४ भदौ, क्यानबेरा । नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिक र परिवारप्रति अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनले ऐक्यबद्धता जनाएकी छन्।
क्यानबेरास्थित नेपाली समुदायका प्रतिनिधिसँग गभर्नर–जनरल मोस्टिनले भेटघाट गर्दै नेपाल र अस्ट्रेलियाबीचको मानवीय सम्बन्ध तथा नेपाली–अस्ट्रेलियाली समुदायको अवस्थाबारे चासो व्यक्त गरेकी छन्।
अस्ट्रेलिया–नेपाल फ्रेन्डसिप सोसाइटीको पहलमा गभर्नर–जनरलको सरकारी निवास गभर्नमेन्ट हाउस, क्यानबेरामा नेपाली समुदायका प्रतिनिधिका लागि विशेष चियापान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा क्यानबेरामा रहेका विभिन्न नेपाली संघसंस्था तथा समुदायका प्रतिनिधि सहभागी थिए।
नेपालमा आएको विपत्तिका कारण अस्ट्रेलियामा रहेका धेरै नेपाली परिवार आफ्ना आफन्त, साथीभाइ तथा गाउँ–समुदायको अवस्थाबारे चिन्तित रहेका बेला गभर्नर–जनरलसँगको भेटले उनीहरूको पीडा र चिन्तालाई उच्च तहसम्म पुर्याएको सोसाइटीले जनाएको छ।
गभर्नर–जनरल मोस्टिनले यसअघि पनि नेपालमा भएको प्राकृतिक विपत्तिप्रति औपचारिक रूपमा समवेदना व्यक्त गरेकी थिइन्। ३ सेप्टेम्बर २०२६ मा उनले क्यानबेरास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन्।
त्यस अवसरमा उनले बाढी तथा पहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, घर तथा जीविकोपार्जन गुमाएका नागरिक र अझै बेपत्ता आफन्तको खोजीमा रहेका परिवारप्रति सहानुभूति व्यक्त गरेकी थिइन्। साथै, उद्धारकर्मी र स्वयंसेवकहरूले गरिरहेको प्रयासको प्रशंसा गरेकी थिइन्।
गभर्नमेन्ट हाउसमा आयोजित कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिले नेपालमा आएको विपत्तिप्रति अस्ट्रेलियाले देखाएको मानवीय सहयोग र समर्थनका लागि धन्यवाद दिएका थिए।
अस्ट्रेलिया–नेपाल फ्रेन्डसिप सोसाइटीले गभर्नर–जनरललाई मैत्री स्कार्फ प्रदान गर्नुका साथै संस्थाको ४२ वर्षको इतिहास तथा अस्ट्रेलिया–नेपाल सम्बन्ध र सामुदायिक सद्भावमा पुर्याएको योगदान समेटिएको प्रतिवेदन हस्तान्तरण गरेको थियो। जवाफमा गभर्नर–जनरलले सोसाइटीलाई स्मरणस्वरूप एउटा स्मारक सिक्का प्रदान गरेकी थिइन्।
सोसाइटीका अनुसार कार्यक्रममा सहभागी हुने स्थान सीमित भएकाले संस्थामा लामो समयदेखि योगदान गर्दै आएका सबै व्यक्तिलाई सहभागी गराउन सम्भव भएन। यद्यपि, उनीहरूको योगदानलाई पनि सम्मानपूर्वक स्मरण गरिएको सोसाइटीले जनाएको छ।
प्रतिक्रिया 4