News Summary
Generated by OK AI. Editorially reviewed.- वर्ल्ड वेदर एट्रिब्युसनको अध्ययनले रसुवा–भोटेकोशी बाढीलाई जलवायु परिवर्तनको एक्लो कारण मानेको छैन।
- अध्ययनले तातिँदो हिमाल, भूकम्पले कमजोर बनेको भूगोल र हिमढिक्का–हिमनदीको परिवर्तनबीचको अन्तरक्रियाले जोखिम बढाएको देखाएको छ।
- लाङटाङ–लिरुङ क्षेत्रमा अगस्ट २४ र २५ मा औसत तापक्रम विगत १० वर्षको औसतभन्दा करिब २.७ देखि २.८ डिग्री सेल्सियस बढी थियो।
रसुवा–भोटेकोशीको प्रलयकारी बाढीपछि तत्कालै यस घटनालाई जलवायु परिवर्तनको उपजका रूपमा व्याख्या गर्न थालियो। सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म, हिमाली भूगोलमा देखिएको यो असामान्य विनाशलाई हिमाली क्षेत्रमा बढ्दो तापक्रमसँग जोडेर हेरियो।
तर के हामीले निकालेको निष्कर्षजस्तै जलवायु परिवर्तन नै यो घटनाको प्रमुख कारक थियो त ? जलवायु परिवर्तनले भोटेकोशीको यो प्रलयमा वास्तवमा कति भूमिका खेलेको थियो ?
तीव्र बहसको केन्द्रमा रहेको यही जिज्ञासामा एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययनले केही प्रकाश पारेको छ। वर्ल्ड वेदर एट्रिब्युसनको नयाँ अध्ययनले रसुवा–भोटेकोशीको विपद्लाई ‘जलवायु परिवर्तनको प्रत्यक्ष वा एक मात्र परिणाम’ का रूपमा व्याख्या गरेको छैन। बरु अध्ययनले तीव्र गतिमा तातिरहेको हिमालले हिमाली भूभागको भौतिक अवस्था परिवर्तन गरिरहेको र त्यसको अन्तरक्रिया यस क्षेत्रमा पहिले नै विद्यमान हिमचट्टान तथा भौगर्भिक कमजोरीहरूसँग हुँदा यस्ता जटिल र तीव्र विपद्को जोखिम बढ्न सक्ने देखाएको छ।
अर्थात्, यस प्रलयकारी विपद्मा जलवायु परिवर्तनलाई अलग राखेर हेर्न सकिँदैन, तर यसको समीकरण हामीले सोचेजस्तो सरल पनि छैन। यो कुनै एउटै कारणले घटेको घटना होइन। बदलिँदो जलवायु, हिमाली भूगोलमा विद्यमान भौगर्भिक कमजोरी र त्यस भूगोलमा थपिँदै गएका मानवीय दबाबहरूबीचको अन्तरक्रियाले विपद्को स्वरूप र प्रभावलाई जटिल बनाएको देखिन्छ।
शृङ्खलाबद्ध प्रकोप
जलवायु परिवर्तन, हिमाली भूगोलमा विद्यमान भौगोलिक कमजोरी र मानवीय गतिविधिबीचको यही जटिल अन्तरक्रिया भदौ १० को घटनामा एकैपटक प्रकट भएको देखिन्छ।
५ हजार १५० मिटर उचाइमा रहेको लाङटाङ लिरुङको ठूलो हिमचट्टानी भाग भत्किएर घटना सुरु भएको थियो। त्यससँगै हिमनदीको केही भाग पनि भत्कियो। चट्टान, हिउँ र गेग्र्यान तीव्र गतिमा तल झर्दै गएपछि यो क्रमशः गेग्र्यानसहितको बाढी हुँदै प्रलयकारी आकस्मिक बाढीमा परिणत भयो।
त्यसैले यो सामान्य बाढी वा एउटा पहिरोको घटना मात्र थिएन। एउटा प्रक्रियाले अर्को प्रक्रियालाई निम्त्याउँदै र बल पुर्याउँदै गएको शृङ्खलाबद्ध प्रकोप अर्थात् ‘क्यास्केडिङ हाजार्ड’ थियो; जहाँ हिमचट्टानी पहिरोलगायत गतिविधिहरू एकअर्कासँग जोडिँदै गए।
तर यो घटनालाई बुझ्न हामीले २६ अगस्टको केही घण्टाको घटनाक्रमलाई मात्र ध्यान दिएर पुग्दैन। त्यो दिनको प्रलय एकाएक शून्यबाट उत्पन्न भएको थिएन। यसको पृष्ठभूमिमा वर्षौंदेखि हिमाली भूभागमा भइरहेका भौतिक परिवर्तन, बढ्दो अस्थिरता र बिस्तारै बढिरहेको तापक्रम एकआपसमा जोडिएका छन्। यो प्रकोपको पृष्ठभूमि हिमालमा वर्षौंदेखि निर्माण भइरहेको थियो।

(जलवायु परिवर्तन र उतारचढावले रसुवाको चट्टानी भित्ताको स्थिरतामा पार्न सक्ने प्रभावका सम्भावित प्रक्रियाहरू। स्रोत : वर्ल्ड वेदर एट्रिब्युसन)
भूकम्पले कमजोर बनाएको हिमाली भूभाग र बदलिँदो हिमाल
घटनाको दिनमा देखिएको यो प्रलयलाई बुझ्न एक दशकपछाडि, २०७२ सालको गोरखा भूकम्पसम्म फर्किनुपर्ने हुन्छ। उक्त भूकम्पले लाङटाङ क्षेत्रमा हिमपहिरो निम्त्याउँदा ठूलो क्षति पुर्याएको थियो। भूकम्पपछिका अध्ययनहरूले उच्च उचाइका क्षेत्रमा समेत पहिरो र भू–अस्थिरताको गतिविधि बढेको देखाएका छन्। डब्लूडब्लूएको अध्ययनले पनि यसलाई भूकम्पले हिमाली चट्टानी संरचनामा पारेको दीर्घकालीन प्रभावसँग जोडेर हेरेको छ।
तर यसको अर्थ २०७२ सालको भूकम्प नै २०२६ को घटनाको कारक थियो भन्ने होइन। अध्ययनले त्यस्तो प्रत्यक्ष ‘कारण–परिणाम’ स्थापित गरेको छैन। बरु भूकम्पले पहिले नै कमजोर बनाएको हिमाली भू–संरचनामाथि त्यसपछिका वर्षमा भइरहेका प्राकृतिक तथा जलवायुजन्य परिवर्तनहरूले थप प्रभाव पारेको हुन सक्ने देखिन्छ।
हिमाल स्थिर भूगोल होइन। तापक्रम बढ्दै जाँदा हिमनदी, हिउँ र हिमढिक्का (पर्माफ्रोस्ट)को अवस्था बदलिन्छ र यस्ता परिवर्तनले पहिलेबाटै कमजोर भू–संरचनालाई थप अस्थिर बनाउन सक्छन्। त्यसैले रसुवा–भोटेकोशी बाढीको घटना बुझ्न ‘त्यो दिन लाङटाङ लिरुङ हिमालमा के भयो ?’ भन्ने मात्र हैन, ‘त्यहाँ निरन्तर केके परिवर्तन भइरहेको थियो ?’ भन्ने पनि बुझ्नु जरुरी छ।
तापक्रम बढ्दा हिमालयमा के परिवर्तन भइरहेको छ ?
जलवायु परिवर्तनलाई हामी प्रायः तापक्रम बढ्ने, हिमनदी पग्लिने वा हिउँ घट्ने घटनाका रूपमा मात्रै बुझ्छौं। तर यो कथा हिमालको सतही परिवर्तनमा मात्रै सीमित छैन। उच्च हिमाली क्षेत्रमा यसको प्रभाव गहिरो छ। डब्लूडब्लूएको अध्ययनले देखाएझैं, तापक्रममा भइरहेको परिवर्तनले हिमालको सतहमा मात्र नभई भित्री भौतिक संरचनामै असर पारिरहेको हुन सक्छ।
लामो समयदेखि स्थायी रूपमा जमेर रहेको माटो, गेग्र्यान र चट्टानभित्रको बरफ जसलाई पर्माफ्रोस्ट अर्थात् हिमढिक्का भनिन्छ, तापक्रम बढ्दै जाँदा पग्लिन सक्छ। हिमढिक्का तथा चट्टानका चिरामा जमेको बरफले एक प्रकारको प्राकृतिक सिमेन्टझैं काम गरेर चट्टानी संरचनालाई जोडेर राखेको हुन्छ। त्यो बरफ पग्लिँदा चट्टानको प्राकृतिक बन्धन कमजोर हुन सक्छ। त्यसमाथि पग्लिएको पानी चट्टानका चिराभित्र पस्दा पानीको दबाब बढ्न सक्छ र पहिले नै कमजोर भएको हिमचट्टानी संरचनालाई थप अस्थिर बनाउन सक्छ।
लाङटाङ–लिरुङमा स्थायी रूपमा जमेको हिमढिक्का रहेको प्रत्यक्ष मापन भने उपलब्ध छैन। तर चट्टान भत्किएको स्थानको उचाइ तथा नेपालका अन्य हिमाली क्षेत्रमा गरिएका अध्ययनहरूले यहाँ पनि हिमढिक्काको अवस्था र त्यसमा भइरहेको परिवर्तनलाई सम्भावित कारकका रूपमा हेर्न सकिने आधार दिएका छन्।
करिब ५ हजार १५० मिटर उचाइमा रहेको लाङटाङ–लिरुङको चट्टान भत्किएको स्थान नेपालमा हिमढिक्का पाइने र यसको सीमा परिवर्तन भइरहने संवेदनशील उचाइ क्षेत्रभित्र पर्छ। पछिल्ला दशकमा ५ हजार ५०० मिटरभन्दा तल (विशेषगरी ४ हजार ५०० देखि ५ हजार ५०० मिटरको क्षेत्रमा) हिमढिक्का घट्दै गएको प्रमाणसमेत भेटिएको छ।
हिमनदीमा भइरहेको परिवर्तन पनि यही बदलिँदो भू–प्रणालीको अर्को महत्त्वपूर्ण पाटो हो। डब्लूडब्लूएका अनुसार यस क्षेत्रमा हिमनदीहरू दशकौंदेखि पातलिँदै र खुम्चिँदै आएका छन्। लाङटाङ–लिरुङ क्षेत्रमा पनि पछिल्ला वर्षहरूमा हिमनदीको क्षेत्रफल घट्ने दर तीव्र भएको देखिन्छ। सन् १८१५ तिरको अधिकतम अवस्थाको तुलनामा लाङटाङ–लिरुङ हिमनदीको क्षेत्रफल करिब १८.९ वर्ग किलोमिटरबाट घटेर २०२६ को घटनाअघि ७.३४ वर्ग किलोमिटरमा सीमित भएको थियो। त्यस्तै, भत्किएको हिमचट्टानी भागसँग जोडिएको हिमनदीको एउटा भाग सन् २०१० देखि २०२६ सम्म करिब ३७३ मिटर माथितिर सरेको भूउपग्रहको चित्रले देखाएको छ।
यसको अर्थ केही दशकअघिसम्म बरफले ढाकिएको वा घेरेको हिमचट्टानी भाग क्रमशः नाङ्गिँदै गएको थियो। हिमनदी पातलिँदै र खुम्चिँदै जाँदा त्यसले केवल बरफको मात्रा घटाउँदैन; आसपासका चट्टानको प्राकृतिक टेकोलाई कमजोर बनाउँछ। साथै, हिमनदीबाट पग्लिएर आउने पानी चट्टानका चिराभित्र पस्दा पहिले नै कमजोर रहेको हिमढिक्का र चट्टानी संरचनालाई थप अस्थिर बनाउन सक्छ।
यसरी तापक्रम बढ्नुको प्रभाव केवल हिमनदी पग्लिने एउटा घटनामा सीमित रहँदैन। यसले हिमालको बरफ, जमिन र चट्टानबीचको सम्बन्ध नै क्रमशः बदलिरहेको हुन सक्छ। यही बदलिँदो भौतिक अवस्थाले पहिले नै कमजोर भू–संरचनामाथि थप दबाब सिर्जना गर्दा एउटा सानो परिवर्तन पनि ठूलो शृङ्खलाबद्ध प्रकोपको सुरुआत बन्न सक्छ।

हिमालमा चुपचाप भइरहेको परिवर्तन
अध्ययनले हिमालयमा भइरहेको अर्को मौन परिवर्तनतर्फ पनि सङ्केत गर्छ। हिमालमा शून्य डिग्री तापक्रम रहने उचाइ (जिरो डिग्री आइसोथर्म) क्रमशः माथितिर सर्दै गएको छ। सरल भाषामा भन्नुपर्दा, हिउँ पर्ने सीमा बिस्तारै माथि धकेलिँदै छ। जुन उचाइमा पहिले पानी ‘हिउँ’ बनेर जम्थ्यो, त्यहीँ अब ‘पानीकै रूपमा’ झर्न थालेको छ। पछिल्ला दशकमा (विशेषगरी मनसुन र मनसुनपछिको समयमा) यो सीमारेखा करिब १०० मिटर प्रतिदशकका दरले माथि सर्दै गएको अध्ययनले देखाएको छ।
यो परिवर्तनको असर वर्षा वा हिउँको स्वरूपमा मात्र देखिँदैन। हिउँ जमेर रहने उचाइ माथि सर्दै जाँदा हिमनदी पग्लिने र पातलिने क्रम तीव्र हुन सक्छ; स्थायी रूपमा जमेको भूभाग अर्थात् हिमढिक्का पनि क्षय हुन सक्छ। साथै पानी चट्टानका चिराभित्र पस्दै जाँदा पहिले नै कमजोर भएको चट्टानी संरचनाको प्राकृतिक बन्धन झन् कमजोर बन्न सक्छ। हिमालको माथिल्लो भागमा हिउँको उचाइ फेरिनु भनेको अन्ततः चट्टानको स्थिरता फेरिनु पनि हो।
अध्ययनले सन् २०२५ को अक्टोबरमा लाङटाङ वरपरका मौसम मापन केन्द्रमा असाधारण रूपमा धेरै वर्षा रेकर्ड भएको देखाउँछ; जसको ठूलो हिस्सा पानीका रूपमा नभई हिउँका रूपमा परेको थियो। यो हिउँ २०२६ को वसन्त र मनसुनमा पग्लिँदा हिमाली जलाधारमा थप पानी पुगेको हुन सक्ने सम्भावना छ।
अर्थात्, घटनाभन्दा अघिल्लो वर्षको असामान्य हिमपातले २०२६ मा हिमाली भूभागमा पानीको सञ्चय बढाएको हुन सक्छ। तर उपलब्ध तथ्यले ‘यसरी जम्मा भएको हिउँ पग्लिएर आएको पानीले लाङटाङ–लिरुङको चट्टानी संरचना भत्किनमा प्रत्यक्ष योगदान गरेको थियो’ भन्ने पुष्टि भने गर्दैन।
असामान्य रूपमा तातेको हिमाल
डब्लूडब्लूए अध्ययनले घटनाअघि हिमालमा भइरहेको अर्को परिवर्तन देखाउँछ- हिमाल असामान्य रूपमा तातेको थियो।
लाङटाङ–लिरुङ क्षेत्रमा घटना हुनुअघिका अधिकांश दिनमा तापक्रम सन् २०१६–२०२५ को सोही अवधिको औसतभन्दा माथि थियो। विशेषगरी अगस्ट २४ र २५ मा दैनिक औसत तापक्रम ५.३ देखि ५.४ डिग्री सेल्सियस पुगेको थियो, जबकि विगत १० वर्षको औसत २.७ देखि २.८ डिग्री सेल्सियस मात्र थियो।
दिनको अधिकतम तापक्रममा यो असामान्यता अझ स्पष्ट देखिन्छ। अगस्ट २३–२५ मा अधिकतम तापक्रम करिब ११.३ देखि १२.६ डिग्री सेल्सियस पुगेको थियो, जबकि सोही दिनको २०१६–२०२५ को औसत अधिकतम तापक्रम करिब ५.५ देखि ६.० डिग्री सेल्सियस थियो। अगस्ट २५ मा अधिकतम तापक्रम विगतको औसतभन्दा करिब ७ डिग्री सेल्सियस बढी थियो।
अझ उल्लेखनीय कुरा, अगस्ट १२ देखि २६ सम्म ५ हजार १५० मिटर उचाइमा घण्टागत तापक्रम निरन्तर ० डिग्री सेल्सियसभन्दा माथि रह्यो। यस्तो निरन्तर न्यानोपनले हिउँ र बरफ पग्लिने क्रमलाई तीव्र बनाउँदै चट्टानका चिराभित्र पानी पस्ने अवस्था सिर्जना गरेको हुन सक्ने देखिन्छ।
तर यो असामान्य गर्मी घटना हुनुभन्दा एक–दुई दिन अघिको मात्र कथा थिएन। लाङटाङ–लिरुङ क्षेत्रमा जुलाई र अगस्ट पनि असामान्य रूपमा ताता थिए। अध्ययनले ‘पूर्वऔद्योगिक अवस्थासँग तुलना गर्दा मानवजन्य जलवायु परिवर्तनका कारण यी महिनाको तापक्रममा करिब १.५ डिग्री सेल्सियस वृद्धि भएको र वार्षिक औसतमा यस्तो वृद्धि करिब २ डिग्री सेल्सियस पुगेको’ देखाएको छ। केही जाडो महिनामा यो वृद्धि ३ डिग्री सेल्सियससम्म पुगेको थियो। अर्थात्, २६ अगस्टको प्रलय आउनुअघि नै हिमालयको तापक्रमले आफ्नो पुरानो लय छाडिसकेको थियो।
पूर्वसूचनाभन्दा तीव्र गतिको विपद्
डब्लूडब्लूए अध्ययनको अर्को महत्त्वपूर्ण सन्देश जोखिम न्यूनीकरण र अनुकूलनसँग सम्बन्धित छ। नेपालले नदी बाढीजस्ता जोखिमका लागि पूर्वसूचना, पूर्वतयारी र अन्य जोखिम न्यूनीकरणका उपायमा प्रगति गरिरहेको छ। यस्ता प्रणालीले धेरै अवस्थामा जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
तर रसुवा–भोटेकोशीको घटना फरक प्रकृतिको थियो। यसको गति, परिमाण र एकपछि अर्को प्रक्रिया जोडिँदै गएको जटिलता विद्यमान पूर्वानुमान तथा पूर्वसूचना प्रणालीको क्षमताभन्दा बाहिर थियो। सबैभन्दा प्रभावित क्षेत्रमा उपलब्ध प्रणालीले पर्याप्त समय दिएर मानिसलाई सुरक्षित स्थानमा पुग्ने अवसर दिन वा यति ठूलो क्षति रोक्न सक्ने अवस्था थिएन।
यसको अर्थ पूर्वसूचना प्रणाली उपयोगी छैन भन्ने हैन, ‘जोखिमको स्वरूप बदलिँदा हाम्रो तयारीको स्वरूप पनि बदलिनुपर्छ’ भन्ने हो। नदीको पानी बढ्ने बाढीका लागि प्रभावकारी पूर्वसूचना प्रणालीले ‘हिमचट्टान भत्किएर मलबा र आकस्मिक बाढीमा परिणत हुने जोखिम’ लाई उही तरिकाले समेट्न नसक्न सक्छ।
कतिपय अवस्थामा जोखिम हाम्रो पूर्वानुमान, पूर्वसूचना र अनुकूलनको क्षमताभन्दा छिटो बदलिन सक्छ। त्यसैले बदलिँदो जोखिमसँगै हाम्रो जोखिम बुझ्ने, अनुमान गर्ने र त्यसअनुसार पूर्वतयारी गर्ने क्षमतामा पनि परिवर्तन आवश्यक छ।
तर के जलवायु परिवर्तनले नै विपद् गराएको हो ?
डब्लूडब्लूएले ‘मानवजन्य जलवायु परिवर्तन नभएको भए यही हिमचट्टाने पहिरो हुने थियो वा हुँदैनथ्यो ?’ भन्ने प्रत्यक्ष निष्कर्ष निकालेको छैन। त्यसका लागि वायुमण्डलीय तापक्रमदेखि जमिनको तापक्रम, चट्टानका चिराभित्रको पानीको दबाब र चट्टानी संरचनामा भइरहेको परिवर्तनसम्म जोड्ने थप प्रमाण आवश्यक हुन्छ। त्यसैले ‘जलवायु परिवर्तनले नै रसुवा–भोटेकोशी विपद् गरायो’ भनेर अध्ययनको निष्कर्षलाई सामान्यीकरण गर्नु वैज्ञानिक रूपमा उचित हुँदैन।
बरु अध्ययनले देखाएको तस्बिर यसभन्दा जटिल र गहिरो छ। मानवजन्य गतिविधिका कारण भइरहेको तापक्रम वृद्धिले हिमाली भूभागको भौतिक अवस्था बिस्तारै बदलिरहेको छ र हिउँ, बरफ, हिमढिक्का र चट्टानबीचको सम्बन्ध फेरिँदै छ। यी परिवर्तन पहिलेबाटै विद्यमान भौगर्भिक कमजोरीसँग जोडिँदा हिमाली भूभागमा यस्ता खतराको सम्भावना र तीव्रता झन् बढेर गएको छ। अर्थात्, जलवायु परिवर्तनलाई यस विपद्को एक्लो कारणका रूपमा होइन, जोखिमको पृष्ठभूमि बदलिरहेको दीर्घकालीन प्रक्रियाका रूपमा बुझ्नु बढी वैज्ञानिक हुन्छ।
अर्को कठिन प्रश्न : कहाँ पुनर्स्थापना गर्ने ? पूर्वाधार कहाँ बनाउने ?
उच्च हिमाली क्षेत्रमा जोखिम घटाउन अर्को कठिन चुनौती मानव बसोबास र आर्थिक गतिविधि कहाँ गर्ने ? भन्ने हो। नदी उपत्यकामा बसोबासयोग्य जमिन सीमित छ। सडक, पुल, जलविद्युत्, बजार र अन्य आर्थिक गतिविधि पनि प्रायः नदी तथा खोलाको आसपास नै केन्द्रित हुन्छन्। त्यसैले जोखिममा रहेका मानिस र पूर्वाधारलाई त्यहाँबाट पूर्ण रूपमा हटाउनु व्यवहारमा सहज छैन।
यहीँ अनुकूलनको एउटा महत्त्वपूर्ण सीमा देखिन्छ। जोखिम थाहा हुँदाहुँदै पनि जोखिममा पर्ने मानिस, सम्पत्ति र पूर्वाधारको जोखिमको सम्मुखतालाई पूर्ण रूपमा हटाउन चुनौतीपूर्ण छ।
यस्तो अवस्थामा विपद् आएपछि गरिने प्रतिकार्यमा मात्र निर्भर भएर पुग्दैन। जोखिम आकलन, जोखिममा आधारित भूउपयोग योजना, उच्च हिमाली क्षेत्रको निरन्तर निगरानी, पूर्वसूचना, सुरक्षित पूर्वाधार र दीर्घकालीन विकास योजनालाई एउटै प्रणालीका रूपमा हेर्नुपर्ने हुन्छ। प्रश्न ‘जोखिमबाट मानिसलाई सधैं टाढा राख्न सकिन्छ कि सकिँदैन ?’ भन्ने मात्र होइन; जोखिमलाई बुझेर ‘मानिस र पूर्वाधार कहाँ, कसरी र कति सुरक्षित रूपमा राख्ने ?’ भन्ने पनि हो।

अब नेपालको जलवायु बहस केमा केन्द्रित हुनुपर्छ ?
रसुवा–भोटेकोशीको प्रलयकारी बाढीपछि नेपालको जलवायु बहसलाई अर्को तहमा लैजानुपर्ने देखिन्छ। प्रश्न अब केवल ‘जलवायु परिवर्तनले यो विपद् गराएको हो वा हैन ?’ भन्ने मात्र हैन। अब हामीले सोध्नुपर्ने प्रश्नहरू अझ गहिरा छन्।
तातिँदै गएको हिमालयले कस्ता नयाँ जोखिम सिर्जना गरिरहेको छ ? ती जोखिम हाम्रो पूर्वानुमान, पूर्वसूचना र अनुकूलन क्षमताभन्दा कति छिटो बदलिँदै छन् ? कहाँसम्म अनुकूलन सम्भव छ ? जहाँ अनुकूलनको सीमा देखिन्छ, त्यहाँ हुने क्षति र नोक्सानीलाई कसरी सम्बोधन गर्ने ? यी लगायत प्रश्न अब हाम्रा वैचारिक र नीतिगत बहसको केन्द्रमा हुनुपर्छ।
डब्लूडब्लूए अध्ययनले यी सबै प्रश्नको उत्तर दिएको छैन। तर यसले एउटा महत्त्वपूर्ण वैज्ञानिक आधार भने दिएको छ। भूकम्प, भूगर्भ, हिमनदी, हिमढिक्का, पानी, हिउँ र तापक्रमलाई ‘अलगअलग घटना नभई अन्तरसम्बन्धित जोखिम प्रणालीका रूपमा बुझ्नुपर्ने’ अध्ययनले देखाएको छ। यस्तो बुझाइले मात्र नेपालको जलवायु बहसलाई थप प्रमाणमा आधारित बनाउन सक्छ।
जलवायु न्याय, अनुकूलनका लागि वित्तीय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीका विषयमा नेपालले उठाउँदै आएको आवाजलाई देशभित्र बदलिँदो जलवायु र बढ्दो विपद् जोखिमका वैज्ञानिक प्रमाणसँग जोड्न यसले थप बल दिन सक्छ।
यो बहस अन्तर्राष्ट्रिय जलवायु वार्ताको विषयमा मात्र सीमित छैन; यो नेपालको ‘विपद् कूटनीति’ सँग पनि जोडिन्छ। जब कुनै देशले आफ्नो जोखिम, त्यसको बदलिँदो प्रकृति र अनुकूलनका सीमाबारे बलियो वैज्ञानिक प्रमाण प्रस्तुत गर्न सक्छ, तब अन्तर्राष्ट्रिय सहयोग, प्रविधि, वित्त तथा क्षति र नोक्सानीसम्बन्धी बहसलाई पनि थप ठोस आधार दिन सकिन्छ।
हामीले अब केवल विपद् किन, कहाँ र कहिले हुन्छ ? भनेर मात्र होइन, बदलिँदो जलवायुमा हिमालय स्वयं कसरी बदलिँदै छ भनेर पनि बुझ्नुपर्छ। त्यो बुझाइ भविष्यको जोखिम घटाउने, अनुकूलनका सीमा पहिचान गर्ने र जहाँ क्षति टार्न सकिँदैन त्यहाँ आवश्यक सहयोग र न्यायको आधार तयार गर्ने पहिलो कदम हो। रसुवा–भोटेकोशी बाढीको सबैभन्दा ठूलो वैज्ञानिक सन्देश भनेको बदलिँदै गएको हिमालसँगै जोखिम बुझ्ने आफ्नो तरिका पनि बदल्नुपर्छ भन्ने हो।
भोटेकोशी बाढीले निम्त्याएको प्रलयले हामीलाई एउटा असहज सत्यसँग आमनेसामने गराएको छ- विपद् सधैं हाम्रो कल्पना गरेकै स्वरूपमा आउँदैन। कहिलेकाहीँ विपद् हाम्रो पूर्वानुमानभन्दा छिटो, हाम्रो शब्दावलीभन्दा ठूलो र हाम्रो तयारीभन्दा जटिल भएर आइपुग्छ। त्यसैले अबका दिनहरूमा जोखिमलाई नयाँ दृष्टिकोणले हेर्ने र त्यसअनुसारको जोखिम न्यूनीकरण र पूर्वतयारीमा केन्द्रित हुनुपर्छ।
भविष्यका विपद्हरूलाई मानवीय त्रासदीमा परिणत हुनबाट रोक्न अब हरेक मोर्चामा रूपान्तरणकारी कदम चाल्नु अपरिहार्य छ। तापक्रम वृद्धिलाई सीमित गर्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा तीव्र र महत्त्वाकाङ्क्षी कटौती गर्नुपर्छ। साथै, अब टार्न नसकिने जलवायुजन्य क्षति र नोक्सानीको सामना गरिरहेका जोखिममा रहेका अग्रपङ्क्तिका समुदायहरूलाई वास्तविक अन्तर्राष्ट्रिय सहयोग, वित्त र स्रोत सुनिश्चित गर्नुपर्छ।
जलवायु सङ्कट सिर्जना गर्न नगण्य योगदान गरेको तर त्यसको सबैभन्दा गम्भीर प्रभाव भोगिरहेका नेपालजस्ता जलवायु–जोखिममा रहेका राष्ट्रहरूलाई त्यससँग सामना गर्न सहयोग गर्ने विश्वव्यवस्थामा न्याय र निष्पक्षता सुनिश्चित गर्नुपर्छ।
(अनिल पोखरेल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख हुन्। उनी हाल प्लानेइट रिस्कसँग आबद्ध छन्। माधव उप्रेती रेडक्रस रेडक्रिसेन्ट क्लाइमेट सेन्टरका वरिष्ठ प्राविधिक सल्लाहकार हुन् भने प्रदीप खतिवडा युथ इनोभेसन ल्याबका संस्थापक तथा कार्यकारी निर्देशक हुन्। उनीहरू तीनै जना डब्ल्यूडब्ल्यूए अध्ययनका सहलेखक हुन्।)
प्रतिक्रिया 4