+
+
Shares

जेनजी आन्दोलनमा खरानीबाट उठेको अटो बजारलाई बाढीको धक्का

एक वर्षअघि थापाथली क्षेत्रमा रहेका गाडीका शोरुममा कतै सिसा फुटेका थिए, कतै गाडी जलेर खरानी भएका थिए । कतै शोरुमको संरचना नै बाँकी थिएन ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ भदौ २४ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनपछि थापाथलीका टाटा, सीजी, महिन्द्रा, सुजुकी र हुन्डाईसहित आधा दर्जनभन्दा बढी शोरुममा आगजनी र तोडफोड हुँदा करिब एक अर्ब रुपैयाँको क्षति भएको थियो।
  • सिप्रदी ट्रेडिङले ८० प्रतिशत संरचनात्मक क्षति र आठ गाडी नष्ट भए पनि ७० दिनमै थापाथलीको टाटा शोरुम पुनर्निर्माण गरेर २०८२ मंसिर १ गतेदेखि सञ्चालनमा ल्याएको थियो।
  • २०८३ भदौ १० गते रसुवाको भोटेकोशी बाढीले रसुवागढी भन्सार यार्डबाट ५०० भन्दा बढी सवारीसाधन र २०० भन्दा बढी मालबाहक ट्रक बगाउँदा अटो आपूर्ति शृंखला फेरि प्रभावित भएको छ।

२३ भदौ, काठमाडौं । एक वर्षअघि थापाथली क्षेत्रमा रहेका गाडीका शोरुममा कतै सिसा फुटेका थिए, कतै गाडी जलेर खरानी भएका थिए । कतै शोरुमको संरचना नै बाँकी थिएन ।

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दोस्रो दिन काठमाडौंको प्रमुख अटो हब मानिने थापाथलीका आधा दर्जनभन्दा बढी गाडी शोरुममा आगजनी र तोडफोड भयो । टाटा मोटर्स, सीजी मोटर्स, महिन्द्रा, सुजुकी, हुन्डाईलगायतका शोरुम त्यसको प्रत्यक्ष मारमा परे ।

आन्दोलनपछि सार्वजनिक भएको विवरणअनुसार अटो व्यवसायमा मात्रै करिब एक अर्ब रुपैयाँको क्षति भएको थियो । सीजी मोटर्सका तीन शोरुम पूर्णरूपमा ध्वस्त हुँदा करिब ४० करोड रुपैयाँको क्षति भएको कम्पनीले जनाएको थियो । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङलाई मात्रै करिब २० करोड रुपैयाँको क्षति पुगेको थियो । सुजुकी, हुन्डाई र महिन्द्राका शोरुममा पनि करोडौंको क्षति भयो ।

थापाथलीमा रहेका विभिन्न शोरूम तथा त्यसमा राखिएका नयाँ गाडी जलेका थिए । त्यो बेलाको क्षति गाडी र भवनमा मात्रै सीमित थिएन । अटो व्यवसायीका लागि सबैभन्दा ठूलो समस्या थियो– ग्राहकको मनोविज्ञान । देशको राजनीतिक र सामाजिक वातावरणले बजारमा अनिश्चितता थपेको थियो ।

खरानीबाट उठ्दै थियो बजार

समय सधैं एउटै अवस्थामा रहँदैन । आन्दोलनपछि क्षतिग्रस्त शोरुमहरू विस्तारै पुनर्निर्माण हुन थाले । व्यवसायीहरूले अस्थायी संरचनाबाट कारोबार सञ्चालन गरे । कतिपयले सेवा केन्द्र र वैकल्पिक बिक्री केन्द्रबाट ग्राहकलाई सेवा दिइरहे ।

सिप्रदीले थापाथलीको टाटा शोरुममा ८० प्रतिशत संरचनात्मक क्षति र आठवटा गाडी पूर्णरूपमा नष्ट भएको अवस्थामा समेत करिब ७० दिनमै नयाँ स्वरूपमा शोरुम सञ्चालनमा ल्यायो । मुख्य शोरुम बन्द हुँदा कम्पनीले अस्थायी बिक्री केन्द्रमार्फत कारोबारलाई निरन्तरता दिएको थियो ।

आगजनी तथा तोडफोडका कारण क्षति पुगेको उक्त शोरुम ७० दिनमै निर्माण गरेर २०८२ को मंसिर १ गतेदेखि पुनः सञ्चालनमा आएको थियो ।

सिप्रदी ट्रेडिङ प्रालिको प्यासेन्जर भेहिकल डिभिजनका महाप्रबन्धक सावन्तजंग सिजापतिले जेनजी आन्दोलनका कारण क्षति पुगेको शोरुम ७० दिनमै पुनर्निर्माण गरेर पूर्ण सञ्चालनमा ल्याइएको बताए।

आगजनी तथा तोडफोडका कारण ८ गाडीमा पूर्णरूपमा क्षति पुगेको थियो भने शोरुमको ८० प्रतिशत संरचना नोक्सान भएको थियो ।

यसले अटो बजार कुनै समय ध्वस्त भए पनि सधैका लागि मर्दैन भन्ने सन्देश दिएको थियो । ग्राहक विस्तारै फर्किए । कम्पनीहरूले नयाँ मोडल ल्याउन थाले । प्रतिस्पर्धा बढ्यो । विशेषगरी विद्युतीय सवारीतर्फ नेपाली बजारमा नयाँ ब्रान्ड र नयाँ मोडल थपिँदै गए ।

एक वर्षभित्रै नाइमा मोबिलिटी एक्स्पोदेखि नाडा अटो शोसम्म आइपुग्दा अटो बजारको दृश्य फेरियो । नाइमा एक्स्पोमा ५३ ब्रान्ड र ४० नयाँ मोडल प्रदर्शन भए । नाडा अटो शोमा पनि ५३ सवारी ब्रान्डसहित २०० भन्दा बढी स्टल राखिए ।

नयाँ गाडी हेर्न र किन्न ग्राहकको चासो बढ्दै गएको व्यवसायीहरूले बताउन थाले । भृकुटीमण्डपमा आयोजित शोमा दर्जनौं ब्रान्डले नयाँ मोडल, छुट तथा वित्तीय योजना सार्वजनिक गरे ।

अटो बजार विस्तारै ‘आन्दोलनपछिको रिकभरी’ बाट ‘नयाँ प्रतिस्पर्धा’ को चरणमा प्रवेश गर्दै थियो । तर, एक वर्षपछि अर्को विपत्ति आयो ।

एक वर्षपछि बाढीको असर 

जेनजी आन्दोलन भएको दिनभन्दा करिब एक वर्षपछि, २०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले अटो क्षेत्रलाई फेरि अर्को ठूलो धक्का दियो ।

यसपटक आगोले होइन, पानीले गाडी बगायो । रसुवागढी भन्सारको यार्डमा रहेका सबै सवारीसाधन बाढीले बगाएको प्रारम्भिक विवरण आयो । भन्सार क्षेत्रबाट मात्रै ५०० भन्दा बढी सवारीसाधन बगे, नष्ट भए ।

भन्सार यार्डमा रहेका गाडी मात्रै होइन, चीनबाट नेपालतर्फ सामान लिन पुगेका ठूलो संख्याका कन्टेनर तथा ट्रक पनि बाढीमा परे । दुई सयभन्दा बढी मालबाहक ट्रक बाढीले बगाएको अनुमान गरिएको थियो ।

अर्थात्, एक वर्षअघि काठमाडौंको बिक्री केन्द्रमा गाडी जलेको अटो क्षेत्रले एक वर्षपछि आफ्नो आपूर्ति शृंखलाकै महत्त्वपूर्ण विन्दुमा अर्को ठूलो क्षति बेहोर्नुपर्‍यो ।

यो क्षति तत्काल देखिने गाडीको मूल्यमा मात्रै सीमित छैन । रसुवागढी नाका नेपालका लागि चीनबाट सवारीसाधन तथा अटो पार्ट्ससहित विभिन्न वस्तु आयात हुने महत्वपूर्ण नाका हो । बाढीले भन्सार, सडक, पुल र नाकाको पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि यसको असर अटोमोबाइलको आपूर्ति शृंखलामा समेत पर्न सक्छ ।

गाडी बिक्री गर्ने शोरुम उठ्यो, तर गाडी आउने बाटोमै संकट

अटो व्यवसायको विडम्बना- एक वर्षअघि ग्राहक पुग्ने शोरुम जले । एक वर्षको अन्तरालमै व्यवसायीले शोरुम बनाए, गाडी ल्याए, बजारमा अफर दिए र ग्राहक फर्किए ।

तर अहिले गाडी आउने बाटोमै समस्या सिर्जना भएको छ । रसुवागढी बाढीले भन्सार संरचना पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ । रसुवागढीदेखि गल्छीसम्मका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ । सरकारले प्रारम्भिक रूपमा बाढीबाट सडक, जलविद्युत्, पर्यटन र भन्सारलगायत क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ ।

यसको प्रत्यक्ष प्रभाव चीनबाट आयात हुने गाडी, अटो पार्ट्स, टायर, ब्याट्री तथा अन्य सामग्रीको आपूर्ति व्यवस्थामा पर्न सक्ने देखिन्छ । विशेषगरी चीनबाट ठूलो संख्यामा विद्युतीय गाडी र त्यसका पार्ट्स नेपाल भित्रिने पछिल्लो अवस्थालाई हेर्दा रसुवागढीको अवरोध केवल भन्सारको समस्या होइन, अटोमोबाइल आपूर्ति शृंखलाको समस्या पनि हो ।

बजार फेरिँदै थियो, विपत्ति थपिँदै गयो

यो एक वर्षमा नेपाली अटो बजारले राजनीतिक आन्दोलनबाट सिर्जित विध्वंस र प्राकृतिक विपत्तिबाट सिर्जित विनाश भोग्यो ।  शोरुम पुनर्निर्माण गर्न सकिन्छ । जलेका गाडीको ठाउँमा नयाँ गाडी ल्याउन सकिन्छ । तर, सडक, पुल र भन्सार पुनर्निर्माण गर्न समय लाग्छ ।

अझ महत्वपूर्ण कुरा, एउटा संकट सकिएपछि अर्को संकट आउँदा व्यवसायीले केवल क्षतिको हिसाब राखेर पुग्दैन । अब जोखिम व्यवस्थापन, बीमा, वैकल्पिक आयात नाका, सुरक्षित पार्किङ यार्ड, आपूर्ति शृंखलाको विविधीकरण र विपद् तयारी पनि अटो व्यवसायको रणनीतिक विषय बन्नुपर्ने देखिन्छ ।

एक वर्षअघि थापाथलीमा जलेका शोरुमहरूले अटो क्षेत्रको पुनरुत्थानको सुरुवात गरेको थियो । तर, अहिले रसुवागढीमा बगेका सयौं गाडीले त्यही क्षेत्रलाई अर्को प्रश्न सोधिरहेका छन्,– खरानीबाट उठ्न थालेको नेपाली अटो बजार अब बाढीले भत्काएको आपूर्ति शृंखलाबाट कसरी उठ्छ ?

यसको उत्तर केवल अटो व्यवसायीको हातमा छैन । सरकार, भन्सार, सडक पूर्वाधार, बैंक तथा बीमा क्षेत्र र अटो व्यवसायी सबै मिलेर खोज्नुपर्नेछ ।

उत्सवको सिजनमा व्यवसाय र मनोबल दुवै खस्कियो

नेपालको अटोमोबाइल क्षेत्रले पछिल्लो समय प्राकृतिक विपत्ति र सामाजिक आन्दोलनका कारण ठूलो सास्ती खेप्नुपरेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्टरर्स एसोसिएसन (नाइमा) अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार गत वर्षको ‘जेनजी’ आन्दोलन र हालैको विनाशकारी बाढीले अटो क्षेत्रको भौतिक संरचना, आयात र व्यवसायीहरूको मनोबलमा गम्भीर असर पारेको छ ।

अधिकांश अटोमोबाइल उत्पादनहरू बीमा गरिएको हुने भएकाले केही राहत मिल्ने उनले आशा व्यक्त गरिन् । केही गाडीहरू बीमा नभएका पनि परेका छन्, तर धेरैजसो सुरक्षित रहेको उनको भनाइ छ ।

‘हाम्रै स्पेयर पार्ट्सको एउटा पूरा कन्टेनर बाढीले बगाएको छ, जुन बीमा गरिएको थियो । अहिले बीमाका लागि अध्ययनकै क्रममा छौं,’ उनले भनिन् । यसअघि थापाथली क्षेत्रका शोरुमहरूमा बीमाकै कारण क्षति व्यवस्थापन सहज भएको उनको भनाइ छ ।

अटो व्यवसायीका लागि दशैं, तिहार र छठ जस्ता चाडपर्वहरू व्यापारको मुख्य समय हो । तर, यसै बेला आएको बाढीले व्यापारिक कारोबारमा मात्र नभई मानवीय संवेदना र मनोबलमा पनि गहिरो चोट पुर्याएको छ ।

‘हाम्रो अफिसमा हुने तीजका पार्टीहरू र अन्य उत्सवहरू अहिले स्थगित गरिएको छ । मान्छेको ज्यान गइरहेको र धेरै बेपत्ता भएको अवस्थामा चाडपर्व मनाउने मन कसैको छैन,’ अध्यक्ष वैद्यले भनिन् ।

गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा अटो क्षेत्रमा मानवीय क्षति पुगेको थिएन । तर, अहिले रसुवागढीको बाढीले कतिपय सम्पर्कविहीन छन् ।

त्यस्तै बाढीका कारण गाडीहरू आयात हुन मुख्य नाकाहरू रसुवा, तातोपानी र कोरोला जस्ता मुख्य व्यापारिक मार्गहरूमा ठूलो क्षति पुर्‍याएको छ । ‘हाम्रा ट्रेड रुटहरू पहिले नै कमजोर थिए, अहिले झन् ध्वस्त भएका छन् । सामान कहाँबाट ल्याउने भन्ने चिन्ता छ,’ वैद्यले भनिन् ।

विगतका गल्तीहरूबाट सिक्दै अबको सहरी विकास र व्यापारिक बस्ती निर्माणमा जलवायु जोखिमलाई ध्यान दिनुपर्नेमा उनको जोड छ । खोला किनारका बस्ती र पूर्वाधार निर्माणमा उचित योजना नहुँदा बारम्बार यस्ता क्षति भोग्नुपरेको उनको ठम्याइ छ ।

‘व्यवसायी पनि पीडित हुन् भन्ने बुझाइ नै भएन’

लक्ष्मी इन्टरकन्टिनेन्टलका जेनेरल म्यानेजर दिपक थपलियाले जेनजी आन्दोलन र रसुवा बाढीका कारण अटोमोबाइल क्षेत्रमा परेको क्षतिलाई समाजले संवेदनशील रुपमा नहेरेको बताएका छन् ।

उनका अनुसार जेनजी आन्दोलनका क्रममा हुण्डाईका केही गाडी र शोरुममा क्षति पुगेको थियो । अन्य ब्रान्डको तुलनामा क्षति कम भए पनि बीमामार्फत भौतिक क्षति रिकभर गर्न ६–७ महिना लागेको उनले बताए ।

तर, भौतिक क्षतिभन्दा पनि व्यवसायीलाई हेर्ने सामाजिक दृष्टिकोण चिन्ताजनक रहेको थपलियाको भनाइ छ ।

‘व्यापारी भन्नेबित्तिकै नाफा खोज्ने र नाफा भनेको गलत हो भन्ने किसिमको धारणा निकै चल्यो,’ उनले भने, ‘त्यसको मानसिक क्षति रिकभर हुन नपाउँदै अहिले फेरि बाढीले असर गरेको छ ।’

व्यवसायीको क्षतिलाई ‘बीमाबाट आइहाल्छ’ भनेर सामान्य रूपमा लिने प्रवृत्ति गलत भएको उनले बताए । ‘इन्स्योरेन्सबाट १०० प्रतिशत पैसा आउँदैन । केही न केही त नोक्सानी हुन्छ,’ उनले भने, ‘व्यापारिक नोक्सानी भनेको देशकै नोक्सानी पनि हो ।’

हरेक वर्ष कुनै न कुनै विपत्तिले व्यवसायमा क्षति पुर्‍याइरहेको अवस्थामा व्यवसायीलाई पनि पीडितका रूपमा हेर्नुपर्ने उनको भनाइ छ ।

‘व्यवसायी आफैं पीडित छ भन्ने कुराको लेखाजोखा हुँदैन, तर राहत पनि उसैबाट दिनुपरेको छ,’ उनले भने, ‘व्यवसायीले व्यहोरेको क्षतिको संवेदनशीलता र त्यसको पुनर्स्थापनाबारे पनि सोच्न आवश्यक छ ।’

थपलियाले क्षति भएको रकम कुनै न कुनै माध्यमबाट पूर्ति गर्नुपर्ने भए पनि त्यसको भार बजारमा पर्दा व्यवसायीलाई नै दोषी देखाउने प्रवृत्ति रहेको बताए । ‘लसुनको मूल्य २०–५० रुपैयाँ बढ्यो भने व्यापारी चोर भयो भनिन्छ । तर भएको नोक्सानी कतैबाट ल्याएर क्षतिपूर्ति त गर्नुपर्‍यो नि,’ उनले भने ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?