News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म नेपाललाई दैनिक १८ घण्टा ६५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ ।
- मुजफ्फरपुर–ढल्केबर ४०० केभी डीसी लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी एससी लाइनमार्फत ५४ मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।
- नेपालमा बाढीपहिरोले जलविद्युत् संरचनामा क्षति पुगी उत्पादन घटेपछि भारतले राति १२ बजेदेखि बेलुकी ६ बजेसम्म निर्यात अनुमति दिएको हो ।
३० भदौ, काठमाडौं । भारतले नेपालमा दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ । भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो ।
भारतको विद्युत् मन्त्रालयको सूचनाअनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डीसी लाइनमार्फत ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी एससी लाइनमार्फत ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ । यसअनुसार नेपालले भारतबाट कुल ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउनेछ ।
भारतले दैनिक राति १२ बजेदेखि बेलुकाको ६ बजेसम्म १८ घण्टाका लागि विद्युत् निर्यातको स्वीकृति दिएको हो । सन् २०२७ को जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिमाणबारे भने डिसेम्बर २०२६ मा पुनरावलोकन गरिने भारतको विद्युत् मन्त्रालयले जनाएको छ ।
हालै नेपालमा आएको बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् उत्पादनमा कमी आएको छ । त्यसले नेपालमा आन्तरिक विद्युत् माग व्यवस्थापनका लागि थप विद्युत् आवश्यक पर्ने अवस्था सिर्जना भएको छ ।
भारतको विद्युत् मन्त्रालयले बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा भएको क्षति र त्यसबाट स्वदेशी विद्युत उत्पादनमा परेको प्रभावलाई ध्यानमा राखेर निर्यातको स्वीकृति दिइएको जनाएको छ ।
भारतले दिएको यो स्वीकृतिले बाढी प्रभावित अवधिमा नेपालको विद्युत् माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, दुई देशबीचको ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने भारतको भनाइ छ ।
प्रतिक्रिया 4