News Summary
Generated by OK AI. Editorially reviewed.- स्विडेनको आम निर्वाचनको ९४.४ प्रतिशत मतगणनामा विपक्षी मध्य-वामपन्थी गठबन्धनले १७६ सिट र सत्तासीन दक्षिणपन्थी गठबन्धनले १७३ सिट ल्याउने अनुमान गरिएको छ।
- स्विडेनकी सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ म्याग्डालेना एन्डरसनले विपक्षी गठबन्धनले अग्रता लिइरहेको र यही नतिजा कायम रहे नयाँ सरकार पाउने बताइन्।
- प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले अन्तिम नतिजापछि सम्भावित गठबन्धनबारे छलफल गर्ने बताएका छन्, र ढिलो मतगणना बुधबारदेखि सुरु हुनेछ।
२९ भदौ, काठमाडौं । स्विडेनमा सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा अन्तिम परिणाम कस्तो आउनेछ भन्ने अझै स्पष्ट भइसकेको छैन। यद्यपि, वर्तमान सत्तासीन दक्षिणपन्थी गठबन्धन भने पछाडि परिरहेको छ।
स्विडेनको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ म्याग्डालेना एन्डरसनले विपक्षी गठबन्धनले अग्रता लिइरहेको र यही नतिजा कायम रहे स्विडेनले नयाँ सरकार पाउने आफ्ना समर्थकहरूलाई बताएकी छन्।
आइतबार स्थानीय समयानुसार राति ८ बजे मतदान केन्द्रहरू बन्द भएका थिए। सोमबार बिहान स्विडेनी निर्वाचन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९४.४ प्रतिशत मत गणना भइसक्दा ३४९ सिट भएको संसद्मा विपक्षी मध्य-वामपन्थी गठबन्धनले १७६ सिट जित्ने अनुमान गरिएको छ। यसको तुलनामा सत्तासीन दक्षिणपन्थी गठबन्धनले १७३ सिट मात्र ल्याउने देखिएको छ।
यद्यपि, २०औँ शताब्दीको अधिकांश समय स्विडेनमा शासन गरेको र हाल देशकै सबैभन्दा ठूलो दलको रूपमा रहेको एन्डरसनको पार्टीले एक शताब्दीयताकै सबैभन्दा खराब नतिजा ल्याउने सङ्केत देखिएको छ। उक्त पार्टीले २८.१ प्रतिशत मात्र मत प्राप्त गरेको छ, जुन सन् २०२२ को तुलनामा २.२ प्रतिशतले कम हो।
‘सरकार कसले बनाउँछ, अझै भन्न सकिँदैन’
सत्ताधारी गठबन्धनको नेतृत्व गरिरहेका स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले निर्वाचनपछि आफूले अन्य दलका नेताहरूसँग सम्पर्क गर्ने बताउँदै आगामी वर्षहरूमा स्विडेनमा कसले शासन गर्छ भन्ने प्रश्न अझै खुला रहेको धारणा राखेका छन्। ‘अन्तिम नतिजा आइसकेपछि सम्भावित गठबन्धनका विकल्पहरू खोज्नु राम्रो विचार हो,’ उनले भने, ‘स्विडेनी संसद्मा स्पष्ट रूपमा गैर-समाजवादी बहुमत वा गैर-वामपन्थी आर्थिक विचार राख्नेहरूको बहुमत छ। म त्यसलाई ध्यानमा राख्दै कुनै सम्भावना छ कि भनेर पक्कै खोजी गर्नेछु।’
यसैगरी, स्विडेन डेमोक्र्याट पार्टीका नेता जिमी एकेसनले अर्को सरकार कसले बनाउँछ भन्ने कुरा ‘आज राति नै थाहा नहुने’ बताएका छन्। उनको पार्टीले १७.६ प्रतिशत मत पाएको छ, जुन सन् २०२२ को २०.५ प्रतिशतको तुलनामा करिब ३ प्रतिशतले कम हो। यससँगै उनको पार्टी क्रिस्टर्सनको ‘मोडरेट्स’ पार्टीभन्दा पछि पर्दै तेस्रो स्थानमा धकेलिएको छ।
ढिलो गरी आएका हुलाक मतपत्र र विदेशस्थित स्विडेनी दूतावासहरूमा खसालिएका मतहरूको गणना बुधबारदेखि सुरु हुनेछ। त्यसैले संसद्को अन्तिम नतिजा यसै साताको अन्त्यतिर मात्र आउने अपेक्षा गरिएको छ।
अन्तिम समयमा कडा प्रतिस्पर्धा
चुनावी अभियानको सुरुवाती चरणमा क्रिस्टर्सनको चार दलीय गठबन्धन (राष्ट्रवादी ‘स्विडेन डेमोक्र्याट्स’ सहित) माथि वामपन्थी गठबन्धनले सहज जित निकाल्ने देखिएको थियो। यस वर्षको सुरुमा गरिएका सर्वेक्षणहरूले विपक्षी गठबन्धनलाई करिब १० प्रतिशतको अग्रता देखाएका थिए। तर बिस्तारै प्रतिस्पर्धा कडा हुँदै गयो र अन्तिम हप्ताहरूमा त्यो अग्रता घटेर २-३ प्रतिशतमा झर्यो, जसले गर्दा सहजै अनुमान गर्न सकिने चुनाव निकै रोमाञ्चक बन्न पुग्यो।
यदि एन्डरसनले जित हासिल गरिन् भने, त्यसले युरोपभरिका वामपन्थी झुकाव भएका पार्टीहरूलाई केही राहत दिनेछ, जहाँ अहिले दक्षिणपन्थी र अति-दक्षिणपन्थी दलहरूले प्रभाव बढाइरहेका छन्।
गत हप्ता मात्रै जर्मनीको एउटा प्रमुख राज्य निर्वाचनमा अल्टरनेटिभ फर जर्मनीले ४४ प्रतिशत मत जितेको थियो। जसका कारण दोस्रो विश्वयुद्धपछि पहिलोपटक जर्मनीमा एउटा अति-दक्षिणपन्थी दल राज्य स्तरमा सत्ताको नजिक पुगेको छ।
नियो-नाजी आन्दोलनमा जरा गाडेको पार्टी ‘स्विडेन डेमोक्र्याट्स’ सन् २०२२ मा सबैभन्दा ठूलो दक्षिणपन्थी पार्टी बनेको थियो र क्रिस्टर्सनको अल्पमतको सरकारलाई टिकाउन संसदीय समर्थनको महत्त्वपूर्ण स्रोत बनेको थियो। यो पार्टी अहिलेसम्म सरकारबाहिरै रहेको छ।
तर अप्रिलमा क्रिस्टर्सनले यदि दक्षिणपन्थीहरूले बहुमत ल्याएमा आफ्नो कन्जरभेटिभ ‘मोडरेट्स’ पार्टीले उक्त दललाई सत्तारूढ गठबन्धनमा सामेल गर्न सक्ने घोषणा गरेका थिए, जसले स्विडेन डेमोक्र्याट्सलाई पहिलोपटक मन्त्रिपरिषद्मा पुर्याउने बाटो खोल्नेछ।
(अलजजिराबाट)
प्रतिक्रिया 4