News Summary
Generated by OK AI. Editorially reviewed.- एचआइभी सङ्क्रमण तीव्र बढेपछि फिजीले राष्ट्रिय आपतकाल घोषणा गर्दै परीक्षण, उपचार र रोकथामका सेवा विस्तार गरिरहेको छ।
- सन् २०२५ मा फिजीमा २,०१६ नयाँ सङ्क्रमित थपिएपछि प्रत्येक ६० जना वयस्कमध्ये एक जनामा एचआइभी पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
- फिजी सरकारले सिरिन्ज र नीडल कार्यक्रम सुरू गर्न संसदमा कानुन संशोधन गर्दैछ र स्वास्थ्यमन्त्रीले मानिसहरूलाई परीक्षण गराउन आग्रह गरेका छन्।
१ असोज, काठमाडौं । एचआइभी महामारीका कारण फिजीको स्वास्थ्य सेवामा निकै ठूलो दबाब परेको छ। एचआइभी सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा बढेपछि फिजीले राष्ट्रिय आपतकालको घोषणा गरेको छ। सरकारले परीक्षण, उपचार र रोकथामका सेवाहरू विस्तार गरिरहेको छ।
प्रशान्त महासागरमा रहेको यो देशमा अहिले प्रत्येक ६० जना वयस्कमध्ये एक जनामा यो भाइरस छ। पाँच वर्षअघि भने प्रत्येक एक सय ६७ जनामा एक जनालाई मात्र यो सङ्क्रमण थियो। एचआइभीका कारण उत्पन्न जटिलताले गर्दा ज्यान गुमाउने शिशुहरूको सङ्ख्या पनि बढिरहेको छ।
दश लाखभन्दा कम जनसङ्ख्या भएको यो देशमा सन् २०२५ मा मात्रै २,०१६ जना नयाँ सङ्क्रमित थपिएका छन्। स्वास्थ्यमन्त्री एन्टोनियो लालाबालतवुले अब सामान्य प्रतिक्रिया मात्र पर्याप्त नहुने बताएका छन्।
लागूऔषधको बढ्दो प्रयोग, असुरक्षित यौनसम्पर्क, एउटै सुईको प्रयोग र “ब्लुटुथिङ” का कारण यो महामारी फैलिएको छ। स्वास्थ्य विशेषज्ञ र संघसंस्थाहरूले यो जानकारी दिएका हुन्।
‘ब्लुटुथिङ’ वा ‘हटस्पोटिङ’ भनेको लागूऔषधको नशामा रहेको व्यक्तिको रगत अर्को व्यक्तिले आफ्नो शरीरमा लगाउने खतरनाक तरिका हो। यसले गर्दा अफ्रिका र प्रशान्त क्षेत्रमा एचआइभी तीव्र रूपमा फैलिएको छ।
यो तरिका सस्तो नशाका लागि प्रयोग गरिन्छ। धेरै जना मिलेर थोरै पैसामा एक पटक लागूऔषध किन्न सक्छन्। फिजीमा सिरिन्ज पाउन गाह्रो भएकाले पनि मानिसहरूले एउटै सिरिन्ज प्रयोग गर्छन्।
त्यहाँ प्रत्येक ६० जना वयस्कमध्ये एक जना एचआइभीबाट सङ्क्रमित छन्। एचआइभीका कारण शिशुहरूको मृत्यु हुने दर पनि बढिरहेको छ।
यो राष्ट्रिय संकटको सामना गर्न फिजी सरकारले सिरिन्ज र नीडल कार्यक्रम सुरु गर्ने भएको छ। फिजीसँग पर्याप्त मात्रामा सिरिन्ज र नीडल उपलब्ध छ। यो कार्यक्रम लागू गर्न सरकारले संसदमा कानुन संशोधन गर्दैछ।
स्वास्थ्यमन्त्रीले मानिसहरूलाई अगाडि आएर परीक्षण गराउन आग्रह गरेका छन्।सामाजिक विभेदका कारण स्वास्थ्य सेवाबाट टाढा भइरहेको फिजीका स्वास्थ्यमन्त्रीले जनाएका छन् ।
युएनएड्सका अनुसार सन् २०२५ मा फिजीमा ९,१०० जना एचआइभी सङ्क्रमित थिए। तीमध्ये ३९ प्रतिशतलाई मात्र आफ्नो सङ्क्रमणबारे थाहा थियो। केवल २२ प्रतिशतले मात्र एन्टिरेट्रोभाइरल उपचार पाइरहेका थिए।
विश्वको औसत अवस्था हेर्दा ७८ प्रतिशत एचआइभी सङ्क्रमितले उपचार पाइरहेका छन्। फिजीको अवस्था भने यसभन्दा धेरै फरक र चिन्ताजनक छ।
फिजीको राष्ट्रिय एचआइभी रेस्पोन्स टास्कफोर्सका प्रमुख जेसन मिचेलका अनुसार यो महामारी नियन्त्रणमा लिन फिजीलाई कम्तीमा पाँच वर्ष लाग्नेछ।
‘यो एउटा दीर्घकालीन कार्यक्रम हो। यो कोभिड जस्तो दुई वर्षमा समाधान हुने विषय होइन। एचआइभी धेरै फरक छ,’ उनले एबीसी न्युजसँग भनेका छन्।
एचआइभी महामारीले फिजीको स्वास्थ्य प्रणालीलाई ठूलो भार थपेको मिचेलले बताए। “पहिले नै कमजोर रहेको हाम्रो स्वास्थ्य प्रणालीमा यसले थप दबाब सिर्जना गरेको छ। औषधि उपलब्ध हुँदाहुँदै पनि मानिसहरू अस्पतालको बेडमा भर्ना हुनु परेको छ,” उनले भने।
युएनएड्सले फिजीको आपतकाल घोषणाको निर्णयलाई स्वागत गरेको छ। यसले सरकार र समाजलाई थप गम्भीर भएर काम गर्न मद्दत पुर्याउने उसले जनाएको छ।
‘एड्स अझै सकिएको छैन भन्ने कुरा यसले विश्वलाई सम्झाएको छ। एचआइभी महामारी जुनसुकै बेला फैलिन सक्छ। त्यसैले देशहरूले आफ्ना स्वास्थ्य प्रणालीलाई सधैं तयार राख्नुपर्छ,’ युएनएड्सकी कार्यकारी निर्देशक विनी ब्यानिमाले भनेकी छन्।
प्रतिक्रिया 4