News Summary
Generated by OK AI. Editorially reviewed.- बाढी र पहिरोपछि मानिसले घर, प्रियजन र जीवनको अध्याय गुमाउँदा शोक, डर र मौनता भोगिरहेको यो लेखले जनाएको छ।
- लेखले राहतपछि पनि पीडितको घर, कागजपत्र, बालबालिका, रोजगारी र मानसिक सुरक्षाको पुनर्निर्माण आवश्यक रहेको बताएको छ।
- लेखले शोकमा परेकालाई आफूलाई दोष नदिन, सहयोग माग्न र एकअर्कालाई नछोडी बिस्तारै नयाँ जीवनतर्फ अघि बढ्न आग्रह गरेको छ।
प्रिय तिमी,
मलाई थाहा छैन अहिले तिमी कहाँ बसेर यो पढ्दैछौ,
कुनै अस्थायी टहरामुनि, कुनै आफन्तको घरमा, कुनै राहत शिविरमा, अस्पतालमा वा आफ्नै भत्किएको घरको भग्नावशेषनजिक। तर जहाँ भए पनि, आज म तिम्रो छेउमा चुपचाप बसेर तिम्रो काँपिरहेको हात समात्न आएको हुँ।
आज म तिमीलाई के भनूँ ?
‘नआत्तिनू’ ?
‘सबै ठीक हुन्छ’ ?
‘समयले सबै घाउ निको पार्छ’ ?
सायद यीमध्ये कुनै पनि वाक्य दुःखको गहिराइसम्म पुग्न सक्दैनन् । किनकि केही दुःख यस्ता हुन्छन्, जसको अगाडि शब्दहरू आफैँ साना र लाचार भएर उभिन्छन्।
तिमीले घर गुमाएका छौ । कसैले आमा गुमाएको छ, कसैले बाबु, कसैले जीवनसाथी, कसैले सन्तान; कसैले भाइ, बहिनी, साथी, छिमेकी र आफ्नो जन्मथलो नै गुमाएको छ । कतिपयले त एउटै विपत्तिमा आफ्नो हिजो, आज र भोलि—तीनै गुमाएका छन्।
तिमीलाई अहिले ‘नरोऊ’ भन्नु अन्याय हो, ‘बिर्सिदेऊ’ भन्नु असम्भव कुरा हो, र मुभ अन भन्नु तिम्रो घाउ नबुझ्नु हो । तिमीले गुमाएको मान्छे तिम्रो जीवनको एउटा अध्याय मात्र थिएन, ऊ तिम्रो जीवनको एउटा हिस्सा थियो । त्यसैले रोऊ, सम्झ, थाक, अनि फेरि उठ—बिस्तारै । तिमीलाई अहिले दौडिनु पर्दैन, केवल बाँचिरहनु मात्र पनि पर्याप्त छ।
कहिलेकाहीँ बादल गर्जिँदा, पानीको आवाज आउँदा, माटोको गन्ध फैलिँदा वा रातको अँध्यारो बढ्दा मानिसभित्र पुरानो विपत्ति फेरि जाग्न सक्छ । विपत्ति सकिन्छ, तर विपत्तिको स्मृति सकिँदैन । त्यसैले आज म तिमीलाई ‘बलियो बन’ भन्न चाहन्नँ । म पहिले तिमीलाई रुन दिन चाहन्छु । चिच्याउन मन छ भने चिच्याऊ । मौन बस्न मन छ भने मौन बस । कसैसँग बोल्न मन छैन भने केही समय नबोल । रोएको मानिस कमजोर हुँदैन । कहिलेकाहीँ आँसु आत्माले बोकेको असह्य भारलाई बाहिर निकाल्ने सबैभन्दा पुरानो र पवित्र भाषा हो ।
तिमीले गुमाएको कुरा म फर्काउन सक्दिनँ । तिम्रो आँसु रोक्न पनि सक्दिनँ । तर तिम्रो दुःखलाई सानो नबनाई केहीबेर तिमीसँगै बस्न सक्छु । सायद कहिलेकाहीं प्रेम भनेको यही हो, दुःख हटाउन नसके पनि, दुःखमा कसैलाई एक्लै नछोड्नु ।
यो एउटा विपत्ति होइन, कसैको सिङ्गो संसार र जीवन-अध्याय हो
बाहिरबाट हेर्नेहरूका लागि यो एउटा विपत्ति हो । समाचारका लागि एउटा घटना । सरकारी प्रतिवेदनका लागि क्षतिको विवरण । तथ्याङ्कमा एउटा अङ्क थपिन्छ, तर घरमा एउटा कुर्सी सधैँका लागि खाली हुन्छ ।
क्यामेराले भत्किएको घर देखाउँछ, तर भित्तामा टाँसिएको बाल्यकाल देखाउँदैन । लेदोले बगाएको ओछ्यान देखिन्छ, तर त्यही ओछ्यानमा बितेका सयौँ रात र जोडिएका सपना देखिँदैनन् ।
एउटा घरभित्र बुबाको पसिना हुन्छ, आमाको हातको खाना हुन्छ, बच्चाको पहिलो पाइला हुन्छ, छोरीको विवाहको सम्झना हुन्छ, पुराना फोटोहरू, हजुरआमाको कथा, कुनामा राखिएको पुरानो रेडियो र पहिलो कमाइले किनेको कुर्सी हुन्छ।
जब बाढीले घर बगाउँछ, सिमेन्ट र पाँगो माटो मात्र बग्दैन, मानिसको एउटा सिङ्गो जीवन-अध्याय बग्छ। बाढीले बगाएको सिमेन्ट त फेरि ढलान होला, तर ओछ्यानसँगै बगेका सपनाहरू कसरी फर्काउनु ?
एउटा मानिस हराउनु भनेको एउटा सङ्ख्या घट्नु होइन, कसैको सिङ्गो संसार हराउनु हो । त्यसैले तिमीले गुमाएको कुरा अरूले नदेखे पनि, त्यो तिम्रा लागि सानो थिएन । कहिल्यै थिएन।
अहिले ठीक हुनैपर्छ भन्ने छैन
कृपया आफ्नो मनलाई ‘अब त ठीक हुनुपर्छ’ भनेर दबाब नदेऊ । शोकको कुनै निश्चित घडी हुँदैन । कसैको आँसु तीन दिनमा रोकिन्छ, कसैको तीन महिनामा, त कसैको वर्षौंसम्म आँखाबाट होइन, जीवनको मौनताबाट बगिरहन्छ । र त्यो पनि ठीक हो ।
ठूलो आघातपछि मस्तिष्क र शरीर केही समयसम्म असुरक्षाको अवस्थामा बस्न सक्छन् । त्यसैले सुरक्षित ठाउँमा हुँदा पनि सानो आवाजले तर्सिनु, पानी पर्दा मुटु छटपटाउनु, रातमा निद्रा नलाग्नु, एक्लै बस्न डर लाग्नु, यी सबै असाधारण घटनापछि मन र शरीरले दिने स्वाभाविक प्रतिक्रियाहरू हुन् ।
शरीरमा घाउ नदेखिनु भनेको मनमा घाउ छैन भन्ने होइन । कहिलेकाहीँ घाउभन्दा गहिरो त घाउको मौनता हुन्छ ।’
बाहिरबाट तिमी सामान्य देखिन सक्छौ, तर भित्र तिम्रो मन अझै त्यही अँध्यारो रातमा अड्किएको हुन सक्छ । त्यसैले आफूलाई दोष नदेऊ । तिमी कमजोर भएका होइनौ, तिमीले असाधारण कुरा भोगेका छौ ।
शोक भनेको प्रेमको अर्को रूप पनि हो
मान्छेले प्रियजन गुमाएपछि उनीहरूलाई बिर्सेर अगाडि बढ्दैन, उनीहरूलाई हृदयमा राखेर अगाडि बढ्न सिक्छ । कहिलेकाहीं उनीहरूको आवाज, कपडा, खाली ओछ्यान, पुरानो फोटो वा परिचित गीतले अचानक मन भत्काउन सक्छ।
रोऊ । त्यस क्षणलाई रोकिन नदेऊ । किनकि शोक धेरैपटक ‘प्रेमले शरीर खोजिरहेको अवस्था’ हो । शरीर छैन, तर प्रेम अझै छ, त्यसैले पीडा छ।
मानिसहरू शरीरबाट जान्छन्, तर उनीहरूले हामीभित्र बनाएको संसारबाट सधैँका लागि जाँदैनन् । उनीहरूको बोली तिम्रो बोलीमा आउन सक्छ, उनीहरूको संस्कार तिम्रो व्यवहारमा, उनीहरूको सपना तिम्रो कर्ममा, र उनीहरूको प्रेम तिम्रो हृदयमा । प्रिय मान्छेलाई सम्झिरहनु अगाडि बढ्न नसक्नु होइन; कहिलेकाहीं सम्झना नै अगाडि बढ्ने एउटा सुन्दर र आत्मिक तरिका हो।
बाँचेकाहरूको पनि एउटा अदृश्य घाउ हुन्छ
विपत्तिपछि हामी प्रायः मृतकको, घाइतेको र भत्किएका घरको कुरा गर्छौं । तर बाँचेर फर्किएका मानिसहरूको मौनता कति गहिरो छ, त्यो कमै देखिन्छ । कसैले सोध्न सक्छ— ‘तिमी त बाँचेका छौ नि ?’
तर बाँच्नु र ठीक हुनु एउटै कुरा होइन । कसैले आफ्नो परिवारको आधा सदस्य गुमाएर बाँचेको हुन सक्छ, कसैले घर गुमाएर, कसैले आफ्नो सुरक्षित संसार गुमाएर, त कसैले आफ्नो भविष्यको कल्पना नै गुमाएर ।
जिउमा चोट नदेखिनुको अर्थ मान्छे निको हुनु होइन; कहिलेकाहीँ घाउभन्दा गहिरो त मानिसको मौनता हुन्छ ।
त्यसैले बाँचेर फर्किएको मानिसलाई केवल भाग्यमानी भनेर नछोडौँ । उसको आँखामा पनि एउटा कथा हुन्छ, उसको मौनतामा पनि एउटा चिच्याहट हुन्छ । उसलाई पनि कहिलेकाहीं कसैले केवल यति भनिदिनुपर्छ, ‘तिमीले जे भोग्यौ, म त्यसलाई बुझ्न नसकुँला; तर म तिम्रो छेउमा छु।’
बालबालिकाले के गुमाए, हामीले देखेका छैनौं
विपत्तिले बालबालिकाको घर मात्र भत्काउँदैन, उनीहरूको ‘संसार सुरक्षित छ’ भन्ने पहिलो विश्वास पनि हल्लाउन सक्छ । आमाको हात छुटेको बच्चा, बुबा फर्केर आउँछन् कि आउँदैनन् भनेर ढोकातिर हेरिरहने बच्चा, पानी पर्दा डराउने बच्चा, अनि खेल्ने ठाउँ, विद्यालय र परिचित वातावरण गुमाएको बच्चा ।
‘ठूला मान्छेहरूले भत्किएका भित्ता र ढलेका घर गन्छन्, तर बालबालिकाले त आफ्नो सानो र सुरक्षित संसार नै गुमाएका हुन्छन् ।’
उनीहरूलाई केवल ‘नडराऊ’ भन्नु पर्याप्त हुँदैन। उनीहरूलाई फेरि सुरक्षित महसुस गराउनुपर्छ । कसैले कथा सुनाओस्, कसैले खेलोस्, कसैले अँगालो हालोस्, कसैले उनीहरूको कुरा बीचमै नकाटी सुनोस् । किनकि बालबालिकाको मनमा सुरक्षा फेरि निर्माण गर्नु भनेको भोलिको चेतनामय समाज निर्माण गर्नु हो ।
आफूलाई सधैँ अदालतमा उभ्याएर नराख
विपत्तिपछि मन बारम्बार विगतमा फर्किन्छ— ‘यदि म त्यहाँ भएको भए ?’, ‘मैले अझ छिटो तानेर निकालेको भए ?’, ‘मैले फोन किन गरिनँ ?’, ‘उनीहरू गए, म किन बाँचेँ ?’
यी प्रश्नहरूले मनलाई चिथोर्दा आफैँलाई दोषी नबनाऊ। तिमी सर्वशक्तिमान थिएनौ । प्रकृतिको प्रचण्ड क्षणका अगाडि मानिसको सामर्थ्य आफ्नै दुई हातभन्दा ठूलो हुँदैन । तिमीले त्यो क्षणमा आफूले सकेजति मात्र गर्न सक्थ्यौ।
‘प्रकृतिको असीमित शक्ति अगाडि तिमी केवल एउटा मानिस थियौ, कुनै ईश्वर वा चमत्कार होइनौ ।’
त्यसैले आफूलाई माफ गर । तिमीले बचाउन नसकेको मान्छेलाई तिमीले कम माया गरेका होइनौ । तिमी बाँच्यौ भनेर उनीहरूको मृत्युको मूल्य घट्दैन । र यदि तिमी फेरि हाँस्यौ, राम्रो खाना खायौ वा नयाँ सपना देख्यौ भने, त्यो उनीहरूलाई बिर्सनु होइन । सायद तिमीले गुमाएको मान्छेको प्रेमले तिमीलाई यति मात्र भन्थ्यो, ‘तिमी बाँच। राम्रोसँग बाँच।’
‘म किन बाँचे ?’ यो प्रश्नको पनि एउटा उत्तर छ
कहिलेकाहीँ बाँचेर आएको मानिसलाई आफ्नै जीवन बोझजस्तो लाग्न सक्छ। आत्मग्लानिले भित्रबाट सोधिरहन सक्छ ‘म किन ?’
तर याद गर—बाँच्नु विश्वासघात होइन । तिमीले बाँचेर उनीहरूको ठाउँ खोसेका होइनौ । तिमी बाँचेका छौ भने त्यो बाँकी रहेको जीवनलाई प्रेम, करुणा र अर्थले भर्न सक्छौ । तिमीले उनीहरूका नाममा एउटा राम्रो काम गर्न सक्छौ, उनीहरूले अधुरो छोडेको सपना पूरा गर्न सक्छौ, र उनीहरूले तिमीलाई दिएको प्रेमलाई अर्को जीवनसम्म पुर्याउन सक्छौ।
बाँच्नु अपराध होइन; गुमाएकाहरूको प्रेमलाई आफ्नो कर्ममा जीवित राख्ने एउटा दिव्य जिम्मेवारी हो ।
त्यसरी हेर्दा, तिम्रो बाँकी जीवन केवल तिम्रो मात्र रहँदैन । त्यो तिमीले गुमाएकाहरूको सम्झनाको पनि एउटा जीवित मन्दिर बन्न सक्छ।
अगाडि बढ्नु भनेको पछाडि छोड्नु होइन
‘मुभ अन’ भन्ने शब्द शोकमा परेका मानिसका लागि धेरै कठोर हुन सक्छ । तर अगाडि बढ्नु भनेको कसैलाई पछाडि छोडेर भुल्नु होइन । अगाडि बढ्नु भनेको,उसलाई बिर्सनु होइन, उसको सम्झनालाई आफ्नै सासमा सजाएर नयाँ बिहानतिर पाइला चाल्नु हो । सम्झनालाई हृदयको मन्दिरमा राखेर फेरि बाँच्न सिक्नु हो ।’
दुःख बोकेर पनि रोटी खानु हो, आँसु पुछेर बच्चाको हात समात्नु हो, भग्न घरको ठाउँमा फेरि ढुङ्गा राख्नु हो, र कुनै दिन फेरि हाँस्न सक्नु हो । तिम्रो दुःखबाट अहिले नै कुनै ठूलो अर्थ निकाल्नुपर्दैन । अहिले तिमीले केवल बाँच्नु छ। अर्थ कहिलेकाहीँ तुरुन्त आउँदैन; धेरै पछि, धेरै मौनतापछि, जीवनले आफैँ अर्थ जन्माउँछ।
एक दिन होइन, अहिले केवल एक श्वास
अहिले दश वर्ष वा आगामी वर्षहरूको ठूलो योजना बनाउनुपर्दैन । जब जिन्दगी अचानक भत्किन्छ, तब वर्षौँको सोचले मनलाई अझ बढी थकाउँछ। यदि सिङ्गो दिन कटाउन पनि गाह्रो भइरहेको छ भने—आज केवल यो क्षणमा बाँच । धेरै अगाडिको अँध्यारो हेरेर अत्तासिनु पर्दैन, केवल अहिलेकै एउटा श्वासलाई सम्हाल । श्वास फेर्न पनि भारी भइरहेको छ भने—नहिचकिचाई कसैको हात समात, कसैलाई फोन गर, अनि भन– ‘मलाई अहिले एक्लै बस्न गाह्रो भइरहेको छ।’
‘जब भविष्य धमिलो देखिन्छ, तब वर्षौंको बाटो होइन, केवल अर्को एक श्वाससम्मको पाइला मात्र हेर ।’
सहयोग माग्नु कमजोरी होइन । राहत सामग्रीसँगै मानसिक सुरक्षा, औषधिसँगै मानवीय उपस्थिति, र पुनर्निर्माणसँगै विश्वासको पुनर्निर्माण पनि आवश्यक हुन्छ । आफ्नो घाउ स्वीकार्नु र मनप्रति इमानदार हुनु पनि एउटा ठूलो साहस र साधना हो ।
एउटा हातले सिङ्गो संसार सम्हाल्छ
विपत्तिमा मानिसको वास्तविक शक्ति र आन्तरिक प्रकाश देखिन्छ । कुनै अपरिचितले खाना बाँड्छ, कसैले रातभर उद्धार गर्छ, कसैले आफ्नो घर खोलिदिन्छ, कसैले काँपिरहेको हात समातेर भन्छ, ‘डर नमान, म छु ।’
मानव सभ्यता र आध्यात्मिकताको सबैभन्दा सुन्दर रूप यही हो, मानिसले मानिसलाई नछोड्नु ।
प्रविधि, उद्धार, राहत र पुनर्निर्माण आवश्यक छ, तर ती सबैको मुटुमा करुणा हुनैपर्छ । बाढीले घर भत्काउन सक्छ, पहिरोले बाटो बन्द गर्न सक्छ; तर मानिसले मानिसलाई छोडिदियो भने त्यसले सिङ्गो समाज भत्काउँछ।
‘शोकमा परेका मानिसलाई सधैँ लामो उपदेश चाहिँदैन; कहिलेकाहीं केवल एउटा मानिस चाहिन्छ, जो उसको छेउमा चुपचाप बसिदेओस् ।’
राहत सकिएपछि पनि दुःख सकिँदैन
विपत्तिको पहिलो दिन सबैको ध्यान हुन्छ । क्यामेरा आउँछन्, राहत आउँछ, उद्धार आउँछ, सहानुभूति आउँछ । तर केही हप्तापछि समाचार बदलिन्छ, केही महिनापछि संसार आफ्नै गतिमा फर्किन्छ । तर पीडितको जीवन ?
उसको वास्तविक युद्ध त त्यहीँबाट सुरु हुन्छ । घर फेरि बनाउनुपर्छ, कागजपत्र खोज्नुपर्छ, बालबालिकालाई विद्यालय पठाउनुपर्छ, रोजगारी खोज्नुपर्छ, घाइते शरीर सम्हाल्नुपर्छ, र रातमा आउने डरसँग एक्लै लड्नुपर्छ।
‘क्यामेराहरू फर्किएपछि र समाचार पुराना भएपछि मात्रै पीडित मानिसको वास्तविक पुनर्निर्माण सुरु हुन्छ ।’ त्यसैले विपत्तिपछिको सहयोग केवल राहतको झोला दिएर सकिँदैन । वास्तविक पुनर्निर्माण भनेको मानिसलाई फेरि आफ्नो जीवनमा उभिन सक्ने बनाउनु हो । समाचार सकिएपछि पनि उनीहरूको कथा नसकिएको हामीले सम्झिरहनुपर्छ ।
प्रकृतिको स्वास्थ्य र चेतनाको पुनर्निर्माण
प्रकृतिले आज बाढी र पहिरोका माध्यमबाट हाम्रो घरको ढोका मात्र ढकढक्याएकी छैन, उनले हाम्रो चेतनाको ढोका पनि ढकढक्याएकी छिन् । हामी राहत पठाउनेछौँ, पुनर्निर्माण गर्नेछौँ, सडक र घर फेरि बनाउनेछौं । तर के हामी पुरानै सोच पनि फेरि बनाउनेछौँ ? यदि त्यही गर्यौँ भने, हामीले घर त पुनर्निर्माण गर्यौँ, तर विपत्तिको कारणलाई पनि फेरि पुनर्निर्माण गर्यौँ।
‘प्रकृतिलाई विनाश गरेर गरिएको विकास, सुरक्षित घर होइन, अर्को ठूलो विपत्तिको प्रतीक्षा मात्र हो ।’
त्यसैले अब घरसँगै सोच पनि पुनर्निर्माण गर्नुपर्छ, सडकसँगै नीति, शहरसँगै चेतना, र विकाससँगै विवेक पनि । यदि समाजमा मानिस निरन्तर डरमा बाँच्छ, नदीमा विष बग्छ, माटो विषाक्त हुन्छ, र बच्चाले स्वच्छ हावा पाउँदैन भने त्यो विकास र समाज स्वस्थ हुन सक्दैन ।
अन्ततः मानिस प्रकृतिबाट अलग कुनै टापु होइन । हामी यही माटोबाट बनेका हौँ, यही पानी पिउँछौँ, यही हावामा सास फेर्छौं, यही पृथ्वीमा हिँड्छौं र एक दिन यही माटोमा फर्किन्छौं । त्यसैले प्रकृतिलाई चोट पुर्याएर मानिस कहिल्यै पूर्ण रूपमा स्वस्थ हुन सक्दैन ।
अँध्यारो जतिसुकै गहिरो भए पनि, उज्यालो बिहानको अन्त्य होइन
जब चारैतिर उजाड र निराशा मात्र देखिन्छ, तब मानिसलाई लाग्न सक्छ— अब कथा सकियो, अब जीवन कहिल्यै पहिलेजस्तो हुने छैन । तर इतिहास साक्षी छ, संसारका सबैभन्दा महान् र सुन्दर बस्तीहरू तिनै खरानी र लेदोमाथि फेरि उम्रिएका हुन्।
विपत्तिले हाम्रा संरचना र भौतिक सम्पत्ति बगाउन सक्छ, तर मान्छेको भित्र रहने ‘फेरि उठ्ने’ अदम्य जीवन्तता र साहसलाई कुनै बाढीले बगाउन सक्दैन । माटो मुनि पुरिँदैमा बीउको अन्त्य हुँदैन, त्यो त नयाँ अङ्कुरणको सुरुवात मात्र हो ।
हामी केवल एउटा विपत्तिका साक्षी वा पीडित मात्र होइनौँ, हामी त दुःखको विशाल ढुङ्गालाई फोडेर फेरि जीवन जन्माउने भगीरथ प्रयासका संवाहक हौँ । जब धेरै हातहरू आपसमा जोडिन्छन्, जब एउटाको आँसु अर्कोले पुछिदिन्छ,त्यहीँबाट एउटा नयाँ र झनै बलियो समाजको पुनर्जन्म हुन्छ ।
एउटा टुटेको मान्छेले अर्को टुटेको मान्छेको हात समात्दा, त्यहाँ दुःख होइन,संसारकै सबैभन्दा ठूलो शक्ति जन्मिन्छ ।
त्यसैले अहिलेको यो मौनता र आँसु कुनै अन्त्य होइन । यो त भोलिको नयाँ बिहानका लागि जग हालिँदै गरेको एउटा कठिन, तर पवित्र सङ्क्रमणकाल हो ।
नयाँ आफूलाई जन्मिन देऊ
शोकले मानिसलाई बदल्छ, विपत्तिले झनै गहिरो गरी बदल्छ । यो आँधीपछि तिमी पहिलेको जस्तै दुरुस्त नहुन सक्छौ, र हुनैपर्छ भन्ने पनि छैन ।
पहिले सामान्य लागेका कुराहरू,एक कप तातो चिया, आमाको आवाज, बच्चाको निश्चल हाँसो, साँझको शान्त आकाश, कसैको न्यानो स्पर्श, अनि साँझ सुरक्षित घर फर्किन पाउनु,अचानक जीवनका सबैभन्दा मूल्यवान् र दिव्य कुरा बन्न पुग्छन् ।
‘दुःखले मानिसको बाहिरी आवरण भत्काइदिन्छ, ताकि भित्रबाट एउटा अझ करुणामय र गहिरो मानिस जन्मिन सकोस् ।’ त्यसैले आफूलाई जबर्जस्ती पुरानै अवस्थामा फर्काउन खोजेर पेलिरहनुपर्दैन । नयाँ आफूलाई सुस्तरी जन्मिन देऊ, अझ गहिरो, अझ करुणामय, अझ सचेत र अझ आत्मिक।
तिमीलाई बलियो देखिन हतार गर्नुपर्दैन। पहिले घाउलाई निर्धक्क घाउ हुन देऊ, आँसुलाई बग्न देऊ, र शोकलाई आफ्नो समय लिन देऊ।
‘छिटो निको हुने हतारमा घाउलाई लुकाउनु पर्दैन; कमजोरीलाई स्वीकार्नु नै वास्तविक बलियो हुनुको पहिलो पाइला हो ।’
तिमीभित्रको पवित्र दीप अझै बलेकै छ
विपत्तिले तिम्रो घर भत्काउन सक्छ, शरीर घाइते बनाउन सक्छ, र तिम्रो परिचित संसार बदल्न सक्छ। तर तिमीभित्र एउटा यस्तो पवित्र र साक्षी-चेतना छ, जहाँ बाहिरी आँधीबेहरी पुग्नै सक्दैन, त्यो हो ‘प्रेम, शान्ति र चेतनालाई जीवित राख्ने तिम्रो आन्तरिक स्वतन्त्रता’।
यदि संसार धेरै भारी भयो भने, ठूला उत्तरहरू नखोज । छातीमा हात राख, आँखा बन्द गर, एउटा गहिरो श्वास लेऊ र आफैँलाई बिस्तारै भन, ‘म अझै यहाँ छु। मेरो जीवन अझै बाँकी छ। मैले गुमाएको प्रेम र आन्तरिक उज्यालो मभित्र अझै जीवित छ ।’
आँसु आयो भने निर्धक्क बग्न देऊ ।
‘आँसु पराजयको सङ्केत होइन; यो त तिम्रो भित्रको मान्छे अझै मरेको छैन भन्ने आत्माको जीवित प्रमाण हो ।’
बाहिर जतिसुकै अँध्यारो छाए पनि, तिमीभित्रको त्यो पवित्र दीप अझै बलेकै छ । र जबसम्म तिमीभित्र चेतना र सासो बाँकी छ, नयाँ बिहानको सम्भावना कहिल्यै सकिने छैन ।
अन्तिम कुरा : तिमी फेरि जन्मिँदैछौ
विश्वास गर, एक दिन फेरि बिहान हुनेछ । सायद त्यो बिहान पहिलेको जस्तो हुनेछैन, सायद तिम्रो घर पहिलेको ठाउँमा हुनेछैन, सायद तिम्रो परिवार पनि पहिलेको जस्तो पूर्ण हुनेछैन । तर बिहान आउने नै छ ।
त्यही भग्न र भिजेको माटोबाट एउटा सानो हरियो टुसा निस्कनेछ । प्रकृतिको र सृष्टिको गहिरो रहस्य नै यही हो,उनी भत्किएको ठाउँबाटै फेरि पुनर्निर्माण र पुनर्जन्मको यात्रा सुरु गर्छिन् । मानिस पनि त प्रकृतिकै सन्तान हो।
‘विपत्तिले तिम्रो बाहिरी संसार खोस्न सक्छ, तर तिम्रो आत्माको उज्यालो र फेरि जन्मिने सम्भावना कहिल्यै खोस्न सक्दैन ।’
त्यसैले तिमीलाई अहिले नै जबर्जस्ती हाँस्नुपर्ने छैन, अहिले नै सबै बिर्सनुपर्ने छैन, र अहिले नै बलियो देखिनुपर्ने छैन । अहिले तिमीलाई केवल बाँच्न अनुमति छ, रुन अनुमति छ, सम्झिन अनुमति छ, सहयोग माग्न अनुमति छ, र आफूलाई माफ गर्न अनुमति छ। र कुनै दिन,जब मनले फेरि थोरै उज्यालो महसुस गर्नेछ, तिमी बिस्तारै उठ्नेछौ । गुमाएकोलाई पछाडि छोडेर होइन, हृदयको मन्दिरमा सजाएर । तिमी फेरि हिँड्नेछौ, तिमी फेरि प्रेम गर्नेछौ, र तिमी फेरि नयाँ सपना देख्नेछौ ।
‘तिमी भत्किएका छैनौ, तिमी सकिएका छैनौ– तिमी त आफ्नै आँसुको माटो र स्मृतिको जराबाट फेरि जन्मिँदैछौ ।’
हतार नगरी, दुःखसँग नडराई, एकअर्काको हात समात्दै, एक-एक श्वास गर्दै फेरि उज्यालोतिर पाइला चाल । किनकि, तिम्रो कथा यहाँ सकिएको छैन । जीवन र यो विराट प्रकृति अझै तिम्रो पर्खाइमा छ ।
र अन्ततः यति सम्झिराख,जे आयो, त्यो जानेछ । जे बन्यो, त्यो भत्किनेछ । तर तिमीभित्रको त्यो मौन साक्षी, त्यो आकाशजस्तै चेतना, सधैँ खुला रहनेछ। त्यही शान्तिमा फर्क । यही उज्यालोमा बाँच । बाँकी जीवनलाई एउटा सुन्दर प्रार्थना बनाऊ ।
तिम्रो दुःखको छेउमा, मौन भएर बसेको एउटा म ।
प्रतिक्रिया 4