+
+
Shares

नेवारी वास्तुशास्त्र : काठमाडौंको इतिहास

काठमाडौंका पुराना नेवारी टोलहरू हेर्दा गल्लीहरू साँघुरा तर छायाँयुक्त देखिन्छन्, जसले गर्मीमा ताप घटाउँछ र जाडोमा हावाको तीव्रता कम गर्छ ।

लक्ष्मी प्रसाद सोती लक्ष्मी प्रसाद सोती
२०८३ असोज १ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकाको नेवारी वास्तु इँटा, काठ र माटोको संयोजन मात्र नभई वास्तुशास्त्र, पर्यावरण विज्ञान र सामाजिक संरचनाको एकीकृत रूप भएको लेखमा भनिएको छ।
  • लेखमा लिच्छवि र मल्ल कालका सम्पदा, चोक, धारा, देहलीद्वार र आँगनहरू सूर्य–प्रकाश, हावा–प्रवाह र जल–व्यवस्थापनअनुसार योजनाबद्ध रहेको उल्लेख गरिएको छ।

पछिमस छखा जुक दनाओ त या छे पछिमुखनाम छे धन नास जुयीओ।।
अर्थात् पश्चिममा बनाएको घर पक्षिमुख नामको घर हो जसले धननाश हुन्छ।

काठमाडौं उपत्यका केवल मन्दिर, दरबार र चोकहरूको शहर मात्र होइन, यो जीवित सभ्यता, संस्कार र वास्तु–दर्शनको संग्रहालय हो । यहाँ देखिने गहिरो तात्त्विक अर्थ लुकेका प्रत्येक नेवारी घर, मूलढोका, देहलीद्वार, चोक, धारा, मन्दिर र आँगन केवल संरचना होइनन्; ती नेवार समुदायको हजारौं वर्षको अनुभव, प्रकृतिसँगको सहअस्तित्व, आध्यात्मिक चेतना र सूक्ष्म वास्तु ज्ञानका प्रत्यक्ष प्रमाण हुन् ।

नेवारी वास्तु केवल इँटा, काठ र माटोको संयोजन मात्र होइन, यसलाई वास्तुशास्त्र, पर्यावरण विज्ञान र सामाजिक संरचनाको एकीकृत रूपमा बुझ्न सकिन्छ । नेवार समुदायले घरलाई केवल बसोबासको ठाउँ होइन, देवस्थान, ऊर्जा-केन्द्र र पारिवारिक संस्कारको केन्द्र मानेर निर्माण गरेको पाइन्छ।

लिच्छवि कालदेखि मल्ल कालसम्म काठमाडौं उपत्यकामा विकसित भएका हाम्रा धेरै सम्पदा आज विश्व सम्पदा सूचीमा पर्ने कारण नेवारी वास्तुसँगको वैज्ञानिकता र आध्यात्मिकता पनि प्रमुख कारण हो । ललितपुर, भक्तपुर र काठमाडौंका पुराना बस्तीमा देखिने संरचनाहरू वास्तुको सिद्धान्तअन्तर्गत सूर्य-प्रकाश, हावा–प्रवाह, जल–व्यवस्थापन र सामाजिक जीवनशैली अनुसार योजनावद्ध छन् ।

आजको आधुनिक सिभिल आर्किटेक स्टक्चर इन्जिनियरिङ दृष्टिबाट काठमाडौंको नेवारी वास्तुको ऐतिहासिक विकास, यसको तात्त्विक आधार, संरचनात्मक विशेषता केलाउदा नेवारी वास्तु केवल परम्परा नभई विज्ञान, संस्कृति र आध्यात्मिकताको अद्‍भूत संगम भएको ठम्याउन सकिन्छ ।

हिमवत्खण्ड नेपालको वास्तु भारत र चीनको वस्तुसँग हुबहु मिल्दैन, हाम्रो देशको वास्तु फरक छ भन्ने प्रमाण पुर्खादेखि चलिआएको नेवारी वास्तुको ताडपत्र, भोजपत्रका हस्तलिखित ग्रन्थ, ठ्यासफु, शिलालेखहरूले समेत प्रस्ट गर्दछ । नेवारी वास्तुशास्त्रीय यी प्रमाणहरूमा घर, मन्दिर, दरबार, इनार, कुवा, तलाउ, बगैंचा, चैत्य आदि संरचनाहरूको निर्माण र यसको निर्माणसँगै जोडिएर आउने भूमिपरीक्षा, दिशाहरूको संयोजन, शुभअशुभ फल विचार, शिलान्यासविधि र जिर्णोद्धारविधिसँग सम्बन्धित वैदिक र तान्त्रिक पद्धितिहरू भेटिन्छ ।

याङ प्रक्षारण याचके ॥ यजमान पुष्पभाजनं ॥
मानवगोत्र श्री२जय भूपतीन्द्रमालवम्मणः

राजा भूपतीन्द्र मल्लले आफ्नो इष्टदेवताको प्रसन्नताका लागि भूमिसंस्कार, अङ्गन्यास, मातृगणबलि, चौस‌ट्ठी योगिनी बलि, भूतशुद्धि लगायत वास्तुशास्त्रको सम्पूर्ण पद्धति अबलम्बन गरेर स्वयं आफू बस्ने घर निर्माण गर्दै प्रजाहरूलाई पनि अनुसरण गर्न भनेको पुस्टि हुन्छ ।

हाम्रो यस हिमवत्खण्ड भूमिमा भैपरी आउने अरिष्ट नाश गर्नका लागि पं. चक्रपाणीले वास्तुशास्त्रका उपायहरू गरिदिएबापत वि.स. १५०६ को आसपास गोर्खा देशबाट नेपाल देशमा गएर देवराजधानी भक्तपुरमा खौमन टोलको इन्द्रायणी पिठ नजिकै १०० मुरी धान फल्ने राम्रो खेत राजा रणजित मल्ले उपहार स्वरूप दिएको कुरा अभिलेखमा छ । यसले मल्ल राजाको पालामा शास्त्रीय वास्तुलाई धेरै महत्व दिएको प्रस्ट हुन्छ ।

नेपाल सम्वत् ८३० आश्विन शुक्ल दितियामा राजा श्रीश्री भास्कर मल्ल र भुवनलक्ष्मीले श्रीसदाशिव भैरव मन्दिरको जिर्णोदार गर्दा समेत वास्तुशात्रको विधानअनुसार गरेको प्रमाण ठ्यासफुमा उल्लेख भएको देखिन्छ। यो प्रमाणले त्यो बेला मन्दिर पुन:निर्माण, घरको तला थप्ने बेलामा पनि वास्तु मिलाएर मात्र काम अघी बढाएको पुस्टि हुन्छ ।

कश्यप ऋषिको श्रीमती सिम्हिकाका दुई छोराहरू राहु र वास्तुको कथाबाट हिमवतखण्ड नेवारी वास्तु प्रचलित रहेको देखिन्छ । यस नेवारी वास्तुअनुसार ४७ प्रकारका भवन र यिनीहरूका बनोटको आधारमा हुने परिणामलाई महत्व दिएको पाइन्छ।

पुर्खाको पालादेखि चलिआएको सनातन हिमवतखण्ड वास्तुलाई लत्याएर आयातित हाम्रो भूगोलमा लागु नै नहुने वास्तुको नियमहरू अपनाउँदा सुखद् परिणाम आउँदैन । उदाहरणका लागि वास्तुपुरुषको शिर उत्तरपूर्वमा रहने हुँदा उत्तरपूर्वतर्फ काटिएको अवस्थाको घर एकदमै अशुभ हुन्छ भनेर आजकल एकदमै त्रास फैलाइएको पाइन्छ। तर नेवारी वास्तुको सिद्धान्तमा यस्तो अवस्थाको घरलाई यसरी व्याख्या गरिएको छ ।

दक्षिणस छखा पश्चिमस छखा
स्वाचकं दना छे सिद्धार्थ नाम
धनादेस सम्पति दयी

अर्थात् यो नेवारी भाषाको अर्थ दक्षिणपश्चिमतर्फ संरचना उठेको घरको नाम सिदार्थ हो यस्तो घरमा बस्नाले धन सम्पत्तिको वृद्धि हुन्छ । काठमाडौं उपत्यकामा संरचना निर्माण गर्दा भूमि खन्दा शेष नाग कहाँ कसरी बसेको हुन्छ जग्गाको नागलाई छलेर मात्र घर बनाउनुपर्ने कुरालाई नेवारी लिपिमा यसरी उल्लेख गरिएको पाइन्छ।

अथ स्येखनागया महिमा ख कने ॥
भूमिस घाल कय वेलस स्येखनागया सिलस लातसा मांबौ मित्रु जुयी
मिखास लातसा कान जुयी म्हुतुस लातसा ज्येल जुयी ॥
नुगलस लातसा उन्मन्त जुयी ॥
म्हस लातसा पर्वत चियी ॥
नाभीस लातसा मृत्यु जुयीओ
तुतीस लातसा वातरोगं कयीओ ॥
थ्वते भय विचाल यानाओ स्येखनागया म्हस लाक भुमि धाल कय माल ॥ शुभ जुयी

अर्थात् घर बनाउनका लागि भूमि खन्दा शेष नाग कहाँ कसरी बसेको हुन्छ पत्ता लगाएर मात्र खन्नुपर्छ । यदि नागको शिरमा खनेमा घरमुलीको मृत्यु हुने, नागको शरीर तथा पुच्छारमा परेमा घरमा बस्नेलाई विभिन्न पीडा, हानी हुन्छ भनिएको छ । नागको छातीमा खनेमा उक्त घरमा बस्ने मान्छे पागल हुने, नाइटोमा परेको खण्डमा मृत्यु हुने, खुट्टामा परेको खण्डमा वात रोग हुन्छ । यी भय विचार गरी शेष नागको शरीरमा नपर्ने गरी भूमि खन्नु पर्छ । यति गरेमा मात्र शुभ हुन्छ नत्र अशुभ हुन्छ भनेर नेवारी लिपिमा लेखिएको भेटिन्छ ।

काठमाडौं उपत्यकामा बनेका पुराना सम्पदा घरहरूको वास्तु अध्ययन गर्दा बुझिन्छ कि यहाँको बस्ती योजना नै एक प्रकारको जीवित वास्तु-मण्डल हो । चोकहरूले ब्रह्मस्थानजस्तै खुला, बहा–बहिल सामुदायिक ऊर्जा केन्द्रजस्तै, धारा र हिटी जल–तत्व सन्तुलनका प्रतीकजस्तै, देहलीद्वार ऊर्जा प्रवेशको नियन्त्रकजस्तै कार्य गर्छन् । घरभित्रको आँगन (नानी/नानीचो), माथिल्लो तलाका काठे झ्याल (टिकी झ्याल), इँटाको गहिरो बनावट र छानाको ढलान– यी सबै केवल सौन्दर्यका लागिमात्र नभई सूर्यको मार्ग, वर्षाको पानी, हावाको बहाव, ताप नियन्त्रण र पारिवारिक गोपनीयतालाई ध्यानमा राखेर विकसित भएका हुन् ।

काठमाडौंका पुराना नेवारी टोलहरू हेर्दा गल्लीहरू साँघुरा तर छायाँयुक्त देखिन्छन्, जसले गर्मीमा ताप घटाउँछ र जाडोमा हावाको तीव्रता कम गर्छ । यसले देखाउँछ कि नेवारी वास्तु केवल धार्मिक विश्वासमा आधारित नभई गहिरो पर्यावरणीय समझमा आधारित थियो । आज ‘क्लाइमेट रेस्पोन्सिभ डिजाइन’ भनेर आधुनिक इन्जिनियरिङले व्याख्या गर्ने धेरै सिद्धान्तहरू नेवारी वस्तीमा शताब्दीयौँ अघि नै व्यवहारमा ल्याइएको थियो । हाम्रो हिमवत्खण्ड भूगोलमा पुर्खाहरूको पालादेखि चलिआएको वास्तुसिद्धान्तको पालना गर्दा नै हामीलाई सुखद् फल प्राप्त हुन्छ; यो भूगोलमा लागू नहुने आयातित वास्तु हाम्रा लागि हितकर हुँदैन ।

यसै कारण भुगर्वको प्रयोगशाला भनेर संसारभर चिनिएको यस छेत्रको संरचनाहरू केवल ऐतिहासिक धरोहर मात्र नभईकन विश्वकै इन्जिनियर, वास्तुशास्त्री र योजनाकारहरूका लागि पनि अध्ययनयोग्य जीवित पाठशाला हो ।

(इन्जिनियर लक्ष्मी प्रसाद सोती हिमवत्खण्ड वास्तुका अध्येता हुन् । उनी नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका वास्तु विभाग प्रमुख समेत रहेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?