News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्जिनियर्स एसोसिएसनले भदौ १० को भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा सोमबार साँझ दीप प्रज्वलन गर्ने भएको छ।
- एसोसिएसनले केन्द्रीय कार्यालयदेखि सातै प्रदेश र विभिन्न स्थानीय केन्द्रमा श्रद्धाञ्जली, घाइतेको स्वास्थ्यलाभ र उद्धारको कामना गर्दै कार्यक्रम आयोजना गर्नेछ।
- एसोसिएसनले इन्जिनियर र आर्किटेक्टलाई आफूलाई पायक पर्ने स्थानमा उपस्थित भई बाढीपीडितको उद्धार र राहतमा सहयोग गर्न आह्वान गरेको छ।
२२ भदौ, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ।
बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुरक्षित उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न एसोसिएसनको केन्द्रीय कार्यालय, सातै प्रदेश कार्यालय तथा विभिन्न स्थानीय केन्द्रमा सोमबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न लागिएको हो।
एसोसिएसनले सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्टलाई आफूलाई पायक पर्ने स्थानमा उपस्थित भई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
कार्यक्रमअन्तर्गत नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्रीय कार्यालयले काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गर्नेछ। त्यस्तै, कोशी प्रदेशले विराटनगरको सीडीओ कार्यालय चोक, मधेश प्रदेशले जनकपुरधामको रामानन्द चोक र बागमती प्रदेशले माइतीघर मण्डलामा कार्यक्रम आयोजना गर्नेछ।
गण्डकी प्रदेशले पोखरा–८ स्थित फेवासिटी मार्ग, लुम्बिनी प्रदेशले बुटवल–४, रुपन्देहीस्थित एनईए भवन, कर्णाली प्रदेशले वीरेन्द्रनगरको वीरेन्द्र चोक तथा सुदूरपश्चिम प्रदेशले धनगढीको जेन्जी मार्गमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने जनाएको छ।
त्यस्तै, वीरगन्ज केन्द्रले घण्टाघर, भरतपुर केन्द्रले चौबिसकोठी, नेपालगंज केन्द्रले बीपी चोक, दाङ केन्द्रले शहीद गेट, इटहरी केन्द्रले इटहरी तथा विर्तामोड केन्द्रले विर्तामोडमा कार्यक्रम आयोजना गर्नेछन्।
एसोसिएसनले बाढीबाट प्रभावित तथा पीडितप्रति ऐक्यबद्धता जनाउँदै उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्टलाई आह्वान गरेको छ।
प्रतिक्रिया 4