+
+
Shares

विपद्‌बारे विगतमा सांसदहरूले दिएका सुझाव सुनिएनन् : कमला पन्त

राष्ट्रिय सभाकी सदस्य कमला पन्तले विपद्‌बारे विगतमा सांसदहरूले सरकारलाई दिएका सुझाव नसुनिएको बताएकी छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद्‌बारे संसद्ले दिएका चेतावनी सरकारले नसुनेको भन्दै रसुवामा हराएकाको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरिन्।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीमा परेकामध्ये ९८७ जनाको शव फेला परेको छ।
  • प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन्, २७९ जना घाइते छन् र ११ हजार ८१४ जनाको उद्धार गरिएको छ।

१६ भदौ, काठमाडौं । राष्ट्रिय सभाकी सदस्य कमला पन्तले विपद्‌बारे विगतमा सांसदहरूले सरकारलाई दिएका सुझाव नसुनिएको बताएकी छन् । मंगलबार सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘आज हामी महाविपत्तिको सामना गरिरहेका छौं । तर यस्तो जोखिमबारे हामीले विपत्ति आउनु अगाडि नै यही संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराएका थियौं’ उनले भनिन् ।

मनसुनजन्य विपद् बाढी, पहिरो, डुबान र पूर्व तयारीका विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराएको स्मरण गर्दै उनले त्यसअनुसार काम हुन नसकेको बताइन् ।

पूर्वतयारी गर्न सकेको भए क्षति कम गर्न सकिन्थ्यो भन्ने उनको भनाइ छ ।

‘बाढी, पहिरो, डुबान र अतिबृटि अब असमान्य घटना रहेनन् । जलवायु परिवर्तनका कारण यस्ता जोखिम झन बढिरहेका छन्’ उनले भनिन्, ‘त्यसैले अब चेतावनीलाई वेवास्ता गर्ने होइन । तत्काल कार्यमा परिणत गर्ने समय हो ।’

उनले रसुवामा गएको विनाशकारी बाढीका कारण वेपता भएका नागरिकको खोजी र उद्धारमा राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरिन् ।

जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि उनको माग छ । भदौ १० गते विनाशकारी बाढी भएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेकामध्ये ९८७ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेका हुन् ।

प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरसी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते छन् । हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ ।

उद्धार, राहत तथा पुनःस्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?