+
+
Shares

बाढी प्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १९:४२

३१ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा. भोला थापाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।

विश्वविद्यालयका अनुसार पदाधिकारी तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो ।

उपकुलपति, रेक्टर र रजिस्ट्रारले एक महिनाको तलब तथा प्राध्यापक र प्रशासनतर्फका सोसरहका कर्मचारीले मासिक सुरु तलब स्केलको १० दिनबराबरको रकम योगदान गरेका छन् ।

यस्तै, उपप्राध्यापक तथा उपप्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहका शिक्षक–कर्मचारीबाट सात दिनबराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिनबराबर र श्रेणीविहीन कर्मचारीबाट दुई दिनबराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिएको विश्वविद्यालयले जनाएको छ ।

कुलपति थापाका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो ।

विश्वविद्यालय कार्यकारी परिषद्को हालै बसेको बैठकले विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?