News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वी नेपालको तिम्बुङ पोखरी ४ हजार ३ सय ५० मिटर उचाइको धार्मिक र प्राकृतिक पदयात्रा गन्तव्य बनेको छ ।
- असारदेखि सुरु भएको पर्यटकको चहलपहल पदमार्ग, होमस्टे र सञ्चार सुविधाको विस्तारसँगै अझै बढिरहेको छ ।
- तिम्बुङ क्षेत्रका चौँरी गोठ र होमस्टेमा पर्यटक बस्न थालेपछि स्थानीयलाई आम्दानीको अवसर बढेको छ ।
१ असोज, पाँचथर । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी पूर्वको एउटा आकर्षक पदयात्रा गन्तव्यका रूपमा स्थापित भएको छ ।
असार लागेसँगै सुरु भएको पर्यटकको चहलपहल अझै रोकिएको छैन । कोही उकालो चढिरहेका छन्, कोही पोखरीको दर्शन सकेर फर्किरहेका छन् । बाटोभरि भेटिने यात्रुको लर्कोले तिम्बुङको पदमार्गलाई जीवन्त बनाएको छ ।
गाडीबाट कालीखोलासम्म पुगेपछि सुरु हुने करिब दुई दिनको पदयात्राले यात्रुलाई प्रकृतिसँग नजिक पुर्याउँछ । उकालो–ओरालो बाटो, हरियाली डाँडा, चौँरी र भेडीगोठ तथा बाटोमा फुल्ने विभिन्न प्रजातिका फूलले यात्राको थकान बिर्साइदिन्छन् ।
केन्जो, कस्तुरी, माइकोपिलालगायतका फूलले तिम्बुङ क्षेत्रलाई प्राकृतिक फूलबारीजस्तै बनाएका छन् । बाटोमा भेटिने चौँरीका बथान र गोठहरू यहाँको यात्राका थप आकर्षण हुन् । मौसम खुलेका बेला वरपरका हिमालको दृश्यले यात्रालाई अझ रोमाञ्चक बनाउँछ । पोखरीमा दर्शनार्थीले चढाएका सिक्का पानीमा टल्किरहेका दृष्य पनि आकर्षक हुन्छ ।
४ हजार ३ सय ५० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी धार्मिक र प्राकृतिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ ।

पछिल्ला वर्षहरूमा पदमार्ग, होमस्टे र सञ्चार सुविधामा भएको विस्तारले तिम्बुङ पुग्ने पर्यटकलाई सहज बनाएको छ । अहिले पोखरी आसपासका गोठ तथा होमस्टे पर्यटकले भरिन थालेका छन् । चौँरी गोठमै बसेर स्थानीय जीवनशैली अनुभव गर्न चाहने पर्यटकको संख्या पनि बढ्दो छ ।
‘यो ठाउँको सुन्दरताको प्रचार भयो, सुविधा थपियो,’ तिम्बुङ पोखरी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष अमिर राई भन्छन्, ‘थोरै दिनमा महत्वपूर्ण घुमघाम गर्न मिल्ने गन्तव्य हो। सकेसम्म पर्यटकलाई असुविधा नहोस् भनेर सचेत छौँ ।’
तिम्बुङ पोखरी पाँचथर र ताप्लेजुङको सिमानामा पर्छ । ‘तिम्बुङ रन’लगायतका गतिविधिले पनि पछिल्लो समय यस क्षेत्रमा पर्यटकीय चहलपहल बढाएको छ ।
ताप्लेजुङको सिदिङवा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईका अनुसार तिम्बुङ क्षेत्रमा पहिले पनि पर्यटक आउने गरेका थिए । पछिल्लो समय पदमार्ग र होमस्टे निर्माण तथा प्रचारप्रसारले पर्यटकको संख्या बढाएको उनको भनाइ छ ।
‘धेरै अगाडिदेखि तिम्बुङ पोखरी आउने गरिन्थ्यो । होमस्टे, पदमार्ग बनाउन बजेट जुटायौँ,’ उनी भन्छन्, ‘यो क्षेत्रको विकासका लागि अझै काम गर्छौं ।’

चौँरी गोठ भएका स्थानमा समेत अहिले होमस्टे सञ्चालन हुन थालेका छन् । स्थानीय गोठालाहरूले चौँरी गोठमै पर्यटकलाई बस्ने र खाने व्यवस्था गर्न थालेका छन् । गोठको मौलिक वातावरणमा बस्न चाहने पर्यटकको रोजाइ पनि बढ्दै गएको छ ।
पाङ्दुवाका टार्जन खुदाङका अनुसार पर्यटक बढेसँगै स्थानीयलाई पनि आम्दानीको अवसर थपिएको छ ।
‘गोठ र होमस्टेमा पर्यटक राख्दैछौँ । केही वर्षयता यहाँ आउने संख्या बढेपछि हामीलाई पनि फाइदा भएको छ,’ उनी भन्छन्, ‘पहिले जस्तो असुविधा छैन ।’
प्रकृतिको नजिक पुग्न चाहने यात्रुका लागि तिम्बुङको यात्रा केवल एउटा पोखरी हेर्ने यात्रा मात्र होइन– हिमाली भूगोल, चौँरी गोठ, स्थानीय जीवनशैली, पदयात्रा र मौलिक प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गर्ने अवसर पनि हो ।





प्रतिक्रिया 4