+
+
Shares

अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्रीको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ११:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको बाढीको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल एक्लै नरहेको बताए।
  • उनले अस्ट्रेलियाका ३६ नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टि गर्दै बेपत्ताको खोजी चमत्कारजस्तै बन्दै गएको भने।
  • अल्बानिजले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरी अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना प्रकट गरेको जानकारी दिए।

२२ भदौ, काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्।

अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्।

‘चमत्कारको आशमा छौँ’

गत अगस्ट २६ मा हिमपहिरो पछि आएको बाढीले सीमाको दुवैतर्फ ठूलो विनाश निम्त्याए पनि सबैभन्दा बढी मार नेपालले खेप्नुपरेको प्रधानमन्त्री अल्बानीजले बताए।

‘धेरैले आफ्ना प्रियजन, घर, सिङ्गो गाउँ र जीवनयापनका आधारहरू गुमाएका छन्। हरेक बित्दो दिनसँगै बेपत्ता भएकाहरू भेटिने आश चमत्कारजस्तै बन्दै गएको छ,’ अल्बानीजले संसद्‌मा भने, ‘हाम्रा ३६ जना अस्ट्रेलियाली नागरिक अझै बेपत्ता छन्। सम्पूर्ण अस्ट्रेलियाली जनताको ध्यान यतिबेला उनीहरूका परिवार र साथीभाइहरूप्रति केन्द्रित छ।’

नेपालले आज राष्ट्रिय शोक दिवस मनाइरहँदा प्रधानमन्त्री अल्बानीजले सामाजिक सञ्जालमार्फत पनि प्रभावितहरूप्रति सहानुभूति व्यक्त गरेका छन्।

संसद्‌को सम्बोधनमा उनले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरी अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना प्रकट गरेको जानकारी दिए।

‘आज नेपालले राष्ट्रिय शोक मनाइरहँदा म हाम्रा नेपाली साथीहरूलाई भन्न चाहन्छु- यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न,’ उनले भने।

समुदायसँग समन्वय र सहयोगको प्रशंसा

अस्ट्रेलिया सरकारले त्यहाँ रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग निरन्तर समन्वय गरिरहेको अल्बानीजले जानकारी दिएका छन्। उनले सम्पूर्ण अस्ट्रेलियालीहरूलाई आशा नहार्न र प्रार्थना गर्न आग्रहसमेत गरेका छन्।

विपद् राहतका लागि आपत्कालीन राहत अपिलमा अस्ट्रेलियाली जनताले देखाएको उदारता र सहयोगको प्रशंसा गर्दै उनले भने, ‘यसले हामी जस्तोसुकै ठूलो विपद्‌को पनि एकजुट भएर र साझा मानवीय भावनाका साथ सामना गर्न सक्छौँ भन्ने शक्तिशाली सन्देश दिएको छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?