+
+
Shares

तिघ्राको बीचमा च्यापिएको बच्चाको शव, जसले डा. सिर्जनालाई विह्वल बनायो

डा. सिर्जना कुँवरका अगाडि दुई शव थिए, एउटा करिब १० महिनाको शिशुको र अर्को महिलाको । महिलाको कम्मरमाथिको भाग थिएन । तर उनको दुई तिघ्राबीच शिशुको शव च्यापिएको थियो ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ भदौ ३० गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीपछि नवलपुरमा शव पहिचानका क्रममा डा. सिर्जना कुँवरले एउटी महिलाको कम्मरमाथिको भाग नभएको शवसँग १० महिनाको शिशुको शव एउटै ब्यागमा भेटिएको दृश्य देखिन् ।
  • मध्यबिन्दु प्रादेशिक अस्पतालमा चार दिन बसेर उनले १०७ वटा शव र शरीरका अवशेषको पहिचानका लागि नमुना, विवरण र प्रमाण संकलन गरिन् ।
  • डा. कुँवरले खुला विपद्मा शवसँग काम गर्ने स्वास्थ्यकर्मीलाई शारीरिकसँगै मनोसामाजिक र मानसिक स्वास्थ्य सहयोग आवश्यक पर्ने बताइन् ।

३० भदौ, काठमाडौं । पाटन अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. सिर्जना कुँवरका लागि शव र शरीरका अवशेषमा काम गर्नु नयाँ थिएन । फोरेन्सिक चिकित्सकका रूपमा उनले यस्ता धेरै काम गरिसकेकी थिइन् ।

तर, रसुवा बाढीपछि शव पहिचानका लागि नवलपुर पुग्दा उनले यस्तो दृश्य देखिन्, जसले उनको मथिङ्गल नै हल्लाइदियो ।

सिर्जनाका अगाडि दुई वटा शव थिए, एउटा करिब १० महिनाको शिशुको र अर्को महिलाको । महिलाको कम्मरमाथिको भाग थिएन । तर उनको दुई तिघ्राबीच शिशुको शव च्यापिएको थियो ।

एकै ठाउँमा भेटिएका दुवै शव प्रहरीले एउटै ब्यागमा राखेर ल्याएको थियो । त्यो दिन उनले देखेका शव एक चिकित्सकको आँखाले मात्रै हेर्न सकेनन् । किनकि, उनी स्वयं आमा हुन् ।

त्यसैले उनको मनमा एउटा प्रश्न उठ्यो– ती आमाले अन्तिम क्षणमा आफ्नो बच्चालाई बचाउन खोजेकी पो थिइन् कि ?

‘बाढीको भेलमा आमाले आफ्नो बच्चालाई बचाउन खोजेको जस्तो देखियो,’ त्यो दिनको घटना सम्झिँदै सिर्जनाले भनिन्, ‘त्यो दृश्यले मेरो मथिङ्गल नै हल्लाइदियो । आँखाबाट बरबर आँसु झरे ।’

सायद भेलले सबै कुरा बगाउँदै गर्दा ती आमाले आफ्नो बच्चालाई छातीमा च्यापेर बचाउन खोजेकी थिइन् । त्यसैले अन्तिम क्षणसम्म बच्चालाई छोडिनन् ।

तर, डा. कुँवरलाई थाहा छ– यो अनुमान मात्रै हो । ‘त्यो मेरो आमाको मनले सोचेको कुरा मात्रै हो,’ उनी भन्छिन् ।

मध्यबिन्दु प्रादेशिक अस्पतालमा चार दिन बसेर उनले १०७ वटा केस हेरिन् । बिहानदेखि राति ९ बजेसम्म शव र शरीरका छुट्टाछुट्टै अवशेषबीच काम गरिन् ।

एउटा शवको पहिचानका लागि अर्को शवसँग मिलाउने, शरीरका टुक्रा र अवशेष छुट्याउने, नमुना संकलन गर्ने र विवरण टिपोर्ट गर्ने । उनका चार दिन यसैगरी बिते ।

१०७ वटा केसबीच पनि त्यो एउटा दृश्य भने उनको आँखाबाट हटेन । त्यो दृश्यलाई उनले फोरेन्सिक चिकित्सकका रूपमा होइन, एउटी आमाको आँखाले देखेकी थिइन् ।

काम सकेर राति आराम गर्न पुग्दा पनि आँखा अगाडि त्यही दृश्य आउँथ्यो । मोबाइल खोल्दा बाढीका तस्वीर देखिन्थे । समाचार हेर्दा मृत्युका खबर आउँथे । आँखा चिम्लिँदा फेरि उही बच्चा देखिन्थ्यो ।

दिमागले त्यो दृश्य बिर्सन खोज्थ्यो, तर दृश्यले उनलाई छाड्दैनथ्यो ।

अन्ततः उनले केही समय मोबाइल नचलाउने निर्णय गरिन् ।

‘मेरो जिम्मेवारी पूरा गर्छु, बाँकी केही हेर्दिनँ,’ उनले आफैंलाई सम्झाइन्।

तर शरीर थाके पनि मन कहाँ थाक्थ्यो र !

सुत्न कठिन हुन थाल्यो । अन्ततः मनलाई केही शान्त पार्न उनले राति भजन सुन्न थालिन् ।

सिर्जना त्यति धेरै धार्मिक आस्था राख्दिनन् । तर त्यो बेला भजन उनको मनलाई थाम्ने एउटा सानो सहारा बन्यो । कम्तीमा तीन–चार घण्टा सुत्न सक्ने अवस्था भयो । बिहान उठ्थिन् र फेरि उही काममा फर्किन्थिन् ।

काम सकियो । १८ भदौमा उनी नवलपुरबाट फर्किइन् । तर त्यो बच्चाको दृश्य उनको मनमा रहिरह्यो ।

बाढी आएको करिब दुई साता बितिसक्दा पनि कहिलेकाहीँ त्यो दृश्य उनको आँखाअगाडि आइरहन्छ ।

‘त्यो सानो शव देख्दा मातृत्व भाव जाग्यो,’ यति भन्दाभन्दै उनले आँसु रोक्न सकिनन्, ‘अहिले पनि त्यही दृश्य आँखा अगाडि आइरहन्छ। मनमा खल्लो महसुस हुन्छ ।’

फोरेन्सिक चिकित्सकका लागि मृत्यु नौलो विषय होइन । अस्पतालको मर्चरीमा दैनिकजसो शव देखिन्छन् । डा. सिर्जना कुँवरले ८ हजारभन्दा बढी शवको पोस्टमार्टम गरिसकेकी छिन् । दुर्घटना, हत्या र शंकास्पद मृत्युका शवसँग काम गर्नु उनको पेसाकै हिस्सा हो ।

भूकम्पका बेला पनि उनले शवसँग काम गरेकी थिइन् । तर त्यहाँ विशेषज्ञहरूको ठूलो टोली थियो । काम बाँडिएको थियो ।

यस पटक अवस्था फरक थियो । खुला ठाउँमा, सीमित स्रोतसाधन र जनशक्तिका बीच काम गर्नुपरेको थियो ।

‘आफ्नो कार्यस्थलमा गर्नु र खुला ठाउँमा गर्नु विल्कुलै फरक हुँदो रहेछ,’ उनी भन्छिन्, ‘पहिल्यै मानसिक रूपमा तयार भएर गएको थिएँ । अस्पताल जस्तो पूर्वाधार नहुन सक्छ, पर्याप्त सामग्री नहुन सक्छ । जे छ, त्यसमै काम गर्नुपर्छ भन्ने मानसिकता बनाएर गएकी थिएँ ।’

विपद्ले सयौं शरीरसँगै पहिचान पनि बगाइदिएको थियो । कसैको खुट्टा मात्रै थियो। कसैको हात । कतै शरीरको कुनै भाग भेटिन्थ्यो, कतै मासुको टुक्रा मात्रै ।

ती अवशेष अब कसैका बाबु, आमा, छोरा वा छोरी हुन सक्छन् भन्ने अनुमान गर्नुपर्ने थियो । तर प्रमाणबिना कसैलाई कसैको नाम दिन सकिँदैनथ्यो।

‘विपद् भनेकै क्षमता, जनशक्ति र उपलब्ध स्रोतसाधनले धान्न नसक्ने अवस्था हो,’ डा. सिर्जना भन्छिन्, ‘त्यसमाथि यो खुला विपद् थियो । कति शव आउँछन्, कति मानिस हराइरहेका छन् भन्ने नै निश्चित थिएन ।’

शव राख्ने ठाउँ पनि थिएन

नवलपुर पुगेपछि उनले सबैभन्दा पहिले सामना गर्नुपरेको समस्या थियो– शव कहाँ राख्ने ?

पर्याप्त ठाउँ थिएन । शव राख्ने फ्रिज थिएन। क्षमता नपुगेपछि एउटा गोदाम जस्तो ठाउँमा एसी जडान गरेर शव व्यवस्थापन गरिएको थियो । पहिचानका लागि दुई वटा टोली बनाएर काम सुरु भयो ।

शवसँग भेटिएका विवरण संकलन गर्नेदेखि डीएनएका लागि नमुना लिने कामसम्म चल्यो ।

शवहरू सग्ला थिएनन् । शरीर नै पूरा नभएपछि पहिचानको आधार के हुने ?

डा. सिर्जनाको टोलीले सानोभन्दा सानो संकेतसमेत खोज्न थाल्यो । कसैको सुनको दाँत भेटिन्थ्यो । कसैको शरीरमा ट्याटु थियो । कतिपयको कानमा टप थिए, औँलामा औँठी ।

प्रहरीले औँठाछाप लिने काम गरे । चिकित्सकहरूले शरीरमा देखिएका विशेष विवरण टिपोट गरे । सम्भव भएसम्म डीएनएका लागि नमुना संकलन गरे ।

‘कुनै शवमा खुट्टा मात्रै थियो,’ डा. कुँवर भन्छिन्, ‘त्यस्तो अवस्थामा लामो हड्डीको करिब पाँचदेखि ८ सेन्टिमिटर भाग लियौँ । त्यसको बोनम्यारोबाट डीएनए निकाल्न सकिन्छ ।’

कसैको भने बंगाराबाट नमुना लिइयो । कसैको नङसमेत संकलन गरियो ।

शरीरको जति भाग भेटिएको थियो, त्यही भित्रबाट पहिचानका सम्भावित प्रमाण खोज्नु थियो ।

चार दिनमा डा. सिर्जना र उनको टोलीले १०७ वटा शव पहिचानका लागि प्रमाण संकलन गरे ।

‘शवसँग काम गर्नेहरूको मन पनि थाक्छ’

फोरेन्सिक चिकित्सकको काम मृत शरीरभित्र लुकेका तथ्य खोज्नु हो । तर अस्पतालको मर्चरीमा शवसँग काम गर्नु र खुला विपद् क्षेत्रमा शवका अवशेषसँग काम गर्नु विल्कुलै फरक रहेछ ।

खुला क्षेत्र । सीमित स्रोतसाधन । आफैं पनि भिज्नुपर्ने । काम रोक्न नहुने । जनशक्ति व्यवस्थापन गर्नुपर्ने । प्रमाणको ‘चेन अफ कमान्ड’ पनि जोगाइराख्नुपर्ने ।

शारीरिक रूपमा मात्रै होइन, मानसिक रूपमा पनि त्यो कामले मानिसलाई थकाउँदै लग्थ्यो ।

‘प्रत्येक शवका आफ्नै कथा थिए । बालबालिकाका शवका दृश्यहरू देखिँदै गएपछि झन् भावुक भएँ,’ उनी भन्छिन् ।

विपद् भएको करिब दुई साता बितिसक्दा पनि केही दृश्य अझै उनको आँखा अगाडि आइरहेका छन् । अहिले मानसिक तनाव पहिलेभन्दा कम भएको छ । तर पूर्ण रूपमा हटिसकेको छैन ।

‘१२ घण्टा काम गर्न सक्छु । शारीरिक थकान सुतिसकेपछि कम होला । तर मानसिक थकान भने मनमा बसिरहँदोरहेछ,’ उनी भावुक हुँदै भन्छिन् ।

विपद्का बेला प्रायः घाइतेको उपचार, उद्धार, औषधि र अस्पतालको चर्चा हुन्छ । तर ती घाइतेको उपचार गर्ने, शव उठाउने, पहिचान गर्ने र शरीरका अवशेषसँग घण्टौँ काम गर्ने मानिसहरूको मानसिक अवस्थाबारे भने कमै चर्चा हुन्छ ।

डा. सिर्जनाका अनुसार फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्य सहयोग आवश्यक हुन्छ ।

‘हरेक व्यक्तिले तनावलाई फरक ढंगले लिन्छ,’ उनी भन्छिन्, ‘कसैले सजिलै सामना गर्नसक्छ । कसैलाई त्यही घटनाले धेरै गहिरो असर गर्न सक्छ ।’

त्यसैले विपद्‌मा काम गर्ने मानिसलाई शारीरिक सुरक्षा सामग्री मात्रै दिएर पुग्दैन । मनमा बसेका दृश्यसँग कसरी सामना गर्ने भन्ने क्षमता पनि आवश्यक हुन्छ ।

किनकि, कहिलेकाहीँ शरीर काम सकेर घर फर्किसकेको हुन्छ । तर मन अझै घटनास्थलमै अड्किरहेको हुन्छ ।

डा. सिर्जना कुँवरको मनबाट पनि केही दृश्य अझै हटेको छैन– महिला र बच्चाको दृश्य ।

तस्वीर र भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?