वर्ड अफ माउथ बलियो बन्दा अहिले भारतमा हनुमान अंश नामक फिल्मले बक्स अफिसमा धमाका पिटिरहेको छ । जम्मा २ करोड भारुमा बनेको यो फिल्मले १०० करोड भारु भन्दा बढीको व्यापार गरिसकेको छ ।
फिल्मले मोमेन्टम र लेट रन प्रदर्शनमा टक्सिक, मिर्जापुर जस्ता ठूला बजेट, नामी कलाकार र लागत बढी भएको फिल्महरूलाई समेत टक्कर दिइरहेको छ । यद्यपि गत ७ अगस्टमा प्रदर्शनमा आउँदा फिल्मको सुरुवात निकै सुस्त थियो । पहिलो दिन भारतभरबाट जम्मा १० लाख रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । सामान्यतया पहिलो दिनमै कमजोर कमाइ गर्ने फिल्महरू हप्ता नबित्दै हलबाट उत्रिन्छन् । तर यस फिल्मको नियति अर्कै भयो ।
फिल्म हेरेर निस्किएका दर्शकले यसको आध्यात्मिक गम्भीरता र कथाको सरलतालाई रुचाए । एकअर्कालाई फिल्म हेर्न सिफारिस गर्न थाले । यही ‘वर्ड अफ माउथ’ का कारण दोस्रो र तेस्रो हप्तासम्म आइपुग्दा फिल्मको कमाइमा एकाएक अप्रत्याशित उछाल आएको हो । तथ्यांककै कुरा ३०औं दिनसम्म आइपुग्दा यसले दैनिक १६ करोड रुपैयाँसम्म कमाउन थालेको थियो । ३१औं दिनमा प्रवेश गर्दा औपचारिक रूपमै १०० करोड नेट क्लब पार गरेको हो ।
के छ फिल्ममा ?
यस फिल्मका निर्देशक र निर्माता डा. विशाल चतुर्वेदी हुन् । यो फिल्म बनाउने क्रममा उनी प्राविधिक निर्देशकभन्दा केही बने । एक मिडिया अन्तर्वार्तामा उनले यो फिल्मका लागि कुनै पारिश्रमिक नलिएको बताएका छन् ।
अझ अनौठो कुरा त के छ भने फिल्मको सुटिङ अवधिभर सेटमा पूर्ण रूपमा शाकाहारी वातावरण कायम गरिएको थियो । हरेक दिन काम सुरु हुनुअघि सेटमा सबै कलाकार र प्राविधिक मिलेर हनुमान चालिसाको पाठ गर्थे । निर्देशक चतुर्वेदी स्वयंले फिल्म रिलिज हुनुभन्दा साढे चार महिना अघिदेखि अन्न त्यागेर केवल फलाहार मात्र गरेर यो फिल्म सम्पन्न गरेका थिए ।
फिल्म निर्माणमा अपनाइएको यही शुद्धता र निष्ठा पर्दामा पनि महसुस हुने दर्शकहरूले बताइरहेका छन् । धेरैले यो फिल्मले धार्मिक र आध्यात्मिक अनुभव गराउने प्रतिक्रिया दिइरहेका छन् ।
प्रख्यात सन्त नीम करोली बाबाको जीवन र उनको आध्यात्मिक चेतनामा आधारित यो फिल्ममा शोभिनव सत्याले मुख्य भूमिका निर्वाह गरेका छन् । अब फिल्मको सफलतासँगै निर्देशकले यसलाई ट्रिलोजीको रूपमा अघि बढाउने घोषणा गरिसकेका छन् । दोस्रो भागमा फिरोजाबाद, आगरा र मथुरामा बाबाले बिताएका प्रसङ्गहरू समेटिनेछन् । त्यस्तै भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनले यसको काम पनि सुरु गरिसकेका छन् ।
त्यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समेत फिल्म हेरेपछि यसलाई राज्यमा ट्याक्स फ्री घोषणा गरेका छन् । उता होम्बाले फिल्म्सले अन्तर्राष्ट्रिय वितरण अधिकार लिएर यसलाई ११ सेप्टेम्बरदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा ल्याउँदैछ ।
प्रतिक्रिया 4