+
+
Shares

अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवान सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुगिन् । पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन । त्यसपछि बबिताले फुटपाथमै बच्चालाई जन्म दिइन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ भदौ २५ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि बबिता पासवानले फुटपाथमै छोरा जन्माएको घटना सार्वजनिक भएको छ ।
  • पैसा नभएको भन्दै अस्पतालले २ हजार ५०० रुपैयाँको जाँच गराउन भनेपछि भर्ना नदिएको र हप्काएर निकालिएको बबिताको दाबी छ ।
  • अस्पतालले भने महिला राति २ बजे भर्ना भएको र ल्याबमा गएर बाहिरिएको दाबी गर्दै छानबिन समिति गठन गर्ने जनाएको छ ।

२५ भदौ, जनकपुरधाम । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ ।

सुत्केरी व्यथा लागेपछि ती महिला अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेको र बाध्य भएर सडक पेटीमै बच्चा जन्माएको पीडित पक्षको दाबी छ ।

घटना बुधबार बिहान करिब साढे २ बजेको हो । पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश महिला राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवान हुन् ।

सरकारी अस्पताल अगाडि फुटपाथमा विपन्न महिला प्रसूति भएको भिडियो सार्वजनिक भएपछि सरकार र अस्पतालको चर्को आलोचना भइरहेको छ । दोषीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ ।

मंगलबार राति डेढ बजे व्यथा लागेपछि बबिता श्रीमान् हरेराम र दुई जना सासु नाता पर्ने महिलालाई लिएर सिटी रिक्सामा अस्पताल पुगेकी थिइन् । त्यहाँ पुगेपछि अस्पतालको प्रसूति विभागमा खटिएकी स्टाफ नर्सले पहिले अल्ट्रासाउन्ड, प्रयोगशालाबाट रगत र पिसाब परीक्षण गर्न भनिन् । त्यसका लागि २ हजार ५००रुपैयाँ लाग्ने अस्पतालले बताएको थियो ।

तर, आफू विपन्न रहेको र पैसा नभएको बबिताले सुनाइन् । उनले यसअघि आफ्ना तीन सन्तान सामान्य रूपमा जन्मिएको र कुनै चेकजाँच नगराएको बताइन् । तर नर्सले जाँच नभई यहाँ प्रसूति गराउन नमिल्ने भन्दै बाहिर निस्किन हप्काएको उनको दाबी छ ।

‘मैले भनें– दिदी, यसअघि मेरा तीन बच्चा हुँदा कुनै जाँच गराएको थिइनँ । तर उहाँले रगत र अल्ट्रासाउन्डको २५ सय रुपैयाँ लाग्ने बताउनुभयो । मसँग पैसा थिएन । मैले बिहान भएपछि अल्ट्रासाउन्ड गराउँछु, जाँच गराउँछु, भर्ना गरिदिनुस् भनेर आग्रह गरेँ,’ बबिताले अनलाइनखबरसँग भनिन्, ‘तर जाँचविना कुनै हालतमा भर्ना नलिने भन्दै हप्काएर ती दिदीले निकालिदिनुभयो ।’

पैसा नभएका कारण जाँच गराउन नसकिने र अस्पतालले भर्ना नलिने भएपछि बाध्य भएर बबिता परिवारसहित अस्पताल बाहिर आइन् । उनी एक औषधि पसल अगाडि पुगिन् । त्यहाँ उनले औषधि पसलेलाई डाक्टरसँग चेक गराइदिन आग्रह गरिन् ।

औषधि पसलेले अहिले यहीँ बस्न भन्दै बिहान चिकित्सक आएपछि जाँच गराइदिने आश्वासन दिएको बबिताले सुनाइन् । केहीबेरपछि बबितालाई प्रसव पीडाले च्याप्यो । उनी त्यहीँ छट्पटाउन थालिन् । सँगै पुगेका महिलाले उनको देखभाल गरे । श्रीमान् तनावमा परे । तर उनीहरूसँग अर्को उपाय थिएन । एकछिनपछि बबिताले छोरा जन्माइन् ।

छोरा जन्माएपछि परिवारले सालनालसहितको शिशु बोकेर अस्पतालमा पुगे । तर पनि ती स्वास्थ्यकर्मीले भर्ना नलिएको बबिताको दाबी छ । बबिता छट्पटाइरहिन् ।

‘मसँगै जानुभएकी सासु पर्ने महिलाले यो खाली बेडमा सुत, जे हुन्छ हुन्छ भन्नुभयो । म सुत्न खोजेँ । तर पनि ती स्वास्थ्यकर्मी दिदीले यहाँबाट भाग, नभए धक्का दिएर निकालिदिन्छु भनेर धम्क्याउनुभयो । अनि हामी बाध्य भएर घर फर्कियौँ,’ बबिताले सुनाइन् ।

सार्वजनिक भएको भिडियोमा महिला फुटपाथमा प्रसव पीडाले छट्पटाइरहेको देखिन्छ । उनका आफन्त एक महिला र पुरुष पनि देखिन्छन् । उनीहरूले महिलाको स्याहारसुसार गरिरहेका छन् । केहीबेरपछि त्यहीँ उनले बच्चा जन्माएको भिडियोमा देखिन्छ ।

फ्रि हेल्थ सर्भिसको फोकल पर्सन मनोज देवले महिला राति २ बजे आएपछि अस्पतालको २४ नम्बर बेडमा भर्ना भएको दाबी गरे । ‘उहाँ राति २ बजे राति आएपछि पीपी चेक गर्ने काम भयो । त्यसपछि गर्भवती अवस्थामा उहाँले गराउनु पर्ने कुनै चेकजाँच नगराएको पाइयो । आवश्यक स्वास्थ्य परीक्षणको लागि चिकित्सक र स्वास्थ्यकर्मीले ल्याबमा पठायो,’ उनको दाबी छ, ‘उहाँहरु ल्याबमा गएर त्यतैबाट निस्किनुभयो । बिहान ५ बजे शिशु जन्मेपछि अस्पतालमा मात्र आउनुभयो । यहीं सालनाल काटेर पठाउने काम भयो ।’

यता, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले आफूले पनि भिडियो हेरेपछि घटनाबारे थाहा पाएको बताएका छन् । महिला बच्चा जन्माइसकेपछि बिहान ४ बजे मात्र अस्पतालमा पुगेको आफूलाई जानकारी भएको मेसु झाको भनाइ छ ।

उनका अनुसार भिडियो सार्वजनिक गर्ने व्यक्तिले सुरुमा महिला अस्पतालमा सुत्केरी गराउन गएको तर त्यहाँ चिकित्सकले पाँच हजार रुपैयाँ जतिको प्रयोगशाला जाँच गराउनुपर्ने भनेपछि उनी बाहिर आएर सुत्केरी भएको दाबी गरेका छन् ।

आफू काठमाडौंमा रहेको र यस घटनाबारे छानबिन गर्न एउटा छानबिन समिति गठन गर्न लागेको उनले बताए ।

सरकारी र निजी अस्पतालमा १० प्रतिशत विपन्न गरिबको लागि बेड छुट्याउने कानुनी व्यवस्था छ । तर संघीय सरकार अन्तर्गतको अस्पतालबाट नै प्रसव पीडाले छट्पटाइरहेकी महिलालाई लखेटिएको र फुटपाथमा शिशु जन्माउनु परेको यो घटनाले नेपालको स्वास्थ्य उपचार सेवाको प्रणालीलाई गिज्याइरहेको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?