३० भदौ, काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त १२ वटा झोलुंगे पुलको मर्मत कार्य सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार क्षति भएकामध्ये १२ वटा झोलुंगे पुलहरूको मर्मत कार्य सुरु भइसकेको छ ।
मर्मत सुरु भएकामा धादिङको कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौँदी खोला, शीतलबजार–क्युरेनीटार र बेल्खु–भुतिया झोलुंगे पुल छन् ।
यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको ।
यी पुलहरू असोज २० गतेभित्र सञ्चालनमा आउनेगरी मर्मत कार्य तीव्र रूपमा भइरहेको प्रधानमन्त्री कार्यालयले बतायो ।
यस्तै, बाढीबाट प्रभावित थप ८ वटा झोलुङ्गे पुलहरूको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढेको छ । ‘मर्मतमा आवश्यक डेकलगायत सामग्री खरिदका लागि विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भई पहिलो चरणको सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढाइएको छ,’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।
यस्तै, मर्मत नै हुननसक्ने गरी क्षति भएका ३३ वटा झोलुङ्गे पुलको भने पुनर्निर्माणका लागि भदौ १७ गते बोलपत्र आह्वान भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4