News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको उत्तरगया गाउँपालिका–५ को मोर्डन ट्रिनिटी स्कुलमा बाढीले २५० विद्यार्थी, भवन, डेस्क, बेञ्च, कम्प्युटर र कागजात नष्ट गरेको छ।
- विद्यालयका सञ्चालक सुरज डंगोलले बाढीअघि ‘हजुरहरूले बालबालिकालाई घरमै सुरक्षित राख्नुहोस्, म स्कुलमा आइसकेका र होस्टेलमा रहेका बच्चाहरूलाई जसरी पनि सुरक्षित राख्छु ।’ भनेर अन्तिम म्यासेज पठाएका थिए।
- स्कुलबाट फर्किँदै गरेका सुरज डंगोल बेत्रावती पुगेपछि स्कुलतर्फ जान खोजेका थिए, तर अहिलेसम्म भेटिएका छैनन्।
२५ भदौ, काठमाडौं । १० भदौ बिहान बेत्रावतीकी सिर्जना भण्डारी (डंगोल) छोरीलाई स्कुलका लागि तयार पारेर श्रीमान् सुरज डंगोललाई बाटोमा पर्खिरहेकी थिइन् । उनीहरूको रसुवा उत्तरगया गाउँपालिका–५ मा ७ कक्षासम्म पढाइ हुने मोर्डन ट्रिनिटी स्कुल थियो ।
बाढी आउने सूचना आउन थाल्यो । त्यही क्रममा अभिभावकहरू जोडिएको ह्वाट्सएप ग्रुपमा बिहान ९:१२ बजे सुरज सरको म्यासेज आयो, ‘हजुरहरूले बालबालिकालाई घरमै सुरक्षित राख्नुहोस्, म स्कुलमा आइसकेका र होस्टेलमा रहेका बच्चाहरूलाई जसरी पनि सुरक्षित राख्छु ।’
सिर्जना घरबाट निस्केर बाटोमा श्रीमान् कुरिरहिन् । तर श्रीमान् आइपुगेनन्, बाढी आइपुग्यो । ‘उहाँ भैरुम माविमा ११ र १२ लाई पढाएर फर्किंदै हुनुहुन्थ्यो,’ उनले भनिन् ।
सिर्जनाले वाकीटकीमार्फत स्कुलका सिस्टर र कर्मचारीसँग सम्पर्क गरिन् । स्कुलको होस्टेलमा रहेका र बाटोबाट बसमा चढिसकेका बच्चाहरूलाई तुरुन्तै सुरक्षित डाँडातिर लैजाने काम भयो ।

‘सबै मिलेर झ्याल–ढोकाबाट बच्चाहरू निकालेर उद्धार गरियो,’ उनले भनिन्, ‘स्कुलमा रहेका बच्चालाई जोगाइयो ।’
बसमा विद्यार्थी लिएर आउँदै गरेका चालकले पनि बाटोमै रोकिदिएकाले विद्यार्थी जोगिए । तर बाटोमा आउँदै गरेका १० जना विद्यार्थी भने बाढीमा परे । बाढी आएपछि सिर्जना पनि छोरी काखमा च्यापेर डाँडातिरै भागिन् ।
‘३१ महिनाकी कान्छी छोरीलाई काखमा च्यापें । १० वर्षकी जेठी छोरीलाई अगाडि लगाएर भागें । तर उकालो चढ्दै गर्दा झाडीमा अड्किएँ । फर्केर हेर्दा बाढीको ठूलो छाल आँखै अगाडि आइसकेको थियो,’ उनले भनिन्, ‘अब बाच्दिनँ भन्ने सोचेकी थिएँ ।’
भागदौडकै क्रममा जेठी छोरी केहीबेर हराइन् । ‘दुई घण्टापछि मात्र भेट भयो,’ उनले भनिन् ।
श्रीमान्को प्रतीक्षामा बसिन् सिर्जना । ‘सरलाई कन्ट्याक्ट गर्न खोजेँ, तर सम्पर्क हुन सकेन । सर कलेजबाट यता आउँदै हुनुहुन्थ्यो भन्ने पछि थाहा पाएँ । उहाँ बेत्रावती आइपुग्नुभएको रहेछ र स्कुलतर्फ जान खोज्नुभएको रहेछ,’ उनले भनिन्, ‘उहाँको अहिलेसम्म अत्तोपत्तो छैन ।’ छोरीले बाबा कता हुनुहुन्छ, छिटो आउनुहोस् भनेर बोलाइरहन्छिन् ।

‘ठूली छोरी १० वर्ष पूरा भएर ११ मा लागेकी छिन् । उसलाई सम्झाइसकेँ । तर ३१ महिनाकी सानो छोरी अझै पनि बाबा केही समयपछि आउनुहुन्छ होला भनेर आस गरिरहेकी छे,’ उनले भनिन् ।
स्कुलमा आइसकेका र होस्टेलमा रहेका बच्चाहरूलाई जसरी पनि सुरक्षित राख्छु भनेका सुरजको त्यही नै अन्तिम म्यासेज भयो । त्यसपछि सम्पर्क हुन सकेन ।
‘भोलिपल्ट बिहानैदेखि गाउँले र आफन्त मिलेर खोला किनारमा खोजी सुरु गर्यौँ । सरले चढेको बाइक र केही सामान भेटियो, तर उहाँलाई अझै भेट्न सकिएको छैन,’ उनले भनिन् ।
अनि विद्यालय खोलेका थिए
२०७५ सालमा सिर्जना र श्रीमान्ले गुणस्तरीय शिक्षाको सोच लिएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए ।
‘गुणस्तरीय र व्यावहारिक शिक्षा दिने उद्देश्य थियो । २५० जना विद्यार्थी थिए । बाढीले विद्यालय क्षणभरमै बगर बनाइदियो,’ उनले भनिन् ।

विद्यालयमा भवन, डेस्क, बेञ्च, कम्प्युटर, कागजात केही पनि बाँकी रहेन । दुःख र पसिनाले सुरु गरेको विद्यालय बालुवामै विलिन भयो । ‘भौतिक क्षति त जसोतसो फेरि उठाउन सकिएला । मान्छेको ज्यान र गुमेको खुसी कहिल्यै नफर्किने भयो,’ उनले भनिन् ।
एकातिर दुई साना नानीहरूको लालनपालन र भविष्यको जिम्मेवारी छ । अर्कोतिर ती २५० जना विद्यार्थी र श्रीमान्को अधुरो सपना पूरा गर्नुपर्ने दायित्त्व सिर्जनाको काँधमा छ ।
उक्त स्कुलमा १५ जना कर्मचारी कार्यरत थिए । गणित पढाउने म्याम घरमै बाढीमा परेको खबर सिर्जनाले सुनेकी छिन् । यकिन विवरण अझै आउन बाँकी छ । तर सरकार र सहयोगी हातहरूबाट साथ पाएमा आफूलाई सम्हालेर श्रीमान्को सपना पूरा गर्ने उनको अठोट छ ।
‘सबै शून्य भएको छ । छोरीहरूलाई पढाउनु पर्नेछ । सबैको साथ र सहयोगको अपेक्षा छ,’ उनले भनिन् ।
प्रतिक्रिया 4