News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तिमूलक फिल्म ‘हनुमान अंश’ले ४१ दिनमा विश्वव्यापी ग्रस कमाइ ३०० करोड भारु पुर्याएको छ ।
- फिल्मले भारतमा २३७ करोड नेट र २८० करोड ग्रस कमाइ गरेको छ, र बुधबार ६ करोड नेट कमाएको छ ।
- ‘हनुमान अंश’ यस वर्ष सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ ।
मुम्बई । भक्तिमूलक फिल्म ‘हनुमान अंश’ भारतीय बक्स अफिसमा यस वर्षको अप्रत्याशित सफल फिल्ममध्ये एक बनेको छ । थोरै लगानीकर्ता र सुरुवाती दुई साता खासै दर्शक नपाएको यो कम बजेटको फिल्मले विश्वव्यापी बक्स अफिसमा ३०० करोड भारुको आँकडा पार गरेको छ ।
रोचक पक्ष के छ भने प्रदर्शनको छैटौं सातामा पुग्दा पनि फिल्म भारतीय बक्स अफिसको शीर्ष स्थानमा छ । यसले पछिल्ला नयाँ रिलिजलाई समेत कमाइमा पछि पारिरहेको छ ।
‘हनुमान अंश’ले प्रदर्शनको पहिलो दिन भारतीय बक्स अफिसमा जम्मा १० लाख भारुको कमजोर ओपनिङ गरेको थियो । पहिलो दुई सातासम्म यसको कुल कमाइ पनि करिब डेढ करोड भारु मात्रै थियो ।
तर त्यसपछि दर्शकको सकारात्मक प्रतिक्रियासँगै टिकट बिक्री तीव्र रूपमा बढ्यो । चौथो सातादेखि फिल्मले भारतीय बक्स अफिसमा प्रत्येक साता ६० करोड भारुभन्दा बढी नेट कमाइ गर्दै आएको छ ।
प्रदर्शनको ४१औं दिन बुधबार फिल्मले भारतमा ६ करोड भारु नेट कमायो । यससँगै यसको घरेलु नेट कमाइ २३७ करोड र ग्रस कमाइ २८० करोड भारु पुगेको छ ।
‘हनुमान अंश’ यस वर्ष भारतमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ । यसअघि ‘धुरन्धर २’, ‘बोर्डर २’ र ‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे’ छन् ।
फिल्मको बक्स अफिस यात्राको अर्को उल्लेखनीय पक्ष पछिल्लो समय रिलिज भएको ‘मिर्जापुर द मुभी’भन्दा यसको कमाइ करिब ५० प्रतिशत बढी हुनु हो ।
यसै महिनाको सुरुमा होम्बाले फिल्म्सले ‘हनुमान अंश’को विश्वव्यापी वितरण अधिकार लिएपछि फिल्म ढिलो गरी विदेशी बजारमा रिलिज भएको थियो । दुई साताको अन्तर्राष्ट्रिय प्रदर्शनमा फिल्मले हालसम्म २ मिलियन अमेरिकी डलर ग्रस कमाएको छ ।
यससँगै प्रदर्शनको ४१ दिनमा ‘हनुमान अंश’को विश्वव्यापी ग्रस कमाइ ३०० करोड भारु पुगेको छ ।
यो फिल्म अब सन् २०२६ मा सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको शीर्ष १० सूचीमा प्रवेश गरेको छ । बुधबार साँझसम्म यो सूचीको नवौं स्थानमा छ ।
३०० देखि ३२५ करोड भारुको आसपास कमाइ गरेका धेरै फिल्मबीच थोरै मात्र अन्तर रहेकाले ‘हनुमान अंश’ यस सप्ताहन्तमा शीर्ष ५ र अन्ततः शीर्ष ३ सम्म पुग्ने अपेक्षा गरिएको छ । यस क्रममा यसले ३४० करोड भारुभन्दा केही बढी कमाइ गरेका ‘टक्सिक’ र ‘पेड्डी’लाई समेत उछिन्ने अपेक्षा गरिएको छ ।
‘हनुमान अंश’ले अक्षय कुमारको पछिल्लो हिट फिल्म ‘भूत बंगला’को लाइफटाइम कमाइ भने यसअघि नै उछिनिसकेको छ । ‘भूत बंगला’ले विश्वभर २५० करोड भारुभन्दा बढी कमाएको थियो ।
विशाल चतुर्वेदीको लेखन तथा निर्देशन रहेको ‘हनुमान अंश’ले आमाको निधनपछि शोकमा रहेका युवक लक्ष्मीनारायणको आध्यात्मिक यात्रालाई पछ्याउँछ । ईश्वरको खोजीमा निस्किएका उनी जीवन, मृत्यु र मानवीय पीडाका प्रश्नको उत्तर खोज्दै उत्तर भारतका विभिन्न स्थानमा यात्रा गर्छन् । अन्ततः उनी श्रद्धेय सन्त नीम करोली बाबा बन्छन् ।
फिल्ममा शोभिनव सत्या मुख्य भूमिकामा छन् । उनीसँगै विहान शेड्गे, चन्दन के आनन्द, पूर्णिमा तिवारी, अनिल रस्तोगी, गुलशन पाण्डे र भगवानदास पटेलको अभिनय छ ।
प्रतिक्रिया 4