News Summary
Generated by OK AI. Editorially reviewed.- लेखले गुट्खा, खैनी र सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यसँगै धर्ती र सार्वजनिक सरसफाइमा असर गर्ने विषय उठाएको छ।
- लेखमा २०१९ को स्टेप्स सर्भे र २०२५ को अनुसन्धान उद्धृत गर्दै नेपालमा धुवाँरहित सुर्ती सेवन १८.३ प्रतिशत र यसको बजार १ खर्ब माथिको रहेको बताइएको छ।
सहचालकले छेउको पसलबाट गुट्खाको एउटा माला किने । मालाबाट एक प्याकेट च्यातेर आकाश तिर टाउको उचालेर सिङ्गै प्याकेटको एक फाँको मुखमा हाले । ओठ गोलो पारेर फु… गर्दै सेतो धुलो हावामा उडाए । प्याकेट भुइँमा छोडिदिए । बाकी माला यात्राभरका लागि ’गुरुजी’ लाई दिए । गाडी हिड्यो । दिनहुँ सयौं गाडी छुट्ने यो स्टेसनको भुइँभरी गुट्खाको खोस्टा बिस्कुन सुखाएझैँ छन् । यो दृश्य घोराही उपमहानगरपालिकाको केन्द्रभाग अर्थात तुल्सीपुर चोकको हो ।
प्रतिप्याकेट गुट्खाको किमत हो : पाँच रुप्पे । यो त केवल मौद्रिक मूल्य हो । तर यसको वास्तविक मूल्य ?
रसुवा, धादिङ र नुवाकोटमा परेको महाविपत्ति पछि जलवायु सङ्कटको प्रसङ्गमा अहिले ’नखाको विष’ को चर्चा व्यापक छ । वार्षिक औषत प्रतिव्यक्ति कार्बन उत्सर्जन ०.५ भएको नेपाल विश्वको औषत प्रतिव्यक्ति कार्बन उत्सर्जन भन्दा ९ गुणा कम कार्बन उत्सर्जन गर्छ । अन्य विकसित र औद्योगिक देशको तुलनामा त पचासौं, सयौं गुणा कम । तर कार्बन उत्सर्जनले निम्त्याउने प्रकोपको सामना गर्नेमा हामी अग्रपंक्तिमा छौँ ।
हामीलाई नखाको विष लागेको सत्य हो । अब न्याय र क्षतिपूर्तिको लडाइँ लड्ने नै हो । तर पर्यावरणीय न्यायका लागि लड्ने नैतिक शक्तिमा हामी कति बलियो छौँ ? ’नखाको विष’ को चर्चा गरिरहँदा हाम्रा व्यवहार अरू कसैका लागि नखाको विष बनेको छ कि छैन त्यो त हामी ध्यान नै दिदैनौँ ।
यहाँनेर हामीलाई असहज लाग्ने एउटा प्रश्न तेर्सिन्छ– हाम्रो कार्बन उत्सर्जन के कति कारणले यति न्यून छ ? हाम्रो पर्यावरणीय सजगता धेरै भएर हो ? पिँधमा रहने उल्पीडित समुदायप्रति निक्कै संवेदनशील भएर न्यून उपभोग गरेका कारण कार्बन उत्सर्जन यति न्यून हो ?
अवश्य हैन ।
हाम्रो न्यून क्रय शक्ति र आर्थिक हैसियत निम्छरो भएर हो । नेपालमा उच्च आर्थिक हैसियत भएका १ प्रतिशत जनसंख्याको प्रतिव्यक्ति कार्बन उत्सर्जन कति होला ? अवश्य पनि औषत नेपालीको तुलनामा पचासौं/सयौं गुणा बढी छ । हाम्रो क्रयशक्ति अमेरिका, युरोप वा अन्य विकसित र वैभवशाली देशको बराबर भएको भए हाम्रो कार्बन उत्सर्जन पनि त्यही अनुपातमा हुन्थ्यो ।
अब लागौं मुल प्रसङ्ग तर्फ ।
सुर्ती, गुट्खा, खैनी लगायतका वस्तु दुई हिसाबले घटिया पदार्थ हुन् । एउटा मानव स्वास्थ्य, अर्को धर्तीको स्वास्थ्य । मान्छेको निजी रोजाइको कुरो भएकोले निजी स्वास्थ्यको कुरालाई एकछिन थाती राखौं । उपभोक्तालाई खाएकै विष लाग्ने हो नखाको विष लाग्ने त प्रकृतिलाई हो ।
सन् २०१९ मा विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य मन्त्रालयको सहकार्यमा नसर्ने रोगसम्बन्धी गरेको ’स्टेप्स सर्भे’ अनुसार १५ देखि ६९ वर्षका वयस्कमा धुवाँरहित सुर्ती सेवनको गर्नेको सङ्ख्या १८.३ प्रतिशत थियो । जसमा पुरुषको अनुपात ३३ प्रतिशत भन्दा बढी थियो ।
२०२५ मा सिक्सडब्लु रिसर्चमा प्रकाशन भएको भारतीय अध्येता बसुधा केको एक अनुसन्धानअनुसार नेपालमा धुरारहित सुर्तीको अर्थतन्त्र ७६ करोड ५० लाख अमेरिकन डलर देखाएको छ । यस हिसाबले अहिले नेपालमा गुट्खा, खैनी, सुर्ती लगायतको बजारको आकार १ खर्ब माथिको छ ।
गुट्खा, खैनी सेवन र यसले निम्त्याउने समस्या समस्या कति बिकराल छ भन्ने कुरा यी दुई तथ्यांकबाटै आँकलन गर्न सकिन्छ । एक खर्ब मौद्रिकअर्थतन्त्र भएको गुट्खा उद्योगको वास्तविक अर्थतन्त्र (स्वास्थ्यगत, सामाजिक, पारिवारिक, वातावरणीय र सार्वजनिक सरसफाइ) को अर्थतन्त्र मौद्रिक मूल्यमा नाप्न गाह्रो छ ।
बाटोघाटो, अड्डाअदालत, पार्क, प्रतीक्षालय, चौर खेलमैदान, बसपार्क पोखरी तलाउ यत्रतत्र गुट्खाको खोस्टा नभएको कतै भेटिन्न । अझ गुट्खाको थुकले राताम्य भएका सार्वजनिक समपत्तिका भित्ताको त के कुरा !
वर्षातको पहिलो झरी पछि घोराही बजारको दक्षिणमा धारापानी रोडतर्फ टहलिन जाँदा बाटो किनारको कुलोभरी गुट्खाका खोस्टा तैरिरहेको भेटिए । कुलो हुँदै सिनित्तै खेतभर विस्कुन सुकाए झैँ फैलिए । स्थानीय भन्छन् कुलोको पानी छुन पनि घिन लाग्छ।
छरपस्ट फ्याँकिने यी प्याकेट समय क्रमसँगै सूक्ष्म प्लास्टिकमा रुपान्तरण हुन्छन् र माटो, पानी तथा हावाको माध्यमबाट मानव शरीरमा प्रवेश गर्छन् ।
गुट्खा आफैंमा केही ग्रामको उत्पादन हो । खान केही मिनेट पनि लाग्दैन तर त्यसको प्याकेजको आयु त्यति छोटो हुँदैन । प्लास्टिकहरूमा पनि धेरै किसिमका प्लास्टिक र रसायनको मिश्रण हुने हुँदा मल्टिलियर प्लास्टिकलाई रिसाइकल गर्न निक्कै कठिन हुन्छ । आकारमा सानो हुने हुँदा पनि यसलाई रिसाइकल गर्ने प्रयास कसैले गर्दैन ।
एउटा प्याकेटले के फरक पर्छ र ? मैले त एउटा मात्र फ्याँकेको हुँ, एउटा प्याकेटले नदि वा माटो प्रदूषण हुन्छ र ? सानो प्लास्टिक हो के नै हुन्छ र ? तपाइँ हामीलाई पनि यस्तै लाग्दा । सबैले वर्षौसम्म यस्तै भन्दा गर्दा समस्या भयावह बन्ने अवस्था छ ।
यसको समाधान सरकारले नखोजेको होइन । २०८०/८१ को बजेट भाषणमा यस्ता सुर्तीजन्य पदार्थ जैविक रूपमा सड्ने प्याकेटमा मात्र प्याकेजिङ गर्नुपर्ने घोषणा भएको थियो । अन्तशुल्क नियमावली २०५९ संशोधन गरी यस्ता गुट्खा, सुर्ती खैनी पानसमसला लगायताका पदार्थ बायोडिग्रेडेबल प्याकेजिङमा मात्र प्याकेजिङ गर्नुपर्ने प्रावधान राखियो । तर परिणाममा त्यस्तो केही भएन ।
यस्तै अर्को पहल गर्दै काठमाडौं महानागरपालिकाको स्वास्थ्य विभागले २०८० साल मंसिर १२ गते सुचना निकाली महानगर क्षेत्रभित्र सुर्ती, गुट्खा, खैनी, पान मसला लगायतका प्लास्टिक प्याकेजिङमा प्याकेजिङ गरिने पदार्थहरू बिक्रीवितरण गर्न नपाइने भनी १५ दिने सुचना निकालेको थियो ।
यसको कारणमा जनस्वास्थ्य र फोहोरमैला, शहरी सौन्दर्य, ढल जाम हुने समस्या देखाइएको थियो । तर यसको विरुद्ध टोबाको उत्पादक कम्पनीले दिएको निवेदनमा उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने काठमाडौं महानगरपालिकालको निर्णय कार्यान्वयन नगर्न आदेश दियो ।
गुट्खाजन्य पदार्थको उत्पादन आयात र उपभोग बढेकोबढ्यै छ । यस्ता पदार्थमा सरकारले उच्च दरमा अन्तशुक लगाउँछ । पछिल्ला ५ वर्षमा अन्तशुल्कको योगदान कुल राजस्वमा १३.७ प्रतिशतबाट बढेर १४.८ प्रतिशत पुगेको छ । उच्च दरमा सहजै राजस्व प्राप्त हुने हुँदा सरकार पनि यस्ता उद्योगलाई चिढ्याउँन चाहँदैन । तर यसको असर आम जनताले, सार्वजनिक सौन्दर्यले, प्रकृतिले, पशु, पंक्षीले, नदीनाला र तालतलैयाले जुगौँजुगसम्म चुकाइरहनुपर्छ ।
यही राजस्वको आकर्षणले सरकारलाई सुर्तीजन्य उद्योगलाई कडाइपूर्वक नियमन गर्न समस्या त बनाएको त छैन ?
अब के गर्ने । पर्यावरणीय न्यायका लागि ठुला–ठुला लडाइँ लड्नुछ । तर त्यस्तो लडाइँ लड्न हामीले हाम्रो नैतिक अख्तियारी पनि बलियो बनाउनु छ । आफ्नो वर्खतले भ्याए सम्मका सबै वातावरणीय अनुकुलताका अभ्यास गर्नुपर्नेछ ।
आम जनताको हित, प्रकृति, पर्यावरण, हावा पानी माटो नदिनाला, सार्वजनिक स्थल सबै स्वास्थ्यका लागि बनाइएको कानुन नै हामी कार्यान्वयन गर्दैनौं भने वातावरणीय न्यायका लागि लड्ने नैतिक बल कसरी जुटाउन सकौँला ? कम्तीमा कानुनमै स्पष्ट रूपमा लेखिएको कुरा कार्यान्वयन गर्न, गराउन सकेको पहल गरौँ ।
वातावरण विज्ञानका अध्येता उत्तमबाबु श्रेष्ठको यो भनाइ एक पल्ट गम्भीर भएर सोचौं ।
‘बढी कार्बन उत्सर्जन गर्ने धनी राष्ट्रहरूले कम कार्बन उत्सर्जन गर्ने गरिब राष्ट्रहरूलाई जलवायुजन्य विपद्को मारमा पारिदिए भनेर विश्व रङ्गमञ्चमा जलवायु न्यायको आवाज उठाउँदै गर्दा, बढी फोहोर उत्पादन गर्ने धनी काठमाडौँले सिसडोलका गरिब मानिसहरूमाथि गरेको वातावरणीय अन्याय पनि नबिर्सौँ । सैद्धान्तिक रूपमा यी दुवै कुरा एउटै हुन् ।’
एक फाँको गुट्खाको किमत त्यसको प्याकेटमा लेखिएको मूल्य मात्र होइन । उपभोक्ताको पैसाको नास हो, स्वास्थ्य जोखिम हो, पारिवारिक बोझ हो, उन्नत जीवनस्तरका लागि गुमेको अवसर लागत हो, सार्वजनिक सरसफाइको लागत हो, र सबैभन्दा बढी प्रकृतिमाथिको जघन्य अपराध हो ।
(विपिन आचार्य घोराही दाङमा रहेर ठोस फोहोरमैला व्यस्थापनसम्बन्धी सामाजिक उद्यममा संलग्न छन्)
प्रतिक्रिया 4