+
+
Shares
वर्डक्याम्प काठमाडौं-२०२६ :

उज्ज्वल थापा सम्झिँदै तन्नेरीको ‘प्रविधि उत्सव’

फ्लोरमा प्रविधि क्षेत्रका दिग्गजदेखि नवप्रवेशी राखेर स्टेजमा उभिने पुराना वक्ताहरूले बारबार एउटा नाम दोहोर्‍याइरहेका थिए- उज्ज्वल थापा ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ असोज ४ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्डक्याम्प काठमाडौं–२०२६ मा झन्डै ४०० सहभागीमध्ये धेरैजसो युवा, वर्डप्रेस प्रयोगकर्ता, डेभलपर, डिजाइनर र विद्यार्थी थिए।
  • कार्यक्रमका वक्ताले उज्ज्वल थापाको योगदान स्मरण गरे, जसले सन् २०१२ मा पहिलो वर्डक्याम्प काठमाडौं आयोजना गर्नेमध्ये एक थिए।
  • वर्डक्याम्प काठमाडौंले यस पटक पनि दुई विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ, जसमा टिकट, बसाइँ र यातायात खर्च कार्यक्रमले बेहोर्नेछ।

४ असोज, काठमाडौं। हलभरि युवा अनुहार थिए। कति पहिल्यैदेखि जोडिएका, कति पहिलो पटक आएका। उनीहरूको हुटहुटी र उत्साह हेर्दा लाग्छ, नेपालको प्रविधि क्षेत्रले छिट्टै छलाङ मार्नेवाला छ।

अघिल्लो दिनको कार्यशाला र भोलिपल्टको कन्फेरेन्समा तन्नेरीका जमघट देख्दा उनीहरूका लागि यो हरेक वर्ष दोहोरिने एउटा चाड जस्तै भइसकेको बुझ्न कुनै गाह्रो थिएन।

फ्लोरमा प्रविधि क्षेत्रका दिग्गजदेखि नवप्रवेशी राखेर स्टेजमा उभिने पुराना वक्ताहरूले बारबार एउटा नाम दोहोर्‍याइरहेका थिए- उज्ज्वल थापा। थापा नेपालमा वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने अभियानमा निरन्तर लागिपरेका नेता हुन्।

फ्लोरमा थापाको नाम बारम्बार दोहोरिइरहँदा कतिपयलाई यो कार्यक्रम राजनीतिक जस्तो लाग्न सक्छ। तर यसमा दलगत राजनीतिको साइनो छैन। कार्यक्रम थियो-  वर्डक्याम्प काठमाडौं-२०२६।

गैरीधारास्थित एलिस रिसेप्सन्सको हलमा सेप्टेम्बर १८ र १९ मा चलेको दुई दिने कार्यक्रममा झन्डै ४०० जना सहभागी भए। धेरैजसो युवा। वर्डप्रेस प्रयोगकर्ता, डेभलपर, डिजाइनर र विद्यार्थीहरूले हल भरिएको थियो।

प्रविधिसम्बन्धी कार्यक्रममा उज्ज्वल थापाको नाम किन त्यति धेरै दोहोरिरहेको छ भन्ने जिज्ञासा हलमा देखिन्थ्यो। वक्ताहरूले ‘उज्ज्वल दाइ’ भन्दै सम्झिरहँदा त्यो नवप्रवेशी डेभलपरका लागि चासोको विषय बनेको थियो।

पछि अनौपचारिक कुराकानीमा बुझ्दा थाहा भयो- थापा नै सन् २०१२ मा वर्डक्याम्पको यो यात्रा सुरु गर्नेमध्येका एक थिए। साथीहरूसँग मिलेर उनले पहिलो ‘वर्डक्याम्प काठमाडौं’ आयोजना गरेका थिए।

थापा अहिले छैनन्। तर अहिले उनको सम्झनामा हरेक वर्डक्याम्पमा छात्रवृत्ति दिइन्छ। टिकट, बसाइँ र यातायात खर्च पनि कार्यक्रमले नै बेहोर्छ। विद्यार्थीहरू छात्रवृत्तिका लागि आवेदन दिन्छन्, त्यसपछि छनोट गरिन्छ। यस पटक पनि दुई जनालाई छात्रवृत्ति दिने घोषणा वर्डक्याम्प काठमाडौंले गरेको छ।

त्यसैले कार्यक्रम हलमा र डेभलपरका मनभरि उज्वल थापा बोकिनु कुनै औपचारिकता थिएन। वर्डप्रेस कम्युनिटीको जरासँग जोडिएको विषय थियो। उद्घाटनमा आयोजकले भने जस्तै कुनै समय उज्ज्वल  थापाहरूले गरेको यो सुरुवातले नै वर्डप्रेस डेभलपरलाई गोलबद्ध गरेर राखिरहेको छ।

त्यही जरासँग जोडिएका छन्, साकार उपाध्याय खतिवडा। उनी यसपालि पहिलो पटक अर्गनाइजर बने। जबकि, उनी सन् २०१३ देखि यो कम्युनिटीमा थिए। त्यतिबेला ब्याचलर दोस्रो वर्ष पढ्दै गरेका १९-२० वर्षे ठिटो भर्खरै प्रोफेसनल काममा बामे सर्दै थिए।

त्यहीबेला उनलाई वर्डप्रेस सिक्नुपर्ने भयो। एक जना दाइले ट्रेन गरे। त्यही साल पहिलो पटक वर्डक्याम्प गए। साकारको विगतको स्मरणले भन्छ- हल सानो थियो। मान्छे पनि कम।

यद्यपि, त्यसबेला युवाहरूमा उत्साह थपिदिनेको कमी थिएन। तिनैमध्येका थिए, उज्ज्वल थापा। साकारको मगजमा उज्ज्वलसँगमा ती सुखद स्मृति घुमिरहन्छन्। पहिलो पटक वर्डक्याम्पमा पुगेपछि उनले  त्यहाँका स्पिकरहरूलाई सुने। त्यसपछि उनलाई लाग्यो- म पनि यसरी बोल्नसक्छु कि !

साकारले अर्को साल बोल्छु भन्ने सोच बनाए। र, २०१४ मा स्पिकर भए। उनका अनुसार, त्यसबेला कार्यक्रमको स्केल सानो थियो। साउन्ड, प्रोजेक्टर, इन्टरनेट सबैमा समस्या हुन्थ्यो। अहिले गिगाबिट इन्टरनेट छ। १०० जना एकैचोटि काम गर्न सक्छन्। बदलिँदो प्रविधिसँगै युवामा सिर्जनात्मक पक्ष बढेको छ। अन्तर्राष्ट्रिय स्पिकरहरू आउन थालेका छन्। सन् २०१२ देखि निरन्तर चलेकाले यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै पक्षलाई तानेको छ।

‘पहिला सोच्न सकिन्थ्यो, गर्न गाह्रो हुन्थ्यो। अहिले गर्नसक्ने भएका छौं। उज्ज्वल दाइहरूले सुरु गर्नुभएको बाटो अहिले यति फराकिलो भएको छ, सम्झँदै आनन्द लाग्छ,’ साकारले अनलाइनखबरसँग भने।

सन् २०१२ मा सुरु भए पनि त्यसको दुई वर्षसम्म वर्डक्याम्पले महिला स्पिकर पाएको थिएन। सन् २०१४ मा आएर एलिना कक्षपति पहिलो महिला स्पिकर बनिन्।

एलिना त्यसअघिका दुई वर्डक्याम्पमा भने सहभागी मात्र थिइन्। उनका अनुसार, त्यतिबेला महिला स्पिकर कोही थिएनन्। दाइहरूले चिनेर ‘तिमी ट्राइ गर’ भने। जबकि, उनले पहिले कहिल्यै त्यस्ता इभेन्टमा बोलेकी थिइनन्। डर पनि लाग्थ्यो। तर कसैले सुरु गरेपछि अरूलाई पनि सजिलो हुन्छ भन्ने सोचेर गइन्। अग्रजहरूको अभिभावकत्वमा कसरी बोल्ने, कसरी अडियन्स फेस गर्ने भनेर सिकिन्। त्यसपछि उनको आत्मविश्वासले आजसम्म पनि उडान भरिरहेको छ।

अहिले पनि नयाँ स्पिकरलाई अग्रजहरूको टोलीले उसैगरी साथ दिन्छ। ‘यसले मलाई टेक कम्युनिटीमा चिनायो। मान्छे चिन्न सिकायो,’ एलिनाले स्मरण गरिन्, ‘पहिलो पटक सहभागी भएर गएकी थिएँ। अहिले कहिले अर्गनाइजर, कहिले भोलन्टियर भएँ। अहिले ग्लोबल लिडको जिम्मेवारी पाएकी छु।’

स्पिकर बन्न कुनै मापदण्ड छैन। नवप्रवेशी भए पनि आफ्नो विषयमा आत्मविश्वास भए पुग्छ। सहभागीले कन्ट्रिब्युटर डेमा केही योगदान गर्ने अनि भोलिपल्ट कन्फेरेन्समा बोल्ने/सुन्ने गतिविधिमा सहभागी हुन्छन्।

यसमा कसरी जोडिने ? नयाँ मान्छेलाई एलिना सल्लाह दिन्छिन्- फेसबुक, इन्स्टाग्राम, लिङ्कडिनमा वर्डप्रेस काठमाडौं र नेपालका पेज फलो गर्न सकिन्छ। स्पिकर वा भोलन्टियर बन्न चाहनेले यसमा आवेदन खुलाउनासाथ आवेदन दिन सक्छन्। सहभागी बन्न ‘अर्ली बर्ड’ टिकट लिन सकिन्छ। विद्यार्थीकै लागि भनेर विशेष टिकट पनि हुन्छ।

‘जसलाई इच्छा छ यसमा आएर हेर्नुहोस्। चिनाजानी गर्नुस्। फाइदा सबैलाई हुन्छ,’ एलिनाले अनलाइनखबरसँग भनिन्।

शुक्रबार र शनिबार हलमा युवा अनुहार नै धेरै देखिन्थे। विशेष किसिमको कौतुहलता उनीहरूमा थियो। नयाँ कुरा सिक्ने र बाँड्ने वातावरण उस्तै थियो। यो वर्ष पनि सधैँझैँ पहिलो दिन (शुक्रबार) कन्ट्रिब्युटर डे भयो। दोस्रो दिन एआई, अटोमेसन, वेब विकास र व्यावसायिक रणनीतिका ३० भन्दा बढी सत्र भए।

नेपाल, भारत, अमेरिका, युरोप र बङ्गलादेशका विज्ञहरू आए। ब्लुहोस्ट, होस्टिङ डटकम, जेटप्याक लगायतका कम्पनीहरू सहभागी थिए।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?