२ असोज,बुटवल । पाल्पामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई प्रहरीले कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहतका कार्यालयबाट भदौ महिनामा विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा मापसे गरी सवारी चलाएको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार मापसे गरी सवारी चलाएर सार्वजनिक हित तथा सुरक्षाविरुद्ध काम गरेकामा पाँचै जनाविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरिएको छ ।
कारबाहीमा पर्नेमा ३२ वर्षीय मिलन पराजुली, ३५ वर्षीय विजय कार्की, ४२ वर्षीय लक्ष्मण बस्नेत, ४२ वर्षीय जोगबहादुर कनौजे र २९ वर्षीय मनबहादुर दिशा रहेका छन् ।
पराजुली तानसेन नगरपालिका–७, लामिडाँडामा चेकजाँचका क्रममा लुम्बिनी प्रदेश ०१–००२ ज ००२५ नम्बरको जिप चलाइरहेका बेला भदौ २३ गते पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
यस्तै, भदौ ३० गते तानसेन नगरपालिका–८, बृन्दावनमा लुम्बिनी प्रदेश ०१–००२ ज ०१७२ नम्बरको ईभी गाडी चलाइरहेका कार्की पनि मापसे गरेको अवस्थामा फेला परेका थिए ।
भदौ २३ गते तानसेन–७ लामिडाँडामा गरिएको चेकजाँचमा गुल्मी रेसुङ्गा नगरपालिका–१० का बस्नेत मापसे गरेर लुम्बिनी प्रदेश ०१–००२ ज ००४९ नम्बरको ईभी हाइस चलाउँदै गरेको अवस्थामा पक्राउ परेका थिए ।
यसैगरी, तानसेन नगरपालिका–९ अमिलिहानमा गरिएको चेकजाँचका क्रममा मापसे गरेका कनौजेले चलाएको अटो रिक्सा पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
भदौ ३१ गते तानसेन–७ थाटीमा गरिएको चेकजाँचमा माथागढी गाउँपालिका–४ का २९ वर्षीय मनबहादुर दिशाले चलाएको लु २ ख ५५८३ नम्बरको बससमेत मापसेका कारण नियन्त्रणमा परेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।
मापसे गरी सवारी चलाउने कार्यले सडक सुरक्षा तथा सर्वसाधारणको जीवन जोखिममा पार्ने भएकाले चेकजाँच र कारबाहीलाई निरन्तरता दिएको भट्टराईले बताए ।
मापसे गरेर सार्वजनिक यातायात चलाउंदा ठूलो मानवीय क्षति हुनसक्ने जोखिम भएकाले मापसेविरुद्धको कारवाहीलाई अभियानकै रूपमा कडाइका साथ लागु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिक्रिया 4