News Summary
Generated by OK AI. Editorially reviewed.- सिड्नी फेरीका कर्मचारीले तलब वृद्धि र कामको अवस्थाबारे माग राख्दै सेप्टेम्बर ११ देखि अक्टोबर ६ सम्म भाडा संकलन नगर्ने घोषणा गरेका छन्।
- युनियनले ओपल कार्ड रिडर बन्द गर्ने भनेको छ भने ट्रान्सपोर्ट फर एनएसडब्ल्यूले नियमित भाडा लाग्ने र ट्याप अन–ट्याप अफ गर्नुपर्ने स्पष्ट पारेको छ।
- ट्रान्सडेभले ५ प्रतिशत तलब वृद्धि मागबारे वार्ता गरिरहेको छ, तर औद्योगिक कारबाहीका कारण केही फेरी सेवा रद्द वा ढिला हुन सक्ने बताइएको छ।
२ असोज, क्यानबेरा । अस्ट्रेलियाको सिड्नीमा फेरीका कर्मचारीहरू तलब वृद्धि र कामको अवस्थासम्बन्धी माग राख्दै औद्योगिक कारबाहीमा उत्रिएका छन्। औद्योगिक कारबाही भनेको कर्मचारी वा श्रमिकले आफ्ना माग पूरा गराउन रोजगारदाता वा व्यवस्थापनमाथि दबाब दिन अपनाउने कामसँग सम्बन्धित सामूहिक कदम हो।
यसमा हडताल मात्र पर्दैन। हड्तालसँगै ओभरटाइम काम नगर्ने, कामको गति घटाउने, निश्चित काम वा जिम्मेवारी बहिष्कार गर्ने, कामको केही भाग मात्र गर्ने, सेवा शुल्क वा भाडा संकलन नगर्ने जस्ता कदम पर्छन् ।
त्यसैले श्रमिकहरूको आन्दोलनको एउटा कार्यक्रमले यात्रुलाई प्रत्यक्ष राहत दिने दाबी गरिएको छ।
म्यारिटाइम युनियन अफ अस्ट्रेलिया (एमयूए) का सदस्यहरूले सेप्टेम्बर ११ देखि अक्टोबर ६ सम्म सिड्नी फेरीको ओपल कार्ड रिडर बन्द गर्ने र भाडा संकलन तथा प्रमाणीकरण नगर्ने घोषणा गरेका छन्। युनियनका अनुसार यसबाट यात्रुले उक्त अवधिमा फेरीमा भाडा नतिरी यात्रा गर्न पाउनेछन्।
आफ्नो तलब वृद्धिका लागि आन्दोलन गर्दा सर्वसाधारणलाई सास्ती नहोस् र सेवा पनि सञ्चालनमा रहोस् भन्दै आन्दोलनकारीले यात्रुलाई एक महिनासम्म निःशुल्क यात्रा गर्ने व्यवस्था गरेका हुन् ।
यद्यपि, न्यू साउथ वेल्सको यातायात निकाय ट्रान्सपोर्ट फर एनएसडब्ल्यूले भने नियमित भाडा लाग्ने स्पष्ट पारेको छ। उसका अनुसार यात्रुले ओपल कार्ड वा कन्ट्याक्टलेस भुक्तानी माध्यमबाट अनिवार्य रूपमा ट्याप अन र ट्याप अफ गर्नुपर्छ। सरकारी सूचनामा ओपल रिडर सञ्चालनमै रहने उल्लेख छ।
फेरी यात्राको भाडालाई लिएर युनियन र सरकारको भनाइ फरक देखिए पनि युनियनले आफूहरूले भाडा संकलन नगर्ने जनाएको छ ।
सरकार र फेरी सञ्चालकले नियमित भाडा लागू हुने जिकिर गरिरहेका छन्।
५ प्रतिशत तलब वृद्धिको माग
सिड्नी फेरीका कर्मचारी र निजी सञ्चालक कम्पनी ट्रान्सडेभबीच नयाँ रोजगारी सम्झौतालाई लिएर लामो समयदेखि वार्ता चलिरहेको छ। युनियनले ५ प्रतिशत तलब वृद्धि तथा त्यसपछि मुद्रास्फीतिसँग मेल खाने वार्षिक तलब वृद्धि माग गरेको छ।
एबीसीका अनुसार ट्रान्सडेभले वार्ताका क्रममा वार्षिक ३.३ प्रतिशत तलब वृद्धि प्रस्ताव गरेको थियो। युनियनले त्यसलाई पर्याप्त नभएको बताएको छ।
युनियनले यात्रुलाई आन्दोलनको आर्थिक भार नपरोस् भनेर भाडा संकलन नगर्ने रणनीति अपनाएको जनाएको छ। तर सरकारले यस्तो कदम औपचारिक रूपमा स्वीकृत औद्योगिक कारबाहीको दायरामा नरहेको बताएको छ।
केही फेरी सेवा प्रभावित
औद्योगिक कारबाहीका कारण सिड्नीको फेरी सेवा नियमित रूपमा सञ्चालन हुन नसक्ने अवस्था पनि देखिएको छ। ओभरटाइम र केही कामका व्यवस्थामा लगाइएको प्रतिबन्धका कारण सेवा रद्द, ढिला वा परिवर्तन हुन सक्ने ट्रान्सपोर्ट फर एनएसडब्ल्यूले जनाएको छ।
सेप्टेम्बर १२ र १३ मा प्यारामट्टा रिभरको एफ३ फेरी सेवा नै सञ्चालन नगर्ने निर्णय ट्रान्सडेभले गरेको थियो। कम्पनीले उपलब्ध जनशक्ति व्यवस्थापन गरेर अन्य मार्गको सेवा सञ्चालनलाई निरन्तरता दिन यस्तो निर्णय गरिएको जनाएको थियो।
सरकारले यात्रुलाई फेरी चढ्नुअघि सेवा रुट तथा समयबारे जानकारी लिन र सम्भावित ढिलाइ वा रद्दका लागि तयार रहन आग्रह गरेको छ।
प्रतिक्रिया 4