News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी नदीको विनाशकारी बाढीपछि सरकारले आज सोमबार राष्ट्रिय शोक मनाएको छ।
- बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गर्दै संगीतकर्मीले शोकका गीत युट्युब, टिकटक र रिल्समा सार्वजनिक गरिरहेका छन्।
- रेशम सापकोटा र सीमा नेपालको ‘अनिष्ट भोटेकोशी’ गीत अहिलेसम्म २ लाखभन्दा धेरैपटक हेरिएको छ।
काठमाडौं । हजारौंको ज्यान जाने गरि भोेटेकोशी नदीमा आएको विनाशकारी बाढीले अहिले मुलुक शोकमा छ । सरकारले आज सोमबार राष्ट्रिय शोकको पनि आयोजना गरेको छ ।
सरकारमात्र होइन, सर्वसाधारण पनि शोकमा छन् । संगीतकर्मीले त भोटेकोशी बाढीमा ज्यान गुमाउनेलाई समर्पित गर्दै शोकका गीत धमाधम सामाजिक युट्युबमा सार्वजनिक गरिरहेका छन् ।
गीतमा शोक र विरह मात्र होइन, यो कठिन परिस्थितीबाट उठ्नुपर्ने सन्देश पनि प्रवाह गरिएको छ । कतिपय गीत कृत्रिम बुद्धिमत्ता (एआई)बाट पनि बनाइएका छन् । प्रविधिमा अभ्यस्त हुने युवापुस्ताले एआईबाटै शोकका गीत बनाएर सामाजिक सञ्जालमा सेयर गरिहेका छन् ।
चर्चित गायक रेशम सापकोटा र सीमा नेपालले गतसाता ‘अनिष्ट भोटेकोशी’ गीत युट्युबमा ल्याए । यो गीतलाई अहिलेसम्म २ लाखभन्दा धेरैपटक हेरिएको छ । गायक तथा संगीतकार चेतन राईले ‘बाढी आयो पहिरो आयो’ गीत ल्याएका छन् ।
यी दुवै गीतमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गरिएको छ । साथै, यो कठिन परिस्थितीको सामना गर्नुपर्ने र एकजुट भएर विपत्तिलाई हराउनुपर्ने सन्देश यी गीतहरूमा दिइएको छ । एकता, सहकार्य र पुनःउत्थानको भाव यी गीतमा समेटिएको छ ।
रसुवा र नुवाकोटको विनाशकारी बाढीका दृश्यलाई प्रस्तुत गर्दै ल्याइएका यी गीत युट्युबमा मात्र होइन, टिकटक र रिल्समा पनि ब्यापक सेयर भैरहेका छन् । कतिपयले यी गीतमै भिडियो बनाएर बाढी पीडितप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
निर्मला सुवेदीले भोटेकोशी बाढीको वेदनामा तीज गीत ‘सुन्नुहोला घटना भोटेकोशी’को ल्याएकी छिन् । आउँदै गरेको तीजलाई सम्झिँदै, तीजकै भाकामा उनले भोटेकोशी त्रासदीलाई सांगीतिक रुप दिएकी छन् । उनले बाढी घटनाको विवरण समेटेर दर्शकलाई सुन्न प्रेरित गरेकी छन् ।
चन्द्रावती वाग्लेले भोटेकोशी बाढीबारे तीज गीत ल्याएकी छन् । बाढी मात्र होइन, उद्वार र राहतमा खटिएकाप्रति समर्पित गर्दै ल्याइएको यो गीतमा मुलुकको समसामयिक कुरा पनि दर्शाइएको छ ।
अनमोल बस्नेतले भोटेकोशी बाढीबारे मर्मस्पर्शी गीत ल्याएका छन् । उनीजस्ता थुप्रैले एआईबाट बनाएका शोकका गीत अहिले युट्युब सर्ट्समा पनि ब्यापक सेयर गरिएका छन् ।
रमेश भण्डारी, चेतबहादुर बुढाथोकी, रमेश मगर, सन्तोष सुवेदीले ‘भोटेकोशी बाढीमा’ गीत ल्याएका छन् । बुढाथोकीले आफ्नो शब्द, संगीत र स्वरमा ‘बगायो मेरो सपनाको घर’ ल्याएका छन् । यी सबै गीतमा वितण्डा र करुणाका दृश्य समेटिएको छ ।
सुरेन्द्र महर्जन र आरोह नेपालीले ‘विपत्तिको बाढी’ले गीत ल्याएका छन् । साथै, जनक बाजुरेलीले ‘सत्यघटनामा भोटेकोशीको बाढी’ गीतमार्फत त्यहाँको दृश्य र मर्म वर्णन गरेका छन् ।
एआईबाट बनाइएका छोटा गीतहरूको संख्या पनि युट्युब र टिकटकमा प्रशस्तै छन् । एआई प्लाटफर्मले आफ्नै शब्दमा गीत बनाउने सुविधा दिएपछि सर्वसाधारणले आफ्नो गीतमार्फत भोटेकोशी बाढीप्रति संवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4