News Summary
Generated by OK AI. Editorially reviewed.- हरितालिका तीजका दिन फिल्म ‘बेहुली’ले देशभर १५० शोज पाउँदै ७० देखि ८० लाख रुपैयाँ ग्रस कमाउन सक्ने वितरक गोविन्द शाहीले बताए ।
- शाहीका अनुसार पूर्वदेखि नेपालगञ्जसम्मका हलमा फिल्मको शो उत्साहजनक छ र तीजको बिहानैदेखि हलहरू हाउसफूल छन् ।
- निर्माता अर्जुन पोखरेलले वर्षमा एउटा फिल्म बनाउने योजना सुनाउँदै मंसिरपछि अर्को फिल्मको घोषणा गर्ने र ‘बेहुली’को दोस्रो श्रृंखला २०८४ मा आउने बताए ।
काठमाडौं । हरितालिका तीज पर्वको दिन सोमबार फिल्म ‘बेहुली’ले घरेलु बक्सअफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ । यस दिनमात्र फिल्मले डेढसय शोज पाएको छ ।
वितरक गोविन्द शाहीका अनुसार, फिल्मले तीजको दिनमा देशब्यापी ७० देखि ८० लाख रुपैयाँ ग्रस कमाउन सक्छ । उनी तीजको दिन मात्र होइन, सप्ताहन्तको आगामी दिनमा हुने ‘डील डे’ले कमाइमा बढोत्तरी हुने आशा राख्छन् ।
उनका अनुसार, पूर्वदेखि पश्चिमको नेपालगञ्जसम्म हलमा फिल्मले पाएको शोज उत्साहजनक छ । पहिलो सप्ताहन्तमा काठमाडौं र मुख्य सहरका हलबाट प्राप्त भिडियो र तस्वीरमा हलबाट दर्शक खचाखच देखिन्थे ।
‘तीजको दिनमा पनि बिहानैदेखि हलहरू हाउसफूल छन्’ शाही भन्छन्, ‘पूर्वका सहरदेखि चितवन, नेपालगञ्जसम्म यो उत्साह देखिएकोे छ ।’ दर्शकबाट प्राप्त प्रतिक्रियाले आफूहरूलाई थप उत्साह दिएको उनको भनाइ छ । ‘विशेषगरि, कलाकारलाई लिएर भैरहेको रेस्पोन्स गजब छ’ शाही बताउँछन् ।

‘बेहुली’ निर्माता अर्जुनको योजना- हरेक वर्ष फिल्म बनाउने
अर्जुन पोखरेल आफैमा प्रसिद्ध नेपाली संगीतकार हुन् । उनले दर्जनौं फिल्ममा एकसे एक हिट गीतहरू कम्पोज गरेका छन् । सुमाधुर्य र सुललित शैलीमा उनले तयार पारेका गीत दर्शकमाझ प्रिय छँदै छन् ।
यस्तोमा, उनै अर्जुन ‘बेहुली’मार्फत निर्माताको रुपमा आएका छन् । स्वतन्त्ररुपमा संगीत सिर्जना गर्दै स्रष्टा अकस्मात फिल्म निर्माणमा आउनुलाई नयाँ अनुभव बताउँछन् ।
‘संगीत गर्दा स्वतन्त्ररुपमा काम गरिन्थ्यो, आफूले संगीत गरेका फिल्म हिट हुन् हुन्थ्यो । निर्माता बन्दा आर्थिक पाटो आफैसँग जोडिँदा दबाब हुने रहेछ’ अर्जुन भन्छन्, ‘गीत चल्ने कुरा मात्र होइन, लगानी पनि सुरक्षित हुन्छ कि हुन्न भन्ने दबाब हुन्छ ।’
सुरुदेखि नै आफू देशमा बसेर केही गर्छु भन्ने मनस्थितीमा रहेको अर्जुन बताउँछन् । ‘सोहीअनुसार फिल्ममा पनि लगानी गरेको हुँ । प्रदर्शनको चौंथो दिनमा जुन साथ पाएको छु, यसप्रति आभारी छु’ उनी भन्छन् ।
९० प्रतिशत दर्शकले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । ‘अरु टिम मोफसलका हलको यात्रामा हुनुहुन्छ । म भने काठमाडौंमा भनेर दर्शकसँगै फिल्म हेर्दैछु । रियल फिडब्याक के हो भन्ने जान्न हलमा बसेको हो’ उनी भन्छन् ।

‘दर्शकले पनि दिक्दार मान्नुभएको छैन । गाउँमा बच्चा हुँदा हामीले पनि फिल्म हेर्दा सिठी र ताली बजाएर रमाइलो गथ्र्यौं’ उनले हलमा देखिएको अनुभव सुनाए ।
कतिपय क्रिटिक्सले दिएको सुझाव पनि आफूले आत्मसात गरेको अर्जुन बताउँछन् । उनी आफ्नो पहिचान भने संगीतकारको रुपमा रहोस् भन्ने चाहन्छन् । ‘क्रिटिक्स गर्नेले पनि सुझाव दिनुभएको छ । मेरो परिचय त, म संगीतकार नै हो । संगीतकारभन्दा फरक परिचय बनाउने क्रममा निर्माता बनेको हुँ’ उनी भन्छन् ।
उनी भविष्यमा संगीतमार्फत कथा भनिएको फिल्म बनाउन चाहन्छन् । ‘यसमा पनि कथाले मागेअनुसार गीत हालेको छु’ उनी भन्छन्, ‘म यस्तै फिल्म बनाउन चाहन्छु ।’ उनी वर्षमा एउटा फिल्म बनाउने तयारीमा रहेको बताउँछन् । ‘मसँग यसका लागि टिमवर्क पनि छ । मंसिरदेखि अर्को फिल्मको घोषणा पनि हुन्छ’ उनले अनलाइनखबरसँग बताए ।
अर्जुनले ‘बेहुली’को दोस्रो श्रृंखला २०८४ सालमा दर्शकमाझ आउने बताए । त्यसअघि एक टिमसँगको सहकार्यमा उनी मंसिर पछि फिल्म निर्माणको तयारीमा छन् ।
प्रतिक्रिया 4