राजाहरूको चरित्र र राज्य–राज्यबीचको लडाइँको वर्णन गर्दै उपन्यासको कथालाई गतिशील बनाए पनि उपन्यास लेखनको वास्तविक ध्येय राजाहरूको महिमामण्डन गर्नु नभएर मानवीय मूल्यको अस्मिता, नारी सौन्दर्य, संघर्ष र साहसको गौरवगाथा तथा समयसँगै परिवर्तनशील मानव सभ्यता र संस्कृतिको मूल मर्मको तत्त्वबोध गर्नु हो भन्ने सत्य उद्घाटित हुन्छ ।

‘इथा’ को मौलिकता

आख्यानकार दाहालको औपन्यासिक शैली मौलिक छ । उनी वर्तमानमा भन्नुपर्ने कुरालाई ऐतिहासिक तथ्यहरूसँग गुथेर आख्यानीकरण गर्ने क्षमता राख्छन् । उनको पहिलो उपन्यास ‘मोक्षभूमि’ पनि मलाई मन परेको उपन्यास हो ।

उनको पहिलो उपन्यास ‘मोक्षभूमि’ र नवीन उपन्यास ‘इथा’को अध्ययनबाट निःसृत भएको मेरो निष्कर्ष हो- उनको उपन्यास लेखनको धरातल बिलकुल फरक छ । भन्नेहरूले उनको उपन्यास ‘इथा’ लाई ऐतिहासिक उपन्यास, ऐतिहासिक विषयवस्तुमाथि लेखिएको उपन्यास भनेका छन् ।

तर ‘इथा’को गहन अध्ययन गरेपछि मलाई बोध भएको तथ्य हो—‘इथा’ कुनै ऐतिहासिक कथामा आधारित छैन । यो न त ऐतिहासिक उपन्यास हो, न त ऐतिहासिक विषयवस्तुमाथि लेखिएको उपन्यास नै हो । ‘इथा’ इतिहासको पातलो आवरणभित्र बुनिएको एक बृहत् आख्यान हो, जसको पृष्ठभूमि २४०० वर्षअघिको बुद्धकालीन समय हो ।

‘इथा’ मा वैशालीको सौम्यता, मगधको भव्यता र मञ्जुपट्टनको दिव्य आभा झल्किन्छ । लेखक दाहालले वैशालीको माटो, मगधको इँटा र मञ्जुपट्टनको पानीको सम्मिश्रणबाट ‘इथा’ को जग निर्माण गरेका छन् ।

‘इथा’को परिवेश लिच्छविकालीन समय हो । कथा चाहिँ उनको आफ्नै मौलिक हो । उपन्यासका केही महत्त्वपूर्ण पात्रहरूका लागि उनले लिच्छविकालीन इतिहासका चर्चित नामहरूलाई छानेका छन्, जस्तै– वैशाली गणराज्यका राजा प्रमाति, वैशालीकी नगरवधू आम्रपाली, मगध नरेश बिम्बिसार र उनका छोरा अजातशत्रु, मञ्जुपट्टनका राजा जितेदास्ती र सुपुष्प । तर उपन्यासका तीन मूल पात्रहरू वसुधा, नयनतारा र सैरन्द्री तथा अन्य सहायक पात्रहरू काल्पनिक हुन् ।

यस उपन्यासको खास विशेषता के हो भने यो उपन्यास पढ्दा ऐतिहासिक उपन्यास पढेजस्तो लाग्छ । किनभने उपन्यासको परिवेश बुद्धकालीन समय हो । उपन्यासमा भगवान् बुद्धको गौरवमय उपस्थिति पनि देखिन्छ । इतिहासका वास्तविक पात्रहरूका नामहरूका कारण उपन्यासले इतिहासको झल्को दिन्छ ।

तर उपन्यासको कथा, उपन्यासमा वर्णित मूल पात्रहरू, वर्णित घटना–परिघटनाहरू र पात्रका संवादहरू सबै काल्पनिक हुन् । यस अर्थमा उपन्यासकार केशव दाहालले इतिहासको प्राचीन परिवेश र इतिहासका केही चर्चित नामहरूका आधारमा ‘इथा’ को निर्माण गरेका छन्, जुन मूलतः इतिहास नभएर विशुद्ध आख्यान हो ।

लेखक स्वयंले ‘इथा’ लाई ‘इतिहास र कथाको काव्यात्मक सम्मिश्रण’ भनेका छन् । उनले प्राचीन इतिहास, मिथक र दर्शनको क्यानभासमा आख्यानको चित्र कोरेका छन् भने आख्यानको चित्रलाई प्रस्तुत गरेर लिच्छविकालीन समयलाई बुझाएका छन् । उनको यस कल्पनाशीलता र रचनाधर्मिताको प्रशंसा गर्नै पर्छ ।

इथा’ को भाषा र रचना शिल्प

‘इथा’को भाषा काव्यात्मक छ । यस उपन्यासको सबैभन्दा विशिष्ट पक्ष नै भाषाको मिठास हो । यस उपन्यासका कतिपय वाक्य र अनुच्छेदहरू सूक्तिमय छन् । भाषालाई सभ्य, सुसंस्कृत, काव्यात्मक, मनोहर र मिठासपूर्ण बनाउने जिम्मेवारी लेखकको हो भन्ने भनाइलाई यस उपन्यासले चरितार्थ गर्छ । मानिसको क्रोध, आवेग र आवेशलाई व्यक्त गर्दा समेत सभ्य शब्दहरूको प्रयोग सम्भव छ- ‘इथा’ ले यही भन्छ ।

यस अर्थमा ‘इथा’ इतिहासको पुनर्कथन मात्र होइन, इतिहास, सभ्यता र दर्शनको सिर्जनात्मक पुनराविष्कार हो ।

इतिहासको पातलो आवरणभित्र कल्पनाको बृहत् संसारको रचना गर्नु ‘इथा’ को अर्को विशेषता हो । कथा इतिहास हो, कथाभित्रको पटकथा काल्पनिक; देश र राज्यहरू सत्य हुन्, तर राज्यको संरचना र वासिन्दाहरू काल्पनिक: पात्रका नामहरू ऐतिहासिक हुन्, तर मान्छेहरू काल्पनिक; नागरिकका आदर्शहरू तथ्यमा आधारित हुन्, तर उपन्यासमा वर्णित तिनका व्यवहारहरू मौलिक हुन् ।

यस अर्थमा आख्यानकार केशव दाहालले उपन्यास ‘इथा’मा गणितीय भाषा र सूत्रको अर्थ होइन, उच्चस्तरीय मौलिक कल्पना, भाव र संवेदनाको अनुभूतिबोध गराएका छन् । सुरूचिपूर्ण र मखमली शव्दहरूको प्रयोगले उपन्यासको भाषालाई मनोहर र कञ्चन बनाएको छ ।

बिम्ब र प्रतीकको प्रयोगबाट प्राचीन समाजको उत्खनन

उपन्यास ‘इथा’ मा निर्माण गरिएका प्रमुख पात्रहरू वसुधा, लखाभद्रा, नयनतारा र सैरन्द्री इतिहासका पात्रहरू होइनन् । उपन्यासकारले यी पात्रहरूको प्रयोग बिम्ब र प्रतीकका रूपमा गरेका छन् । वास्तवमा सम्पूर्ण उपन्यासको कथा नै यी नारी पात्रहरूको वरिपरि घुमेको छ ।

जब यी पात्रहरूसँग इतिहासका वास्तविक पात्रहरू जोडिन्छन् र उपन्यास गतिशील बन्दछ ।

उपन्यासका पात्रहरूका वास्तविक नामहरू उपन्यासको कथा र इतिहासलाई जोड्ने सेतु हुन्, जसले उपन्यासलाई पूर्णता दिन्छन् । मौलिक पात्रहरूले कथालाई गति दिन्छन् भने इतिहासमा वर्णित पात्रका वास्तविक नामहरूले उपन्यासको मौलिक कथामा इतिहासको रङ्ग भर्छन् ।

लेखकले वसुधा, लखाभद्रा, नयनतारा र सैरन्द्रीको बिम्बबाट उपन्यासकारले तत्कालीन समाजको उत्खनन गर्ने प्रयास गरेका छन् । यीनै चार पात्रहरूको चारित्रिक प्रस्तुतिमा प्राचीन समयका आम नागरिकहरूको व्यवहार र मनोदशा प्रकट भएको छ । यसका साथै तत्कालीन समाजको नेतृत्व वर्ग (राजा) र शासित वर्ग (जनता) बीचको सम्बन्ध, द्वन्द्व, प्रभाव र परिणामलाई उजागर गरेको छ । उपन्यासमा बिम्बका रूपमा प्रयुक्त नारी पात्रहरूको जबर्जस्त उपस्थितिले नै यस उपन्यासको मौलिक पक्ष हो भनेर मान्न सकिन्छ ।

लेखकले आफ्नो लेखनमार्फत आफू बाँचेको समाज र परिवेशको मात्र अभिलेखन गर्ने नभई आफ्ना पुर्खाहरू बाँचेको समाज र परिवेशको समेत उत्खनन गर्नुपर्छ । लिच्छविकालीन समाज वर्तमानभन्दा के कारणले पृथक् छ ? त्यस बेलाका मान्छेहरूको जीवन आजका मान्छेहरूभन्दा के कारण भिन्न थियो ? समयको गर्भमा लुप्त भएका ती मान्छेहरूको संस्कृति, सभ्यता र संस्कार कस्तो थियो ? मानव संस्कृति र सभ्यताको विकासमा त्यस कालको योगदान के रह्यो ? र तिनीहरूले हामीलाई के छाडेर गए ?

यी सम्पूर्ण प्रश्नहरूको जवाफ इतिहासले मात्र दिन सक्दैन । आख्यान नै त्यस्तो सशक्त विधा हो, जसले समाजका सूक्ष्म तथ्यहरूको सङ्कलन, सङ्ग्रहण र अभिलेखन गर्छ । सायद यही कारणले हुनुपर्छ, लेखक दाहालले लिच्छवीकालीन नेपालको इतिहास होइन, आख्यान लेखे । त्यो समयको संवेदनालाई स्पर्श गरे, धुकधुकी छामे, तिनको मनोविज्ञानलाई पर्गेले र ‘इथा’ को सिर्जना गरे ।

‘नयनतारा’: नारी सपना, सङ्घर्ष र सफलताकी प्रतीक

मेरो विचारमा ‘इथा’की मूल पात्र नयनतारा, उपन्यासकी एक पात्र मात्र नभएर लेखककी मौलिक आविष्कार हुन् । नयनतारा पात्रको सिर्जना नै ‘इथा’ एक विशिष्ट मौलिक उपन्यास हुनुको बलियो प्रमाण हो । विभिन्न कालखण्डमा लेखिएका इतिहासहरूमा सामाजिक र सांस्कृतिक विभेदको फलस्वरूप हेपिएका, दबाइएका, अनदेखा गरिएका र बहिष्कारमा परेका आम नारीहरूको कुनै प्रसङ्ग भेटिँदैन । वर्णन भेटिँदैन । तिनीहरू इतिहासको गहिरो गल्छीमा लुप्तप्रायः देखिन्छन् ।

तर इतिहासले महत्त्वहीन ठानेर पन्छाएका समाजका कमजोर वर्गहरूलाई यस आख्यानले शिरमा सजाएको छ । तिनको महत्त्व दर्शाएको छ । समाज निर्माणमा तिनीहरूको भूमिकालाई अङ्गीकार गरेको छ । सांस्कृतिक चेतनाको प्रवाहमा नारी अस्मिताको मूल्यलाई स्वीकार गरेको छ । र ‘इथा’ की मूल पात्र नयनताराले यस समयप्रवाहलाई आफूमा समेटेकी छिन् ।

उपन्यासमा नयनताराको केन्द्रीय भूमिका छ । पूरै उपन्यास नयनताराको जीवनयात्राको तेजिलो पुञ्ज हो । लेखकले नयनताराको जीवनयात्राको वृत्तभित्र मञ्जुपट्टनमा सौमरहरूको पतन र वैशालीबाट आएका लिच्छवीहरूको उदयको कथालाई समेटेका छन् । तर यस उपन्यासले उद्घाटन गरेको तथ्य राज्यहरू बदलिनु मुख्य विषय होइन, यस परिवर्तनबाट मानवीय मूल्य, सभ्यता र चेतनामा आएको रूपान्तरण नै प्रमुख विषय हो ।

यस रूपान्तरणका बारेमा व्याख्या गर्नुभन्दा पहिले नयनताराको जीवनयात्रालाई बुझ्नु महत्त्वपूर्ण हुन्छ । वैशाली राज्यका ग्रामाधिपति किसानकी छोरी नयनताराको कोलिग्राम राज्यसम्मको यात्रा लोमहर्षक छ । वैशालीमा यौवनको खुड्किलोमा चढ्दै गर्दा नयनतारा डाँकुहरूबाट अपहरित हुन्छिन् ।

उनलाई अपहरण गरी बलात्कार गर्ने डाँकु आपसी द्वन्द्वमा मरे पनि उनी डाँकुको गर्भधारण गर्न विवश हुन्छिन् । बच्चा जन्मेपछि पाएको मातृसुखको तृप्तिले उनी डाँकुको बीजबाट उत्पन्न छोरो भए पनि अगाध स्नेह र वात्सल्य जाग्छ । उनी बच्चा लिएर आफ्नो घर फर्किन्छिन् ।

आफ्नो गाउँ फर्केपछि उनी नृत्यसाधनामा आफूलाई समर्पण गर्छिन् । कुञ्जस्थली ग्रामपञ्चायतले वैशाली नरेशलाई कर तिर्न नसक्ने अवस्थामा करको साटो वैशालीमा अष्टकुल महासम्मेलनको अन्तिम दिन आयोजना हुने नृत्य प्रतियोगितामा भाग लिएर उनी आफूलाई दाउमा लगाउँछिन् । नृत्य प्रतियोगिता जिते राजा प्रमातिकी रानी बन्न पाइने र असफल भए आम्रपालीको दरबारमा नगरवधू बन्नुपर्ने नियतिलाई चिर्दै उनी नृत्य प्रतियोगिता जितेर रानी बन्छिन् ।

तर वैशालीका वैभवशाली राजा प्रमातिकी रानी बने पनि राजाको यौन नपुंसकताले उनलाई घोर निराशामा पारिदिन्छ । झीलमहलमा एकलास जीवन व्यतीत गरिरहेकी नयनतारा तान्त्रिक साधनाबाट आफ्नो यौन क्षमता फर्काउने धुनमा लागेको राजाको नियन्त्रण र प्रभावबाट आफ्नो अस्मिताको रक्षा गर्न राजा र राज्यप्रणालीसँग विद्रोह गर्छिन् ।

राजाकी रानी बनेर जीवनभर राजसी सुखभोग गर्ने अवसरलाई लत्याउँदै उनी स्वतन्त्र नागरिकका रूपमा जीवनयापन गर्ने उद्देश्यले राजदरबार त्याग्छिन् र तक्षशिलामा अध्ययनरत छोरा सुपुष्पलाई साथमा लिएर मञ्जुपट्टनतिर उन्मुख हुन्छिन् । त्यसपछिको उनको यात्रा नवीन जीवनको खोजमा बित्छ ।

यही बीचमा अनेक घटनाहरू घटित हुदै जान्छन् र अनुकूल समयमा उनले छोरा सुपुष्पलाई लिच्छवीहरूको सहयोगमा मञ्जुपट्टन नरेश जितेदास्तीलाई कैद गरेर स्वयं राजा घोषित गर्ने आदेश दिन्छिन् । यसरी लिच्छवीहरूले सौमरहरूलाई पराजित गरेर मञ्जुपट्टनमा आधिपत्य जमाउँछन् । नयनताराले मञ्जुपट्टनको नाम कोलिग्राम राख्छिन् । सुपुष्प कोलिग्राम राज्यको पहिलो राजा घोषित हुन्छन् ।

नयनताराको जीवन त्याग, प्रेम, पीडा, सङ्घर्ष, सम्झौता, विद्रोह, मुक्ति र अन्ततः नयाँ राज्यको निर्माणको उत्सर्गमा गएर टुङ्गिन्छ । नयनतारा उपन्यासको केन्द्रबिन्दु हुनुको मतलब यस उपन्यासले नारीको गहनता, आवश्यकता, महत्ता, व्यापकता र शीर्ष भूमिकालाई नै आख्यानको मूल विषय मान्नु हो भन्ने मेरो अध्ययनको निश्कर्ष हो ।

लिच्छविकालीन नारीहरू राजदरबारको शोभा मात्र होइन, स्वतन्त्र नागरिकका रूपमा आफ्नो अस्तित्वको संरक्षण गर्न उद्यत थिए; उनीहरू निःशस्त्र भएर पनि राजदरबारको सशस्त्र किल्लालाई भत्काएर नयाँ राज्यको निर्माणद्वारा नवीन सभ्यता र संस्कृतिको जग बसाल्न समर्थ थिए ।

नयनताराले राजदरबार बिरुद्ध गरेको बिद्रोह, नारीलाई कज्याएर राख्ने र आफ्नो चाहना अनुसार नारीको उपयोग गर्ने तत्कालीन पुरुषसत्ताको विचार, व्यवहार र व्यवस्था विरुद्धको बिद्रोह हो । यस आख्यानमार्फत लेखकले स्थापित गरेको तथ्य यही नै हो । त्यसैले इथा केवल मञ्जुपट्टन राज्यका सौमरहरुको पराजय र लिच्छविहरुको विजयको कथा मात्र होइन, इतिहासले अवला सम्झेका नारीहरुको आफ्नो अस्तित्व आफैं निर्धारण गर्ने स्वः निर्णयको कथा हो ।

मिथक र इतिहासको कलात्मक सम्मिश्रण

‘इथा’ अध्ययन गर्ने प्रायः पाठकहरूको प्रतिक्रिया छ ‘इथा पढ्दा कहिले आख्यानजस्तो लाग्छ, कहिले इतिहासजस्तो लाग्छ।’ पाठकलाई द्विविधामा राख्नु वा भ्रममा पार्नु लेखकको सफलता हो वा विफलता ? म यसै भन्न सक्दिनँ । किनभने जसलाई जस्तो लागे पनि पाठकको अन्तिम निष्कर्ष छ—उपन्यास राम्रो छ ।

साथसाथै गहन रूपमा उपन्यास ‘इथा’ अध्ययन गर्‍यो भने पाठक द्विविधामा रहनुपर्ने कुनै कारण देख्दिनँ म । यो उपन्यास लिच्छविकालीन परिवेशको भएकोले इतिहासको सङ्क्षिप्त जानकारी हुनु अपरिहार्य छ । इतिहासका जानकारहरूका लागि यो उपन्यास लिच्छविकालीन समयको फलकमा लेखिएको मौलिक उपन्यास हो भन्न हिचकिचाउनु पर्दैन ।

आख्यानलाई जीवन्त बनाउन लेखकले काल्पनिक पात्र र परिवेशको यथार्थ भाव सिर्जना गर्छ, जसले गर्दा पाठकले ती सन्दर्भहरूलाई आफूसँग आत्मसात् गर्छ । लेखक केशव दाहालले ‘इथा’ मा इतिहास, धर्म, दर्शन, मिथक, किंवदन्ती र लोककथाहरूको कुशल संयोजन गरेर एक यस्तो लोकको निर्माण गरेका छन्, जहाँ इतिहासले स्थान नदिएका अनगिन्ति मौन पात्रहरू मुखरित भएका छन् । यस उपन्यासले दिएको महत्वपूर्ण सन्देश हो- ‘इतिहास निर्माणमा राजा र सेनाको भन्दा आम नागरिकको भूमिका महत्वपूर्ण हुन्छ ।’

यसरी इथाले आख्यानको माध्यमबाट लिच्छविकालीन इतिहासको पुनर्लेखन गरेको छ । इथामा लेखकले पौराणिक मिथकहरूको सुन्दर प्रयोग र पुनरावृति गरेका छन् ।

नयनताराको आकाङ्क्षा अनुसार सुपुष्पले च्यासल दरबारमा आयोजन गरेको यज्ञमा राजा जनक, विदुषी गार्गी, विद्वान् ऋषि अष्टावक्र र आर्यावर्तका महान् ऋषिहरू धौम्य, च्यवन, द्रोणाचार्य, सान्दीपनि, वत्स, वशिष्ठ, विश्वामित्र, वाल्मीकि, गौतम र भारद्वाजको उपस्थिति एक नयाँ प्रयोग हो ।

यी महान् ऋषिहरू पौराणिक कालीन ऋषिहरू नभएर त्यस समयका बौद्धिक व्यक्तित्वहरू थिए । पौराणिक मिथकको पुनरावृत्ति गरेर लेखकले मानवको चेतना र ज्ञान कुनै निश्चित समय र भूगोलमा सीमित रहँदैन भन्ने सत्यको बोध गराएका छन् ।

उपन्यासमा नयनताराले मञ्जुपट्टनमा भगवान बुद्धको दर्शन पाउनुका साथै उनका दिव्य प्रवचनको साक्षी बनेको प्रसङ्ग उल्लेख छ । यस प्रसङ्गले उपन्यासको गरिमा र भव्यतालाई अझ उचाइमा पुर्याएको छ भने उपन्यासका काल्पनिक प्रसङ्ग र घटना, परिघटनाहरूलाई पनि वास्तविकताको आभाले आलोकित तुल्याएको छ । उपन्यासमा प्रयुक्त ‘बुद्ध बिम्ब’ ले कथालाई ऐतिहासिक विश्वसनीयता प्रदान गर्नुका साथै त्यस युगको आध्यात्मिक चेतना, मानवीय करूणा र जीवन दर्शनलाई समेत सशक्तरुपमा अभिव्यक्त गरेको छ ।

इथा : इतिहास, सभ्यता र दर्शनको अभिव्यञ्जना

‘इथा’ वैदिक, बौद्ध र मुन्धुम—यी तीन परम्परा, सभ्यता र दर्शनको अभिव्यञ्जना हो । यस आख्यानले तीन प्राचीन राज्यलाई समेटेको छ—वैशाली, मगध र मञ्जुपट्टन । वैशालीमा श्रमण परम्परा थियो । विशेषतः बौद्ध र जैन धर्मको, प्रमुख केन्द्र थियो । यो प्राचीन वज्जि संघको प्रमुख नगरसमेत थियो । यहाँ बौद्ध र जैन दुवै परम्परा अत्यन्त प्रभावशाली थिए । बुद्ध र महावीरको वैशालीसँग गहिरो सम्बन्ध गाँसिएको थियो, जसको उल्लेख उपन्यासमा समेत गरिएको छ ।

अर्को राज्य मगध बहुधार्मिक केन्द्रका रूपमा स्थापित थियो । बुद्धको समयका मगधका राजा बिम्बिसार र अजातशत्रुको पालामा वैदिक परम्परा, बौद्ध धर्म र जैन धर्मको प्रभाव रहेको पाइन्छ । उपन्यासमा वर्णित तेस्रो राज्य मञ्जुपट्टन अर्थात् काठमाडौं उपत्यकामा स्थानीय किरात तथा प्रकृति-पूजक परम्पराको प्रभाव थियो । पछि मञ्जुपट्टनमा वैदिक र बौद्ध धर्मको प्रभाव विस्तार हुँदै गयो ।

उपन्यासको कथाकाल बुद्धकालीन समयसँग सम्बन्धित भएकाले भगवान् बुद्ध पनि यस आख्यानका एक महत्त्वपूर्ण पात्रका रूपमा उपस्थित हुनु स्वाभाविक देखिन्छ । त्यसैले यस आख्यानमा बौद्ध धर्मको प्रमुख ग्रन्थ त्रिपिटकको चर्चा हुनु र त्यसमा उल्लिखित कतिपय सूत्र तथा शिक्षाको अनुसरण गरिनु पनि स्वाभाविक मान्न सकिन्छ । यस बृहत् आख्यानमा किरात सभ्यताको प्रमुख ग्रन्थ मुन्धुमको चर्चा गरिनुका साथै मुन्धुमका महत्त्वपूर्ण अंशहरूलाई उपन्यासमा उद्धरण गरिनुले आख्यानको भव्यता र गरिमालाई अझ बढाएको छ ।

उपन्यासमा वर्णित तीन राज्य—वैशाली, मगध र मञ्जुपट्टनमा फरक–फरक समयमा फरक धार्मिक तथा सांस्कृतिक परम्पराको प्रभाव रह्यो र तिनै परम्पराका आधारमा आ-आफ्ना सभ्यताको विकास भयो। यी प्राचीन इतिहास, मिथक र किंवदन्तीहरूलाई उपन्यासको कथानकले यसरी कलात्मक ढङ्गले जोडेको छ कि उपन्यासमा वर्णित सम्पूर्ण परिघटनाहरू पाठकका लागि यथार्थझैँ लाग्छन् । यस बृहत् आख्यानको सफलता र प्रभावकारिताको मूल रहस्य पनि यसैमा निहित छ ।

सार/सङ्क्षेप

मेरो निचोड छ, ‘इथा’ नेपाली साहित्यको एउटा उम्दा र विशिष्ट कृति हो भन्ने कुरामा दुई मत हुन सक्दैन । यो केवल एउटा आख्यान होइन; इतिहास, सभ्यता, दर्शन, संस्कृति र मानवीय चेतनाको अन्तरसम्बन्धलाई कलात्मक शिल्पमा अभिव्यक्त गर्ने सशक्त साहित्यिक प्रयत्न हो ।

वर्तमान डिजिटल युगमा, जहाँ पाठकको ध्यान क्षणिक सूचना र द्रुत मनोरञ्जनतर्फ बढी आकर्षित भइरहेको छ, त्यस्तो समयका पाठकलाई प्राचीन इतिहास, दर्शन, परम्परा र सभ्यताको गहिराइसम्म पुर्‍याउनु ‘इथा’ को उल्लेखनीय उपलब्धि हो । अझ महत्त्वपूर्ण कुरा, लेखकले इतिहासलाई केवल विगतको घटनाक्रमका रूपमा प्रस्तुत नगरी त्यसमा अन्तर्निहित जीवन-दर्शन, सांस्कृतिक चेतना र मानवीय प्रश्नहरूलाई आख्यानको रोचकता र कलात्मक सौन्दर्यसँग गाँसेका छन् ।

यस अर्थमा ‘इथा’ इतिहासको पुनर्कथन मात्र होइन, इतिहास, सभ्यता र दर्शनको सिर्जनात्मक पुनराविष्कार हो । तथ्य र कल्पना, अतीत र वर्तमान तथा इतिहास र मानवीय अनुभूतिबीच सेतु निर्माण गर्दै पाठकलाई विगततर्फ फर्काएर वर्तमानलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्नु नै यसको मूल सामर्थ्य हो । यही कारणले ‘इथा’ मनोरञ्जनाका लागि पढिने आख्यानमा मात्र सीमित नरही इतिहास, सभ्यता र दर्शनको अभिव्यञ्जना बनेर नेपाली साहित्यमा आफ्नो विशिष्ट स्थान निर्माण गर्न सफल भएको छ ।

अस्तु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?