+
+
Shares

कागबेनीदेखि भोटेकोशीसम्म : जलवायु जोखिमको बहस गर्न घरपझोङमा जुटे देशभरका स्थानीय तह

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर र त्यसबाट बढ्दै गएको विपद्को जोखिमबारे बहस गर्न मुस्ताङको घरपझोङ गाउँपालिकामा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ मा भाग लिन देशभरका स्थानीय तहका नेतृत्व भेला भइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुस्ताङको घरपझोङ गाउँपालिकामा भदौ ३० र ३१ गते ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ हुँदैछ।
  • सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव, स्थानीय तहको भूमिका, जलवायु वित्त, पर्यटन, जलविद्युत् र हिमाली विपद् जोखिमबारे छलफल हुने छ।
  • घरपझोङ घोषणापत्रको मस्यौदा प्रस्तुत गरी सहभागीबाट सुझाव लिइनेछ।

२९ भदौ पोखरा। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर र त्यसबाट बढ्दै गएको विपद्को जोखिमबारे बहस गर्न मुस्ताङको घरपझोङ गाउँपालिकामा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ मा भाग लिन देशभरका स्थानीय तहका नेतृत्व भेला भइरहेका छन् ।

भदौ ३० र ३१ गते हुने सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव, स्थानीय तहको भूमिका, जलवायु वित्त, पर्यटन तथा जलविद्युत्मा परेको असरदेखि हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिमसम्मका विषयमा छलफल हुनेछ ।

पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा देखिएका असामान्य र विनाशकारी घटनाले जलवायु परिवर्तनको जोखिमलाई थप गम्भीर बनाइरहेका बेला घरपझोङमा सम्मेलन हुन लागेको हो ।

केही साताअघि उत्तरी सीमाक्षेत्रमा हिमनदी तथा उच्च हिमाली भूभागसँग सम्बन्धित घटनापछि आएको बाढी–पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति गराएको छ । पछिल्लो अध्ययनले हिमालयमा हिमनदी पग्लिने क्रम तीव्र बन्दै गएको र हिमताल तथा हिमनदीजन्य विपद्को जोखिम बढिरहेको औँल्याएको छ ।

नेपालमा पनि यस वर्षको भोटेकोशी बाढीले जलवायुजन्य विपद्को जोखिम र हिमाली क्षेत्रमा भइरहेको पूर्वाधार विकासको ढाँचामाथि बहस निम्त्याएको छ । अगस्ट २६ मा उत्तरी सीमाक्षेत्रमा भएको उच्च हिमाली भूभागको घटना त्यसपछि भोटेकोशी हुँदै तल्लो तटीय क्षेत्रमा पुगेको बाढी तथा पहिरोको शृंखलासँग जोडिएको थियो । घटनाले सडक, पुल, बस्ती, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ ।

यसअघि मुस्ताङमै २०८० साल साउन २८ गते कागखोलामा आएको बाढीले पनि हिमाली बस्तीको जोखिम देखाएको थियो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीमा मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको थियो । प्रारम्भिक विवरणअनुसार २९ घर पूर्णरूपमा ध्वस्त भएका थिए भने १३ घरमा आंशिक क्षति पुगेको थियो ।

कागबेनीको उक्त बाढीले घरसँगै पुल, सडक, खेतीयोग्य जमिन तथा स्थानीयको जीविकोपार्जनमा समेत असर पारेको थियो। त्यसबेला भएको क्षतिको प्रारम्भिक अनुमान करिब एक अर्ब रुपैयाँबराबर रहेको विवरणसमेत सार्वजनिक भएको थियो ।

यस्ता घटनालाई पृष्ठभूमिमा राखेर घरपझोङ सम्मेलनमा जलवायु परिवर्तनको असरलाई स्थानीय तहको विकास र विपद् व्यवस्थापनसँग जोडेर छलफल गरिने घरपझोङ गाउँपालिका अध्यक्ष मोहासिंह लालचनले जानकारी दिए ।

देशभर पछिल्लो समय भइरहेका जलवायु परिवर्तनका घटना र विपद्लाई केन्द्रमा राखेर हुने छलफल स्थानीय तहको आगामी तयारीदेखि देशकै नीति निर्माणकै तहमा सहयोग पुग्ने गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझाले बताए ।

सम्मेलनको पहिलो दिन बिहान उद्घाटन समारोहमा प्रधानमन्त्रीको शुभकामना सन्देश पनि प्रस्तुत हुनेछ । दिउँसाे साढे १२ बजेदेखि प्राविधिक सत्र सुरु हुने छ ।

पहिलो सत्र ‘जलवायु परिवर्तनको परिदृश्य : नीति र अभ्यास’ विषयमा सहसचिव हरिप्रसाद शर्माले विश्वदेखि राष्ट्रिय सन्दर्भसम्मको अवस्थाबारे प्रस्तुति दिनेछन् । त्यसपछि प्रा. डा. विनोद दवाडीले नेपालमा जलवायु परिवर्तनको वर्तमान अवस्था, विशेषगरी गण्डकी प्रदेशमा केन्द्रित रहेर प्रस्तुति दिनेछन् ।

त्यस्तै गण्डकी प्रदेशको वातावरणको अवस्था, नेपालको राष्ट्रिय नीतिमा जलवायु परिवर्तन र भूमि सम्बन्ध तथा जलवायु परिवर्तनका अन्य नीतिगत पक्षमा प्रस्तुति हुनेछ ।

जलविद्युत् र पर्यटन विकासलाई दिगोपन तथा जलवायु उत्थानशीलतासँग कसरी सन्तुलन गर्ने, अन्नपूर्ण संरक्षण क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु वित्तको अवसर र चुनौती तथा स्थानीय सरकारको जलवायु कार्ययोजनालगायत विषय पनि छलफलको केन्द्रमा हुने छ ।

सम्मेलनको दोस्रो दिन वृक्षरोपणपछि ‘जलवायु परिवर्तन : वातावरणीय संकट कि चेतनाको संकट ?’ विषयमा प्रस्तुति तथा प्रश्नोत्तर हुनेछ । त्यसपछि ‘घरपझोङ घोषणापत्र’को मस्यौदा प्रस्तुत गरी सहभागीबाट सुझाव लिइनेछ ।

नेपाल जलवायु परिवर्तनको प्रभावका हिसाबले उच्च जोखिममा रहेको मुलुकमध्ये पर्छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदीको तीव्र पग्लाइ, हिमतालको जोखिम तथा चरम वर्षा र आकस्मिक बाढीको जोखिम बढ्दै गएको सन्दर्भमा स्थानीय तहले विकास योजना बनाउँदा जलवायु जोखिमलाई केन्द्रमा राख्नुपर्ने बहस पनि तीव्र भएको छ ।

पछिल्लो हिमालयसम्बन्धी अध्ययनले पनि हिमनदीको क्षय र उच्च हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति गम्भीर चेतावनी दिएको छ ।
भोटेकोशी र कागबेनीका घटना फरक प्रकृतिका भए पनि दुवैले हिमाली बस्ती, पूर्वाधार र पर्यटन क्षेत्रलाई आकस्मिक विपद्बाट हुने जोखिम देखाएका छन् । घरपझाेङ सम्मेलनमा यी विषय केन्द्रमा रहने अध्यक्ष लालचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?