News Summary
Generated by OK AI. Editorially reviewed.- कमला पन्तले विपद् आउनुअघि नै तयारी र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरकारसँग माग गरिन् ।
- उनले विपद् आएपछि उद्धार गर्ने परम्परा अन्त्य गरी विपद् जोखिम न्युनिकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।
- पन्तले जल तथा मौसम विज्ञान विभागको क्षमता बढाएर पूर्वसूचना स्थानीय तह हुँदै जनताको घरदैलोसम्म पुर्याउनुपर्ने जोड दिइन् ।
२ असोज, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले विपद् आएपछि उद्धार गर्ने परम्परा अन्त्य गर्दै विपद् आउनुअघि नै आवश्यक तयारी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेकी छिन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै पन्तले नागरिकको सुरक्षा राज्यको प्रमुख जिम्मेवारी भएको बताइन् । नागरिक सुरक्षित रहेको ठाउँमा मात्रै सरकार नागरिकप्रति संवेदनशील र जिम्मेवार रहेको बुझ्न सकिने उनको भनाइ छ ।
संसद्ले पटक–पटक विपद् आउनुअघि नै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराए पनि राज्यले त्यसलाई पर्याप्त रूपमा कार्यान्वयन नगरेको बताइन् ।
‘यो नागरिकको सुरक्षाको विषय हो । जहाँ नागरिक सुरक्षित हुन्छन्, त्यहाँको सरकार जिम्मेवार, संवेदनशील र जनताप्रति उत्तरदायी छ भनेर बुझ्नुपर्छ । नेपालमा विपद् आएपछि उद्धार गर्ने होइन, विपद् आउनुअघि नै तयारी गर्ने संस्कृतिको विकास गर्नुपर्छ । हामीले संसद्बाट पटकपटक सरकारको ध्यानाकर्षण गराएका छौं,’ सांसद पन्तले भनिन् ।
पन्तले विपद् व्यवस्थापनका क्षेत्रमा विज्ञहरूले दिएका सुझाव र अध्ययनलाई सरकारले व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । उनका अनुसार विपद् जोखिम न्युनिकरणका लागि पूर्वतयारीलाई प्राथमिकतामा राख्न आवश्यक छ । उनले जल तथा मौसम विज्ञान विभागले नदी, मौसम, जलविज्ञान तथा पूर्वसूचना प्रणालीसँग सम्बन्धित सरकारी जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै विभागको प्राविधिक तथा संस्थागत क्षमता थप वृद्धि गर्नुपर्ने बताइन् ।
‘विपद् आउनुअघि सरकारले कति तयारी गरेको छ ? तर राज्यले त्यसलाई गम्भीरतापूर्वक सुनेको देखिएन । विपद् कसरी आउँछ, त्यसको जोखिम कसरी घटाउन सकिन्छ भन्नेबारे विज्ञहरूले निरन्तर सुझाव दिइरहेका छन् । राज्यले ती सुझावलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ,’ उनले भनिन्, ‘जल तथा मौसम विज्ञान विभागले नदी, मौसम, जलविज्ञान तथा पूर्वसूचना प्रणालीसम्बन्धी जिम्मेवारी निर्वाह गर्दै आएको छ । यसको क्षमता अझ बढाउनुपर्छ र पूर्वसूचना प्रणालीलाई स्थानीय तह हुँदै जनताको घरदैलोसम्म पुर्याउनुपर्छ ।’
उनले विपद् जोखिममा रहेका समुदाय, विशेषगरी किसानसम्म समयमै पूर्वसूचना पुर्याउने प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया 4