२२ भदौ, जयपुरा (इन्डोनेसिया) (रासस/एएफपी)। इन्डोनेसियाको पूर्वी पपुवा क्षेत्रमा सोमबार भएको आगलागीमा छ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ।
मध्य पपुवा प्रान्तको पानियाई सहरमा मध्यरातपछि सुरु भएको आगो तीव्र रूपमा फैलिँदा कम्तीमा ४० पसल, कियोस्क तथा घर नष्ट भएका छन्।
स्थानीय प्रहरी प्रवक्ता हेनरी जे मनुरुङका अनुसार मृतकमध्ये पाँच वयस्क र छ बालबालिका छन्। मृत्यु भएका बालबालिका दुईदेखि नौ वर्ष उमेरका रहेको उनले बताए। तीन घण्टाभन्दा बढी समय लागेको आगो नियन्त्रणमा दमकल तथा पानीका फोहरा प्रहार गर्ने सवारीसाधन परिचालन गरिएको थियो। घर तथा पसल बाक्लो रूपमा रहेकाले आगो नियन्त्रणमा कठिनाइ भएको उनले बताए।
आगलागीको कारण खुल्न सकेको छैन। घटनाबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। इन्डोनेसियामा यसअघि पनि घातक आगलागीका घटना भएका छन्। गत डिसेम्बरमा जकार्ताको साततले कार्यालय भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया 4