+
+
Shares

बागमतीमा मन्त्रिपरिषद् विस्तारको तयारी, रमा आले कृषिमन्त्री बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेश सरकारमा नेकपाकी रमा आले मगरलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
  • रमा आले मगर आज साँझ हेटौंडामा पद तथा गोपनीयताको शपथ लिन जाने तयारीमा छिन्, उनी यसअघि युवा तथा खेलकुद मन्त्री थिइन्।
  • नेकपाभित्र थप एक मन्त्रालय माग्दै दबाब बढेपछि मुख्यमन्त्री थापासँग अझै सहमति नभएको र सत्ता गठबन्धनले मन्त्रालय संख्या नबढाउने सहमति गरेको छ।

१ असोज, हेटौंडा । बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।

मुख्यमन्त्री किरण थापा मगरले सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमा आले मगरलाई आज बिहीवार कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्तको तयारी गरेका छन् । आज साँझै पद तथा गोपनीयताको शपथ लिने गरि मगर हेटौंडा आइसकेकी छन् । उनी शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिइन् ।

बागमती सरकारमा नेकपाको भागमा परेको दुई वटा मन्त्रालयमध्ये नेकपा माओवादी केन्द्र पृष्ठभूमिका सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि अर्काे मन्त्रालय तत्कालीन नेकपा (एकीकृत समाजवादी) अर्थात् माधव नेपाल पक्षले पाएको थियो ।

जसअनुसार मगरलाई नेकपाभित्रको पूर्वसहमतिअनुसार आज नियुक्ति र सपथको तयारी गरिएको हो ।

नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संयुक्त बागमती सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ७ वटा मन्त्रालय रहेको छ । यसअघि ४ भदौमा ६ जना मन्त्री नियुक्त गरिएको थियो । जसमा आन्तरिक मामिला, कानुन तथा सहकारी र कृषि मन्त्रालय रिक्त थियो । एमालेका ज्ञानबहादुर तामाङलाई विना विभागीय मन्त्री नियुक्त गरिएको थियो ।

सरकारमा भागबण्डाअनुसार एमालेले मुख्यमन्त्रीसहित ३ वटा, नेकपालाई प्रदेशसभाको सभामुखसहित ३ वटा र राप्रपाले ३ वटा मन्त्रालय लिएका हुन् ।

सरकारमा नेकपाबाट सरल सहयात्री आर्थिक मामिला,  एमालेबाट भरत केसी भौतिक पूर्वाधार, राप्रपाबाट गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक, राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइ तथा राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री छन् ।

नेकपाभित्र थप एक मन्त्रालय लिन दबाब

सरकार विस्तारको क्रममा नेकपाभित्र गंगानारायण श्रेष्ठ, कृष्णप्रसाद शर्मा खनाल पक्षले थप एक मन्त्री नियुक्त हुनुपर्ने विषय जोडले उठाएको छ ।

भागबण्डामा २ वटा मन्त्रालय पाएको नेकपाभित्र यसअघि एमालेको भागमा परेको रिक्त आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयमा पनि आज नेकपाबाट मन्त्री नियुक्त गर्नुपर्ने दबाब सांसदहरूले दिएका हुन् ।

नेकपाका एक सांसदका अनुसार मुख्यमन्त्री थापासँग नेकपाले पार्टी भित्र दबाब बढेको र थप एक मन्त्रालय पाउनुपर्ने प्रस्ताव राखिसकेको छ । यद्यपि मुख्यमन्त्री थापाले यो प्रस्तावमा सहमति गरिसकेका छैनन् । कानुन मन्त्रालयमा आफ्नै पार्टीका विना विभागीय मन्त्री ज्ञानबहादुर तामाङलाई नियुक्त गर्नुपर्ने दबाबमा मुख्यमन्त्री छन् ।

सत्ता गठबन्धनभित्र ८ वटा मन्त्रालय नबढाउने सहमति छ ।

‘पार्टी नेतृत्वले रमा आले मगरलाई पहिला शपथ गराउनु भनेर निर्देशन आएको छ । अब अर्काे मन्त्रालय पनि लिने विषयमा सहमति भइसकेको छैन । हामी छलफलमै छौं,’ नेकपाका ती सांसद बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?