News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनमा १६९ पदका लागि २१ किसिमको मतपत्र प्रयोग गरिने भएको छ ।
- केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले १९ असोजमा मतदान हुने र राष्ट्रिय सभा गृह तथा प्रज्ञा प्रतिष्ठान बुक गरिएको बताए ।
- करिब ७ हजार महाधिवेशन प्रतिनिधिका लागि मतदान एकै ठाउँमा वा दुई ठाउँमा गर्नेबारे पछि विस्तृत छलफल हुने कटुवालले बताए ।
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनमा २१ किसिमको मतपत्र प्रयोगमा ल्याउने भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर केन्द्रीय कार्यसमिति चयनका लागि २१ किसिमको मतपत्र प्रयोग गरिने जानकारी दिए ।
‘केन्द्रीय महाधिवेशनको तयारी पूरा भएको छ । १६९ पदका लागि जुन निर्वाचन हुन्छ । त्यो निर्वाचनका लागि हामीले २१ किसिमको मतपत्र हुन्छ,’ समितिका सदस्य सचिव राजु कटुवालले भने, ‘किन भने विभिन्न किसिमका क्लस्टर छन् । सबै क्षेत्रलाई समेटेर हामीले २१ किसिमको मतपत्रको व्यवस्था गरेको अवस्थासम्म हामी पुगिसकेका छौं ।’
उनले १६ असोजदेखि सुरू हुने केन्द्रीय महाधिवेशनअन्तर्गत १९ असोजमा मतदान गर्ने कार्यतालिका रहेको पनि जानकारी दिए । ‘१९ गतेका दिन मतदान हुन्छ,’ कटुवालले भने ।
सदस्य सचिव कटुवालले मतदानका लागि राष्ट्रिय सभा गृह र प्रज्ञा प्रतिष्ठान बुक गरिएको पनि जानकारी दिए । तर, कहाँ मतदान गर्ने भन्नेबारेमा अझै निश्चित भने भइनसकेको उनको भनाइ थियो ।
‘करिव सात हजार महाधिवेशन प्रतिनिधि रहेकाले कसरी सहजता हुन्छ भन्ने गृहकार्य गरेर सम्भव भए एकै ठाउँमा, सम्भव नभए दुई ठाउँमा गर्नुपर्ने अवस्था पनि आउन सक्छ,’ कटुवालले भने, ‘यसबारे हामी पछि विस्तृत छलफल गर्छौं ।’
प्रतिक्रिया 4