+
+
Shares

प्रदेश सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल सच्याउन जसपा नेपालको आग्रह

नक्कली कागजातका आधारमा निर्णय गरिएको दाबी

जसपा नेपालले पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई दल त्यागसम्बन्धी सूचना जारी गरी पदमुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १६:०४

२५ भदौ, बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई दल त्यागसम्बन्धी सूचना जारी गरी पदमुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । उक्त पार्टीले निर्णय तत्काल सच्याउन लुम्बिनी प्रदेशसभा सचिवालयसँग माग गरेको छ ।

जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रदेशसभा सचिवालयले २४ भदौमा सूचनामार्फत काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरेको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

पार्टीले उक्त निर्णय किर्ते तथा नक्कली कागजातलाई आधार बनाएर गरिएको गैरकानुनी, असंवैधानिक र संसदीय अभ्यासको मर्मविपरीत कार्य भएको दाबी गरेको छ ।

जसपा नेपालका अनुसार १ भदौमा लुम्बिनी प्रदेशसभा संसदीय दललाई तत्कालीन मुख्यमन्त्री चेतनारायण आचार्यले लिएको विश्वासको मतको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको थियो।

तर, उक्त ह्विप उल्लंघन गरी मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यहरू सन्तोषकुमार पाण्डेय, आदेशकुमार अग्रवाल, भण्डारीलाल अहिर र हेमा बेल्वासे केसीमाथि पार्टीले स्पष्टीकरण सोधेको जनाएको छ ।

जसपाका अनुसार स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि १६, १७ र १८ भदौमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट कारबाही प्रक्रिया अघि बढाइएको थियो । विज्ञप्तिमा उनीहरू चार जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको उल्लेख छ ।

तर, अहिले लुम्बिनी प्रदेशसभा सचिवालयबाट अम्बिका काफ्लेलाई दल त्यागसम्बन्धी सूचना जारी गरिएको विषयलाई जसपा नेपालले त्यसै घटनासँग जोडेर आपत्ति जनाएको छ ।

‘अजय झाको हस्ताक्षर भएको पत्र नै किर्ते’

जसपा नेपालले प्रदेशसभा सचिवालयमा पेस भएको पत्रमाथि नै गम्भीर प्रश्न उठाएको छ ।

पार्टीको नाममा सहमहासचिव अजय झाको हस्ताक्षर रहेको भनिएको पत्रलाई आधार बनाएर प्रदेशसभा सचिवालयले निर्णय गरेको आरोप लगाउँदै जसपा नेपालले उक्त पत्रमा प्रयोग भएको लेटरप्याड तथा छापसमेत नक्कली रहेको दाबी गरेको छ ।

विज्ञप्तिमा अजय झा पार्टीको साधारण सदस्यसमेत नरहेको अवस्थामा उनको नामबाट प्रस्तुत गरिएको पत्रलाई जसपा नेपालको केन्द्रीय समितिको निर्णयका रूपमा स्वीकार गरी निर्णय गर्नु गम्भीर आपत्तिजनक, गैरकानुनी तथा चुनौतीपूर्ण विषय भएको उल्लेख छ ।

पार्टीले त्यस्तो पत्रका आधारमा भएको निर्णय तत्काल सच्याउन प्रदेशसभा सचिवालयसमक्ष माग गरेको छ ।

जसपा नेपालले घटनालाई प्रदेशसभा सदस्यको पदमुक्तिसँग मात्र सीमित नराखी राजनीतिक स्वार्थका लागि सरकारी तथा संवैधानिक संयन्त्रको दुरुपयोग भएको आरोप लगाएको छ ।

विज्ञप्तिमा सत्ता जोगाउने राजनीतिक स्वार्थका लागि किर्ते कागजात प्रयोग गर्नु, गैरकानुनी प्रक्रिया अपनाउनु तथा राज्यका संवैधानिक एवं संसदीय निकायको दुरुपयोग गर्नु लोकतान्त्रिक व्यवस्था, विधिको शासन र स्वच्छ राजनीतिक प्रतिस्पर्धामाथिको गम्भीर प्रहार भएको उल्लेख छ ।

पार्टीले घटनामा संलग्न जोसुकै भए पनि उनीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ ।

प्रदेशसभा सचिवालयलाई छानबिन र कारबाही गर्न माग

जसपा नेपालले लुम्बिनी प्रदेशसभा सचिवालयले सांसद अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल सच्याउनुपर्ने, घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने तथा किर्ते कागजात तयार गर्ने, प्रयोग गर्ने र त्यसकै आधारमा निर्णय प्रक्रियामा संलग्न हुने व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

पार्टीले यस विषयमा निर्वाचन आयोगलाई समेत गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ । साथै, उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै त्यसविरुद्ध आवश्यक न्यायिक तथा कानुनी उपचारका प्रक्रिया अवलम्बन गर्ने जानकारी पनि दिएको छ ।

यससँगै काफ्लेलाई पदमुक्त गरिएको विषय थप विवादमा तानिएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाको वैधानिकता र त्यसका लागि पेस गरिएको भनिएको पत्रको आधिकारिकतामाथि जसपा नेपालले प्रश्न उठाएपछि अब पत्रको स्रोत, हस्ताक्षरको आधिकारिकता र निर्णय प्रक्रियाको वैधानिकतामाथि छानबिन गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाद्वारा जारी विज्ञप्तिमा प्रदेशसभा सचिवालयको निर्णय फिर्ता/सच्याउन माग गर्दै आवश्यक कानुनी उपचारमा जाने स्पष्ट चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?