+
+
Shares
रसुवा बाढी :

प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिँदै, ८१ जनामा देखियो झाडापखाला

अस्थायी आवास र होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाइको समस्या, व्यवस्थित शौचालयको अभाव र मानिसहरूको भिडका कारण संक्रमणको जोखिम बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले बताए ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ असोज २ गते १४:१०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीपछि होल्डिङ सेन्टरमा बसिरहेका ८१ जनामा झाडापखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
  • अस्थायी आवासमा खानेपानी, सरसफाइ र शौचालयको अभाव तथा भिडभाडका कारण संक्रमणको जोखिम बढेको मन्त्रालयले बताएको छ।
  • उत्तरगाया गाउँपालिकास्थित शिवालय आधारभूत विद्यालयमा बसिरहेका केही बाढी प्रभावितमा ज्वरो देखिएको छ, र एक वडाध्यक्षलाई हेलीमार्फत काठमाडौं लगिएको छ।

२ असोज, काठमाडौं । रसुवा बाढीपछि प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ । पछिल्लो तीन सातामा विभिन्न होल्डिङ सेन्टरमा ८१ जनामा झाडापखाला देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार अस्थायी आवास र होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाइको समस्या, व्यवस्थित शौचालयको अभाव र मानिसहरूको भिडका कारण संक्रमणको जोखिम बढेको हो ।

‘होल्डिङ सेन्टरहरूमा बसिरहेका व्यक्तिहरूमा झाडापखाला देखिएको छ । ठूलो आउटब्रेक वा महामारीकै रूप लिने गरी भने फैलिएको छैन,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘अस्थायी बसोबासका कारण संक्रमणको जोखिम बढी हुने भएकाले सतर्कता अपनाएका छौँ ।’

बाढी-पहिरोपछि प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिने जोखिम बढ्छ । बाढीका कारण खानेपानीका मुहान तथा खाद्य पदार्थ दूषित हुने भएकाले पानीजन्य रोगको संक्रमण फैलिन सक्ने जनस्वास्थ्यविद् बताउँछन् । विशेषगरी झाडापखाला, हैजा, रुघाखोकी, टाइफाइड, डेंगु, लेप्टोस्पाइरोसिस, भाइरल हेपाटाइटिस तथा विभिन्न छालासम्बन्धी संक्रमणको जोखिम बढ्छ ।

रसुवाको उत्तरगाया गाउँपालिकास्थित शिवालय आधारभूत विद्यालयमा बसिरहेका केही बाढी प्रभावितमा ज्वरो देखिएको छ । निलकण्ठ माध्यमिक विद्यालयका शिक्षक प्रकाश नेपालले केही दिनयता ज्वरोका बिरामी बढेको बताए ।

‘होल्डिङ सेन्टरमा ५/७ जनालाई ज्वरो देखिएको,’ नेपालले अनलाइनखबरसँग भने, ‘उत्तरगया-५ का वडाध्यक्ष एकनाथ आचार्यलाई ज्वरोले गाह्रो बनाएर हेलीमार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार प्राकृतिक विपद्पछि बाढी प्रभावित क्षेत्रमा महिनौंसम्म पानीजन्य रोगको प्रकोप फैलिने सम्भावना हुन्छ ।

‘पानीको मुहान दूषित हुँदा झाडापखाला, हैजा र टाइफाइड जस्ता रोगहरू सजिलै फैलिन्छन्,’ डा. पुनले भने, ‘बाढी र डुबानपछि खानेपानी प्रदूषित हुने भएकाले हैजाको जोखिम झन् बढ्छ ।’

जनस्वास्थ्यविद्का अनुसार विपद्पछि तत्काल देखिन सक्ने रोगमध्ये पानीजन्य संक्रमण प्रमुख हुन्छ । हैजा मात्रै नभई विभिन्न किसिमका ब्याक्टेरिया तथा भाइरसका कारण हुने झाडापखाला र ज्वरोका समस्या पनि देखिन सक्ने भएकाले निरन्तर निगरानी आवश्यक हुन्छ ।

‘हैजाले धेरैलाई गम्भीर बिरामी बनाउन सक्छ । एक-दुई जनामा हैजा देखिँदा धेरै जनामा फैलिने सम्भावना हुन्छ,’ डा. पुन भन्छन्, ‘झाडापखाला वा ज्वरो जस्ता लक्षण देखिने बित्तिकै पहिचान गरी तत्काल उपचार गरे संक्रमण फैलिनबाट धेरै हदसम्म रोक्न सकिन्छ ।’

हैजामा लगातार पखाला लाग्ने, बान्ता हुने र मांसपेसी बाउँडिने जस्ता लक्षण देखिन सक्छन् । संक्रमण भएको १२ घण्टादेखि पाँच दिनभित्र, प्रायः दुई–तीन दिनमै लक्षण देखिन सक्ने चिकित्सकहरू बताउँछन् । त्यसैले बाढी प्रभावित क्षेत्रमा खानेपानी शुद्धीकरण र सुरक्षित व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ ।

बाढीपछि विस्थापितहरूलाई होल्डिङ सेन्टरमा सामूहिक रूपमा राख्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने जोखिम धेरै हुन्छ । विशेषगरी खोकीबाट सर्ने फ्लु, कोभिडलगायत श्वासप्रश्वाससम्बन्धी संक्रमण पनि भिडभाडमा फैलिन सक्छ ।

डा. शेरबहादुर पुन

विपद्पछि संक्रामक रोग फैलिएको अन्तर्राष्ट्रिय अनुभव सुनाउँदै डा. पुनले सन् २०१० मा हाइटीमा गएको विनाशकारी भूकम्पपछि केही महिनापछि हैजाको ठूलो प्रकोप देखिएको उदाहरण दिए ।

भूकम्पपछि प्रभावितहरूको उचित व्यवस्थापन र आवश्यक भौतिक पूर्वाधारको अभावले संक्रमणको जोखिम लामो समयसम्म कायम रहन सक्ने उनको भनाइ छ ।

‘हाइटीमा जनवरीमा भूकम्प गएको थियो, तर ठूलो हैजाको प्रकोप अक्टोबरमा देखियो । विपद् सकिएसँगै संक्रमणको जोखिम सकिँदैन,’ उनले भने, ‘जबसम्म प्रभावितहरूको व्यवस्थित बसोबास, खानेपानी, सरसफाइ र अन्य आवश्यक पूर्वाधारको व्यवस्था हुँदैन, संक्रामक रोगको जोखिम रहिरहन्छ ।’

बाढीपछि विभिन्न ठाउँमा पानी जम्ने भएकाले डेंगुको जोखिमसमेत बढ्ने विज्ञहरू बताउँछन् । लामखुट्टेले जमेको सफा पानीमा प्रजनन गर्ने भएकाले बाढी र डुबानपछि बनेका पानीका खाल्डाखुल्डी डेंगु फैलाउने लामखुट्टेका लागि अनुकूल बन्न सक्छन् ।

बाढीले बगाएर ल्याएको फोहोरका कारण पानीका स्रोत दूषित हुने जोखिम पनि उत्तिकै हुन्छ । दूषित पानी र खानेकुराका माध्यमबाट विभिन्न सरुवा रोगको संक्रमण फैलिन सक्छ ।

बाढीपछि विस्थापित बालबालिकाहरू शिवालय आधारभूत विद्यालयमा खाजा खाँदै । फाइल तस्वीर

त्यसैगरी, विपद्‌पछि लेप्टोस्पाइरोसिसको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् । लेप्टोस्पाइरोसिस ब्याक्टेरियाबाट हुने संक्रमण हो । संक्रमित जनावरको पिसाबबाट दूषित पानी वा माटोको सम्पर्कमा आउँदा मानिसमा यो संक्रमण सर्न सक्छ ।

शरीरमा घाउ वा काटिएको ठाउँ भएमा दूषित पानीको सम्पर्कबाट संक्रमण सजिलै सर्न सक्छ । दूषित पानी पिउँदा पनि संक्रमण हुन्छ ।

‘शरीरमा घाउ भएमा, छाला काटिएर खुला भएमा वा संक्रमित पानी पिएमा संक्रमण छिट्टै फैलिन सक्छ,’ पुन भन्छन्, ‘बाढी-पहिरोपछि यो रोग फैलिएका उदाहरण छन् ।’

लेप्टोस्पाइरोसिसका लक्षण सामान्यतया संक्रमण भएको दुईदेखि ३० दिनभित्र देखिन सक्छन् । ज्वरो आउने, टाउको दुख्ने, मांसपेसी तथा जोर्नी दुख्ने, आँखा रातो हुने, पेट दुख्ने, झाडापखाला र बिबिरा आउने जस्ता लक्षण देखिन सक्छन् । गम्भीर अवस्थामा जन्डिस, मिर्गौला तथा स्नायु प्रणालीमा समस्या देखिनुका साथै ज्यानसमेत जान सक्ने चिकित्सकहरू बताउँछन् ।

बाढीपछि टाइफाइड पनि प्रमुख स्वास्थ्य चुनौतीका रूपमा देखिन सक्ने जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् । टाइफाइड दूषित पानी तथा खानेकुराबाट सर्ने भएकाले बाढी प्रभावित क्षेत्रमा यसको जोखिम बढी हुन्छ ।

‘घर भत्किएका छन्, शौचालय छैनन् । जहाँ पायो त्यहीँको खानेपानी प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ,’ मरासिनी भन्छन्, ‘यस्तो अवस्थामा टाइफाइडको जोखिम झन् बढ्छ ।’

समयमा पहिचान र उपचार नभए टाइफाइडले आन्द्रामा प्वाल पर्ने, रक्तश्राव हुने तथा अन्य अंगमा समेत जटिलता निम्त्याउन सक्छ । संक्रमण भएको सामान्यतया ६ देखि ३० दिनभित्र लक्षण देखिन सक्छन् भने गम्भीर जटिलता लक्षण देखिएको दुई–तीन सातापछि देखिन सक्छ ।

त्यसैगरी, बाढी प्रभावितमा छालामा फंगल संक्रमणको जोखिम बढेको छ । केही मानिसमा छालासँग सम्बन्धित रोग पनि देखिएको छ । विशेषगरी अहिले मानिस र पशुपन्छीका शव जताजतै छन् । प्रभावित क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।

छाला रोग विशेषज्ञ डा. प्रज्ज्वल पुडासैनीका अनुसार यस्तो बेलामा छालासम्बन्धी समस्या बढ्छ । ‘छाला चिलाउने, पोल्ने र बिबिरा आउने समस्या बढ्छ,’ उनी भन्छन्, ‘फंगस ओसिलो ठाउँमा सक्रिय हुन्छ र छालामा टाँसिएर असर गर्छ ।’

स्वास्थ्य मन्त्रालय – Online Khabar

मन्त्रालय भन्छ– समन्वय गरिरहेका छौं

संक्रमणको जोखिमलाई ध्यानमा राखेर प्रभावित क्षेत्रमा रोगको पहिचान तथा उपचारको व्यवस्था मिलाउनुका साथै सरसफाइमा ध्यान दिन सम्बन्धित निकायसँग समन्वय गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले बाढी प्रभावित क्षेत्रमा झाडापखाला फैलिन नदिन पूर्वतयारी र सावधानी अपनाइएको बताए ।

उनका अनुसार प्रभावित क्षेत्रका केही व्यक्तिमा झाडापखाला देखिए पनि तत्कालै ठूलो प्रकोपका रूपमा फैलिएको अवस्था मन्त्रालयले आकलन गरेको छैन ।

‘स्वास्थ्यकर्मी खटिरहनुभएको छ । आवश्यक औषधि उपचारलगायत सामग्री पनि राखिएको छ,’ सचिव देवकोटाले भने, ‘होल्डिङ सेन्टरहरूमा स्वास्थ्यकर्मी छन् । सरसफाइमा पनि स्थानीय तह र सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’

उनले झाडापखाला फैलिन थालेमा तत्कालै नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गर्नेसहितका तयारी गरिएको बताए । प्रभावित क्षेत्रलाई सम्भावित जोखिम क्षेत्रका रूपमा लिएर हैजाविरुद्धको खोपसमेत उपलब्ध गराइएको बताए ।

बाढीपछि विस्थापित भएका बालबालिकाहरू शिवालय आधारभूत विद्यालयमा खेल्दै । फाइल तस्वीर

पानी र खानेकुरामा विशेष ध्यान दिन चिकित्सकको सुझाव

बाढी-पहिरो तथा डुबान प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन स्थानीय तह, स्वास्थ्य संस्था र सरकारी निकायबीच तत्काल समन्वय आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

स्वच्छ खानेपानीको व्यवस्था, फोहोर व्यवस्थापन, रोगको निगरानी तथा जोखिमयुक्त क्षेत्रमा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ ।

जनस्वास्थ्यविद् डा. मरासिनीका अनुसार सम्भावित संक्रमणका क्षेत्र पहिचान गरी स्थानीय तह र स्वास्थ्य संस्थाले तत्काल रोकथामका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

‘सरुवा रोग फैलन सक्ने सम्भावित ठाउँहरूको अध्ययन गरी तत्काल रोकथामको काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘स्थानीय तहले जनचेतनासँगै रोग नियन्त्रणका लागि सक्रिय भएर काम गरे संक्रमण फैलिनबाट धेरै हदसम्म रोक्न सकिन्छ ।’

बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी, स्वास्थ्य शिविर, रोगको निगरानी र आवश्यकताअनुसार मनोसामाजिक परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

पानीजन्य रोगबाट बच्न उमालेर वा सुरक्षित रूपमा शुद्धीकरण गरिएको पानी मात्र पिउन, ताजा खानेकुरा प्रयोग गर्न, शौचालयमै दिसापिसाब गर्न तथा दिसापिसाब गरेपछि र खाना बनाउनुअघि साबुनपानीले राम्रोसँग हात धुन चिकित्सकहरूले सुझाएका छन् । काँचै खाने तरकारी तथा सलाद पनि सफा पानीले राम्ररी धोएर मात्र खानुपर्ने उनीहरूको सुझाव छ ।

‘हात, खानेकुरा र पानी सफा राखेमा धेरैजसो सरुवा रोगबाट बच्न सकिन्छ,’ डा. पुन भन्छन्, ‘फोहोरबाट धेरै रोग सर्छन् । त्यसैले सफा, उमालेको पानी र ताजा खानेकुरा प्रयोग गर्नुपर्छ ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?