+
+
Shares

उद्धारपछि सामान्य देखिएका घाइतेलाई पनि किन अनिवार्य छ उपचार ?

लामो समयसम्म सुरुङ वा भग्नावशेषमा फसेका व्यक्तिहरू खाना र पानीविहीन अवस्थामा पनि जीवित भेटिनु चिकित्सकीय दृष्टिले असाधारण घटना भएको एमडीजीपी तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा. सरोजकुमार गोहीवार बताउँछन् ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ भदौ २५ गते ८:०८
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीपछि राष्ट्रिय ट्रमा सेन्टरमा पुगेका १० बिरामीमध्ये एक जनालाई वीर अस्पताल पठाइएको र एक जनाको आईसीयूमा मृत्यु भएको डा. सरोजकुमार गोहीवारले बताए।
  • बाढी प्रभावित लिङलिङमा स्वास्थ्य चौकीमा औषधि अभाव भेटिएपछि ४०–५० जनाको जाँच गरी सुगर, प्रेसर र दमका बिरामीलाई औषधि वितरण गरिएको थियो।
  • डा. गोहीवारका अनुसार बाढीपछि दूषित पानी, चिसो, हिलो, लेदो र औषधि अभावले झाडापखाला, संक्रमण, हाइपोथर्मिया, इलेक्ट्रोलाइट असन्तुलन र मानसिक समस्या देखिन सक्छन्।

२३ भदौ, काठमाडौं । रसुवा बाढीको दिन एमडीजीपी तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा. सरोजकुमार गोहीवार राष्ट्रिय ट्रमा सेन्टरमा ड्युटी गरिरहेका थिए । बाढी प्रभावित क्षेत्रबाट एकै रातमा १० जना बिरामी ट्रमा सेन्टरमा आए । ती मध्ये एक जनालाई थप उपचारका लागि वीर अस्पताल पठाइएको थियो भने बाँकीलाई उपचारपछि डिस्चार्ज गरियो ।

बाढी गएको भोलिपल्ट बिहान करिब ३–४ बजेतिर अस्पताल ल्याइएका एक बिरामीको मुटुको चाल निकै तीव्र थियो । परीक्षण गर्दा शरीरमा अक्सिजन र रक्तसञ्चार पर्याप्त नभएको संकेत देखिएको थियो ।

उनको आर्टेरियल ब्लड ग्यास परीक्षण गर्दा रगतको पिएच निकै कम अर्थात् शरीरमा अम्लीयपन बढेको देखिएको डा. गोहिवार बताउँछन् । यस्तो अवस्था शरीरका महत्वपूर्ण अंगमा पर्याप्त अक्सिजन र रक्तसञ्चार नपुगेको संकेत हुन सक्छ ।

अक्सिजनको कमी लामो समय रहेमा मस्तिष्क, मिर्गौला, मुटुजस्ता महत्त्वपूर्ण अंगमा क्षति पुग्न सक्छ ।

ती बिरामीको रगतमा संक्रमण वा गम्भीर शारीरिक प्रतिक्रियासँग सम्बन्धित संकेत समेत अत्यधिक बढेको थियो । रक्तचाप निकै कम भएपछि तत्काल उपचार गरिएको भए पनि पछि आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भयो ।

यसले बाहिरबाट हेर्दा सामान्यजस्तो देखिने बिरामीको शरीरभित्र गम्भीर समस्या विकास भइसकेको हुन सक्ने जोखिमलाई देखाउँछ ।

प्रभावित क्षेत्रमा तत्काल देखिने चोटपटकभन्दा लामो समयसम्म पानी, हिलो, लेदो र भग्नावशेषमा बस्दा उत्पन्न हुने स्वास्थ्य जोखिम अझ गम्भीर हुन सक्ने डा. गोहीवार बताउँछन् । उनी सहितको राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकको टोली रसुवाको धुन्चे, लिङलिङ र स्याफ्रुबेंसी पुगेका थिए ।

धुन्चे पुगेपछि तत्काल ठूलो संख्यामा बिरामी नभए पनि बाढी प्रभावित दुर्गम बस्तीमा स्वास्थ्य सेवा आवश्यक रहेको जानकारी टोलीले पायो । त्यसपछि उनीहरू लिङलिङ पुगे ।

लिङलिङमा पुग्दा बाढीले तीनवटा घर बगाएको र करिब आठ–दश जना स्थानीय बेपत्ता रहेको जानकारी टोलीले पाएको थियो । त्यहाँको स्वास्थ्य चौकीमा औषधिको अभाव थियो ।

टोलीले स्वास्थ्य चौकीमा स्थानीयलाई बोलाएर स्वास्थ्य परीक्षण गर्दा करिब ४०–५० जना मानिस स्वास्थ्य जाँचका लागि आएका थिए । उनीहरूमध्ये पुराना रोग भएका बिरामी पनि थिए ।

सुगर, प्रेसर र दमका बिरामीले नियमित खाने औषधिसमेत पर्याप्त नपाएको अवस्थामा टोलीले उपलब्ध औषधि वितरण गरेको थियो । आवश्यक अन्य औषधिको सूची बनाएर थप औषधि व्यवस्थापनका लागि समन्वय गरिएको डा. गोहीवार बताउँछन् ।

बाढीपछि स्थानीयहरू घरमा बस्न सक्ने अवस्था नभएपछि कतिपय गुम्बामा आश्रय लिएर बसेका थिए । एउटै स्थानमा धेरै मानिस कालो म्याट ओछ्याएर सुतिरहेका थिए । यस्तो अवस्थाले संक्रामक रोग फैलिने सम्भावना बढाउने उनको भनाइ छ ।

दूषित पानी र अस्वच्छ वातावरणका कारण झाडापखाला, छालासम्बन्धी संक्रमण तथा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन सक्ने जोखिम हुन्छ ।

तत्कालको चोटभन्दा चर्को जोखिम

लामो समयसम्म खाना र पानी नपाउनु, चिसोमा बस्नु, अक्सिजन तथा रक्तसञ्चारमा कमी हुनु र शरीरमा संक्रमण प्रवेश गर्नुले भित्री अंगमा समेत असर पार्न सक्छ । विपद् परेका विरामीका शरीरमा देखिने मात्र चोटपटक हुँदैन ।

चिकित्सिकहरूका अनुसार विशेषगरी लामो समयसम्म भग्नावशेष, हिलो वा लेदोमा फसेका व्यक्तिमा शरीरको तापक्रम घट्ने समस्या अर्थात् हाइपोथर्मिया हुन सक्छ । शरीरको तापक्रम अत्यधिक घट्दा रगत जमाउने प्रक्रियामा समेत असर पर्न सक्छ ।

यसका कारण घाइते व्यक्तिमा रक्तस्राव नियन्त्रण गर्न कठिन हुन सक्छ । त्यसबाहेक शरीरमा अक्सिजन र रक्तसञ्चार पर्याप्त नहुँदा अम्लीयपन बढ्ने, मिर्गौलामा असर पर्ने तथा मस्तिष्कलगायत महत्वपूर्ण अंगमा क्षति पुग्ने जोखिम हुन्छ ।

बोल्यो भन्दैमा बिरामीको स्वास्थ्यलाई सामान्य मानिँदैन

१० भदौको बाढीका बेला अपर त्रिशूली–३ ए परियोजनाको सुरुङभित्र थुनिएका सञ्जय साह र कविर महर्जनको १९ भदौमा उद्धार भयो ।

त्यसको भोलिपल्ट २० भदौमा सुरुङबाटै एक जना चिनियाँ नागरिकको उद्धार भयो । त्यही दिन बेत्रावतीस्थित एक घरबाट चन्दिका श्रेष्ठको उद्धार भयो ।

सुरुङ तथा भग्नावशेषमा फसेका व्यक्तिहरूलाई जीवितै उद्धार गरिएको घटनाले विपद्का बेला मानव शरीरले असाधारण अवस्था सहन सक्ने देखाए पनि चिकित्सकीय रूपमा उनीहरूलाई तत्काल सामान्य ठान्न नहुने डा. गोहीवार बताउँछन् । उनी भन्छन्, ‘उद्धारपछि बोलिरहेको वा होसमा रहेको भए पनि उपचारमा लगी हाल्नुपर्छ ।’

लामो समयसम्म खाना र पानी नपाउँदा शरीरमा सोडियमलगायत इलेक्ट्रोलाइटको मात्रा असन्तुलित हुनसक्ने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार शरीरको तापक्रम घट्न सक्ने, अक्सिजनको कमी हुने, हिलो र लेदोमा लामो समय रहँदा संक्रमणको जोखिम अत्यधिक हुन्छ ।

त्यसैले उद्धार गरिएका व्यक्तिको टाउकोदेखि खुट्टासम्मको विस्तृत परीक्षणसँगै शरीरभित्रका महत्त्वपूर्ण स्वास्थ्य सूचकको समेत जाँच आवश्यक हुन्छ ।

सात–दस दिनसम्म खाना नखाई कसरी बाँचे ?

लामो समयसम्म सुरुङ वा भग्नावशेषमा फसेका व्यक्तिहरू खाना र पानीविहीन अवस्थामा पनि जीवित भेटिनु चिकित्सकीय दृष्टिले असाधारण घटना भएको डा. गोहीवार बताउँछन् ।

तर यस्तो अवस्थामा सबै व्यक्तिको शरीरले एउटै प्रतिक्रिया दिँदैन । उमेर, पहिलेबाट रहेका रोग, नियमित खाने औषधि, शरीरको अवस्था, चोटपटक र त्यहाँको तापक्रमलगायत धेरै कुराले बाँच्ने सम्भावनालाई प्रभावित गर्छ ।

त्यसैले एक जना व्यक्ति जीवितै उद्धार भएको आधारमा त्यहाँ रहेका सबै व्यक्ति पनि त्यस्तै अवस्थामा बाँचिरहेका छन् भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रबाट आएका बिरामीमध्ये एक जनाको आँखामा प्रत्यक्ष चोट लागेको थियो । वस्तुले आँखामा चोट पुर्‍याएका कारण उनको दाहिने आँखाबाट हेर्न समस्या भइरहेको थियो ।

चोटले आँखाको मात्रै नभई आँखाबाट मस्तिष्कतर्फ जाने अप्टिक नर्भमा समेत असर गरेको हुन सक्ने आशंका गरिएको थियो । थप परीक्षण तथा उपचारका लागि उनलाई वीर अस्पताल पठाइएको डा. गोहिवारले बताए । यसले बाढी तथा भग्नावशेषमा चोट लाग्दा बाहिर देखिने घाउभन्दा भित्री चोट पनि गम्भीर हुन सक्ने देखाउँछ ।

बाढी प्रभावितमा कस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ?

डा गोहिवारका अनुसार बाढीपछि प्रभावित क्षेत्रमा मुख्यत: दूषित पानीका कारण झाडापखाला तथा अन्य संक्रमण, हिलो तथा लेदोका कारण छाला र घाउमा संक्रमण, लामो समय चिसोमा बस्दा शरीरको तापक्रम घट्ने समस्या

खाना र पानीको अभावले इलेक्ट्रोलाइट असन्तुलन जस्ता समस्या देखिन सक्छ ।

त्यस्तै डिहाइड्रेसन र रक्तचाप कम हुने समस्या, अक्सिजन तथा रक्तसञ्चारको कमी, मिर्गौलामा चोट वा एक्युट किड्नी इन्जुरीश्वासप्रश्वाससम्बन्धी समस्या, चोटपटकका कारण रक्तस्राव पुराना रोग भएका बिरामीमा औषधि अभावका कारण समस्या बढ्ने र डर, त्रास, आत्तिने तथा प्यानिक अट्याक हुने तर्फ सचेत हुनुपर्ने विज्ञहरू बताउँछन् ।

लामो समयपछि पोस्ट–ट्रामाटिक स्ट्रेस डिसअर्डर जस्ता मानसिक स्वास्थ्य समस्या र आफन्त गुमाउने परिवारमा मानसिक असर दीर्घकालीन हुन सक्छ भन्ने बुझेर उपचार गर्नुपर्नेमा विज्ञहरू जोड दिन्छन् ।

विपद्को असर घाइते तथा प्रत्यक्ष प्रभावित व्यक्तिमा मात्र सीमित हुँदैन । आफन्त गुमाएका, बेपत्ता भएका व्यक्तिका परिवारमा पनि गहिरो मानसिक असर पर्न सक्छ ।

डा. गोहिवारका अनुसार आफूले चिनेजानेका मानिससमेत बेपत्ता भएको अवस्थामा आफूलाई सुरक्षित छु कि छैन भन्ने डर, आफन्तको अवस्थाबारे निरन्तर चिन्ता र भविष्यप्रतिको अन्योलले मानसिक तनाव बढाउन सक्छ ।

लिङलिङमा स्वास्थ्य शिविर सञ्चालन गर्दा आफन्त वा गाउँका मानिस गुमाएका केही व्यक्तिमा डर र त्रास स्पष्ट देखिएको उनले बताए । ‘यो एउटा व्यक्तिको मात्रै ट्रमा होइन, परिवारदेखि समाज हुँदै देशकै लागि ठूलो बज्रपात हो,’ डा. गोहिवार भन्छन् ।

तत्कालको डर र आत्तिने अवस्था पछि कम हुन सक्छ । तर केही व्यक्तिमा घटना भएको केही समयपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या झन् स्पष्ट रूपमा देखिन सक्छ ।

विशेषगरी पोस्ट–ट्रामाटिक स्ट्रेस डिसअर्डरका लक्षणहरू केही समयपछि देखिन सक्छन् । बारम्बार घटना सम्झिरहने, डर लाग्ने, निद्रा बिग्रने, नराम्रो सपना आउने, घटनासँग सम्बन्धित कुराबाट टाढा भाग्न खोज्ने, अत्यधिक सतर्क रहने तथा सामान्य जीवनमा फर्किन कठिन हुनेजस्ता समस्या देखिन सक्छन् । त्यसअघि नै प्रभावित व्यक्तिको मानसिक अवस्थालाई पनि ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

रसुवामा स्वास्थ्य टोलीको अनुभवले विपद्पछि उद्धारलाई केवल मानिसलाई सुरक्षित स्थानमा ल्याउने कामका रूपमा मात्र हेर्न नहुने देखाएको छ ।

उद्धारपछि व्यक्तिको शारीरिक अवस्था, पुराना रोग, औषधिको आवश्यकता, संक्रमणको जोखिम, पोषण, सुरक्षित खानेपानी, स्वच्छता र मानसिक स्वास्थ्यलाई पनि समान प्राथमिकता दिनुपर्छ ।

विशेषगरी लामो समय भग्नावशेष वा सुरुङमा फसेका व्यक्तिलाई अस्पताल ल्याएपछि बाहिरी चोट मात्रै हेरेर पुग्दैन । शरीरको तापक्रम, रक्तचाप, अक्सिजनको अवस्था, इलेक्ट्रोलाइट, मिर्गौला तथा अन्य महत्वपूर्ण अंगको अवस्था परीक्षण गर्नुपर्ने हुन्छ । त्यसैगरी आफन्त गुमाएका तथा बेपत्ता भएका परिवारलाई पनि स्वास्थ्य सेवाको दायरामा ल्याउनुपर्ने डा.गोहिवार सुझाउँछन् ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?