३० भदौ, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने तासुगाड खोलामा कजवे बगेको एक महिना पूरा भएको छ। साउन २९ गते आएको बाढीले कजवे र झोलुङ्गे पुल बगाएपछि भेरी करिडोरअन्तर्गतको यो खण्डमा आवतजावत जोखिमपूर्ण बनेको छ। सुरक्षित वारपारको व्यवस्था नहुँदा यात्रुहरू जोखिम मोलेर खोला तर्न बाध्य छन्।
कजवे बगेको एक महिनामै तासुगाड खोलाले दुईजनालाई बगाएर बेपत्ता बनाइसकेको छ। सोमबार मोटरसाइकलमा सवार बारेकोट गाउँपालिका–४ का रमेश सुनारलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले बताए। सुनारको खोजीकार्य जारी छ।
यसअघि नलगाड नगरपालिका–११ दम्काका ४६ वर्षीय रतनबहादुर दमाईलाई पनि सोही खोलाले बगाएर बेपत्ता बनाएको थियो। केही दिनअघि एक महिलालाई समेत खोलाले बगाउँदा स्थानीयले बीच खोलाबाट उद्धार गरेका थिए।
६ वर्षअघि नै पुलको ठेक्का
तासुगाडमा पुल नहुँदा वर्षायाममा सर्वसाधारणले जोखिम मोलेर खोला तर्नुपर्ने अवस्था अहिले मात्र सिर्जना भएको होइन। यहाँ स्थायी पुल निर्माणका लागि सम्बन्धित निकायले वर्षौंअघि नै ठेक्का लगाएको थियो।
भेरी करिडोर परियोजनाले २०७७ माघ २ गते तासुगाड सीमामा पर्ने माइदे खोला र तासुगाडतर्फका दुईवटा पुल निर्माणका लागि रायमाझी–काराभान जेभीसँग करिब १३ करोड ५४ लाख ३८ हजार ९ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। दुईवटा पुलको लम्बाइ एक सय–एक सय मिटर रहने गरी सम्झौता भएको थियो। निर्माण सम्पन्न गर्ने म्याद ३६ महिना तोकिएको थियो।
तर सम्झौताको म्याद सकिएको लामो समय बितिसक्दा पनि तासुगाडमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन। पुल बन्न नसक्दा वर्षायाममा खोला पार गर्न स्थानीय र यात्रुले अस्थायी संरचनामै निर्भर हुनुपरेको छ।
कजवे र झोलुङ्गे पुल पनि बाढीले लग्यो
गत साउन २९ गते आएको बाढीले तासुगाड खोलामा यात्रुहरूका लागि प्रयोग हुँदै आएको कजवे र झोलुङ्गे पुलसमेत बगायो। त्यसपछि खोलामा पानीको बहाव बढेका बेला वारपार गर्न झनै कठिन भएको छ।
कजवे बगेपछि पैदल यात्रु, मोटरसाइकल तथा अन्य सवारीसाधनले जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था छ। सामान्य अवस्थामा पनि पानीको बहाव बढ्नेबित्तिकै आवतजावत प्रभावित हुने गरेको स्थानीय बताउँछन्।
पुल नबन्दा दुर्घटनाको जोखिम
भेरी करिडोरअन्तर्गत पर्ने तासुगाड सडकखण्ड जाजरकोट, रुकुम पश्चिम हुँदै डोल्पातर्फ आवतजावत गर्ने महत्वपूर्ण मार्ग हो। दैनिक ठूलो संख्यामा यात्रु तथा सवारीसाधन आवतजावत गर्ने भए पनि खोलामा स्थायी पुल नहुँदा वर्षायाममा यात्रा जोखिमपूर्ण बन्दै आएको छ।
एकातिर पुल निर्माणका लागि वर्षौंअघि नै ठेक्का लागिसकेको छ भने अर्कोतर्फ अस्थायी रूपमा बनाइएको कजवे पनि बाढीले बगाएको छ। परिणामतः यात्रुहरूका लागि सुरक्षित वारपारको विकल्प छैन।
तासुगाडमा पछिल्लो समय भएका घटनाले पनि पुल निर्माणमा भएको ढिलाइको मानवीय मूल्य देखाएको छ। कजवे बगेको एक महिनामै दुईजना बेपत्ता भएका छन् भने एक महिलालाई स्थानीयले उद्धार गरेका छन्।
स्थानीयले अब अस्थायी संरचना बनाएर मात्र समस्या समाधान नहुने भन्दै ठेक्का लागेको पुल निर्माण तत्काल सुरु गर्नुपर्ने माग गरेका छन्। वर्षायाममा हरेकपटक जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अन्त्य गर्न सम्बन्धित निकायले ठेकेदारलाई जिम्मेवार बनाउँदै निर्माण अघि बढाउनुपर्ने उनीहरूको भनाइ छ। नलगाड ११ का धनिराम ठकुरीले कति जना मानिसको मृत्यु पछि पुल बन्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
प्रतिक्रिया 4