+
+
Shares

रसुवा बाढी : अझै २१ हजार सुरक्षाकर्मी परिचालन, प्रहरीको ‘टीटुटी’ अपरेसन

प्रहरी–सशस्त्र राहत र व्यवस्थापनमा, सेना सुरुङमा

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली अहिले पनि निरन्तर फिल्डमा खटिएर काम गरिरहेका छन् । पहिला जति मात्रामा सुरक्षाकर्मी खटाइएको थियो, अहिले पनि त्यति नै सुरक्षाकर्मी खटाएर काम भइरहेको तीन वटै सुरक्षा निकायहरूले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी बाढी आएको २० दिनपछि पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका हजारौं सुरक्षाकर्मी खोज तथा उद्धारमा सक्रिय छन् ।
  • प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिसम्म बाढी प्रभावित आठ जिल्लामा १ हजार ३८६ शव फेला परेका छन् ।
  • पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी ३ हजार १३२ डीएनए नमुना संकलन गरिएको छ ।

२९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको २० दिन पुगेको छ । यो अवधिसम्म आइपुग्दा अहिले पनि पहिलाकै जति सुरक्षाकर्मीहरू खोज तथा उद्धारमा खटिइरहेका छन् ।

१० भदौ बिहान साढे ८ बजेतिर आएको भीषण बाढीपछि खोज तथा उद्धारमा परिचालन भएका जनशक्ति अहिले पनि सक्रिय रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली अहिले पनि निरन्तर फिल्डमा खटिएर काम गरिरहेका छन् ।

पहिला जति मात्रामा सुरक्षाकर्मी खटाइएको थियो, अहिले पनि त्यति नै सुरक्षाकर्मी खटाएर काम भइरहेको तीन वटै सुरक्षा निकायहरूले बताएका छन् ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ९०० भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई काम गरेका छन् ।

समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन एवं आपतकालीन उपचार कार्य अहिले सेनाले गरिरहेको छ ।

त्यस्तै, नेपाल प्रहरीबाट पनि ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन भएर काम गरेका छन् । बाढी प्रभावित क्षेत्रमा खोज उद्धार, राहत वितरण, शव व्यवस्थापन, होल्डिङ सेन्टर व्यवस्थापनमा प्रहरी टोली परिचालन भएका छन् ।

विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा मात्रै २ हजार ७१२ प्रहरी खटाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताए ।

होल्डिङमा सेन्टरमा रहेका बालबालिका, महिला तथा वृद्धवृद्धा र सुत्केरी, गर्भवती महिला लक्षित सुरक्षा व्यवस्था मिलाइएको छ । समुदाय प्रहरी परिचालन गरी मनोसामाजिक परामर्शमा कामहरू समेत गरिएको प्रहरीले बताएको छ ।

सशस्त्र प्रहरी बलबाट पनि ४ हजार २०३ जना परिचालन भएका छन् । सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीका अनुसार डिजास्टर म्यानेजमेन्टर तालिम प्राप्त दक्ष जनशक्ति ४९१ जना परिचालन भएका छन् ।

कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर) टिम ६९ जना, रोप रेस्क्यु ९३ जना, डिप ड्राइभ ३९ जना, हाई अल्टिच्युड रेस्क्युअर ८ जना, डेड बडी म्यानेजमेन्ट १४ जना, ड्रोनमा ५ जना, केनाइनमा ७ जना र मेडिकल टिम ४८ जना परिचालन भएका छन् ।

शव खोज्ने, व्यवस्थापनमा सहयोग गर्ने, भत्केका संरचनाहरूमा सर्च एन्ड रेस्क्यु गर्ने, कुकुर परिचालन गरेर खोजी गर्ने काममा सशस्त्र प्रहरी अहिले सक्रिय छ ।

सेना सुरुङमा

मुख्यगरी अहिले पनि सेनाकै कमान्डमा सुरुङमा खोज्ने काम भइरहेको छ । रसुवागढी जलविद्युत आयोजनामा कम्पोसाइट क्विक रियाक्सन टिम तथा विदेशीसहितको संयुक्त टोलीले काम गरिरहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए ।

त्यस्तै, लाङटाङ जलविद्युत आयोजनामा विदेशीसहितको टोलीले टनेलभित्र ड्रोनको सहयोगमा खोजी गर्दा केही फेला नपरेको बताएको छ ।

चिलिमे हाइड्रोमा विदेशीसहतिको संयुक्त टोलीबाट एक्साभेटर, लोडरको सहयोगमा टनेल भित्रका डेब्रिज हटाउने काम भइरहेको छ । अहिलेसम्म ८५ मिटरसम्म डेब्रिज हटाइएको छ । टनेल नजिक खोला वारिपारि गर्न तुइन जडानको काम पनि सँगै सुुरु गरिएको छ ।

माथिल्लो त्रिशूली–एमा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरूको सहयोगमा खोजी कार्य भइरहेको छ । त्रिशूली–थ्री एको पावर हाउस तथा टनेल इलाकामा संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ । त्रिशूली–थ्री बीमा नेपाली सेनासहितको टोलीमा ३ वटा एक्साभेटर र १ वटा ब्याकहोल लोडरको सहयोगमा उत्खननको काम भइरहेको छ ।

प्रहरीको ‘टीटुटी’ अपरेसन

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन भन्दै नेपाल प्रहरीले ‘टिमुरे टु त्रिवेणी’ (टीटुटी) अपरेसन सञ्चालन गरेको छ ।

प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउँदै व्यापक एवं व्यवस्थित खोजतलास अभियान चलाउन नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रद्वारा सम्बन्धित बाढी प्रभावित जिल्लाहरूमा पत्राचार गरिएको छ ।

टीटुटी अपरेसनमा खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन जस्ता विषयहरूलाई प्राथमिकता दिई काम भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

शव वा शरीरका अंग फेला परेको अवस्थामा आवश्यक मुचुल्का लगायतका कानुनी प्रक्रियाहरू पूरा गरी शवको उचित व्यवस्थापन गर्न, प्रभावित क्षेत्रहरूमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजातहरू फेला परेको अवस्थामा आवश्यक प्रक्रियाहरू पूरा गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्नेतर्फ समेत परिचालित हुन पत्राचार गरिएको छ ।

प्रहरी प्रवक्ता काफ्ले भन्छन्, ‘कठिन भौगोलिक अवस्थालाई मध्यनजर गरी खोजी कार्यलाई प्रभावकारी बनाउन ड्रोन एवं केनाइनको प्रयोगमा विशेष जोड दिइएको छ । प्रहरीले टीटुटी अपरेसन सञ्चालन गरी खोजी कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ ।’

१ हजार ३८६ शव फेला

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आइतबार रातिसम्म १ हजार ३८६ शव फेला परेका छन् ।

जसमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३९ जना र नवलपरासी प‍श्चिममा २२२ जना गरी १ हजार ३८६ शव फेला परेका हुन् ।

फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी १ हजार २३९ शव व्यवस्थापनका लागि जमिनमा गाडिएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कूल ३ हजार १३२ वटा डीएनए नमुना संकलन गरिएको छ ।

साथै, पहिचान नभएका १ हजार ३५४ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?