+
+
Shares
विचार :

तीन मिनेटमा बोल्न नसकिएका बग्रेल्ती विषयहरू

कतिपय केन्द्रीय सदस्यहरू त उभिन गाह्रो मान्ने र उभिइहाले पनि थरथर काँपेर स्वरोच्चारण गर्न नसक्ने अवस्थाका पनि हुनुहुन्छ। उहाँहरूको क्षमता विकास हुन बाँकी छ। जे बोल्न चाहन्छ, उसलाई धितमरुन्जेल बोल्न दिए हुन्न ? आखिर तपाईं पनि त घण्टौंसम्म बोल्नुभएकै छ !

युवराज बास्कोटा ‘यज्ञ’ युवराज बास्कोटा ‘यज्ञ’
२०८३ असोज ६ गते १७:१४

जारी एमाले केन्द्रीय कमिटी बैठकमा कमरेड अध्यक्षले ‘प्रस्तुत हुने प्रतिवेदनउपर र आफूलाई लागेका विषयवस्तुहरू तीन मिनेटमा बोल्नुपर्ने’ भनेर कडाइसाथ रुलिङ गर्नुभएको छ। हुन त यो पहिलोपटक रुलिङमा आएको नौलो र अनौठो विषय भने होइन। उहाँको नेतृत्व रहेयता विगतमा पनि यस्तोयस्तै थियो।

विगतमा म एक कार्यकाल केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिएँ। केन्द्रीय सदस्यको हैसियतले सम्पन्न भएका जम्मा ११ वटा बैठकमा सामेल भएँ। ११ वटा बैठकमार्फत पार्टीको ३३ मिनेट समय लिएँ। यो मेरो मात्र होइन, अध्यक्षपछिका उपाध्यक्षदेखि लिएर पदाधिकारीलगायत समग्र पङ्क्तिको पनि हालत यस्तै थियो, नियति यस्तै थियो।यद्यपि, महासचिवले बैठक सञ्चालन गर्दै रहँदा एकाध मिनेट बढी लिनुहुन्थ्यो। यो स्वाभाविक पनि थियो।

त्यही बेला पनि लाग्दथ्यो– कम्युनिस्ट पार्टी र आन्दोलन अनन्त विचारको सारसंक्षेप खिचिएपछिका दिनमा सिर्जित राजनीतिक क्रान्तिको जगमा जन्मियो। पुष्पलालदेखि मदनकुमार भण्डारीसम्म उघ्रिएको नेतृत्वको अगुवाइमा पार्टीको जन्मसँगै आरम्भ भएको विचारमाथिकै निरन्तर विमर्शसहित आन्दोलन सुदृढ बनेर हुर्कियो।

यस्तो कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा तीन मिनेट समय लिएर के बोलिएला ! के चाहिँ बोल्नु होला ! पार्टीले अवलम्बन गरेको दार्शनिक मूल्यमान्यता, सिद्धान्त, विचार, समाजको अर्थराजनीतिक वर्ग र वर्ग दृष्टिकोण, तदनुरूप नेता–कार्यकर्ताको आचरण, चरित्र विकास र सङ्गठनात्मक जीवनउपर बोल्नुपर्दा तीन मिनेटमा कसरी बोलिएला !

यसमा पनि नेतृत्वलाई रिझाउन, बुझाउन सम्बोधन अनिवार्य गर्नुपर्ने। कथम् सम्बोधन कर्णप्रिय भएन भने, नेतृत्वले चाहेको अलिअलि चाकडी शैली अपनाउन सकिएन भने, प्रसन्न चित्तका साथ उहाँहरूको ध्यानाकर्षण गराउन सकिएन भने अर्थात् सम्बोधनमा हृदयस्पर्शयोग्य शब्द चयन, भाषा प्रयोग र आलंकारिक भएन भने वक्रदृष्टि पर्ने डर हुन्थ्यो।

जम्मा तीन मिनेटको विषय अग्निपरीक्षा हुन्थ्यो। अरूमाथि अध्यक्षको प्रत्यक्ष लगाम हुने अनि अध्यक्षको चाहिँ घण्टौंसम्म पनि लम्बेतान भाषण हामीले सुनिदिनुपर्ने कस्तो नसुहाउँदो अवस्था थियो !

वैचारिक लडाइँलाई सम्झँदा

नेपालको भूराजनीतिक मानचित्रमा पहिलोपटक सङ्गठित भएको राजनीतिक लडाइँको उत्कर्षसँगै वैचारिक लडाइँले पनि स्पेस पायो। एकसाथ यो राजनीतिक–वैचारिक लडाइँको नेतृत्व नेकपा एमालेले गरेको थियो, नेपाली क्रान्तिको मौलिक सिद्धान्तका रूपमा विकसित ‘जनताको बहुदलीय जनवाद’ ले गरेको थियो।

जनताको बहुदलीय जनवादका प्रतिपादक, विचारक मदनकुमार भण्डारीको दुःखद् भौतिक अवसानपछि झन्डै १५ वर्षसम्म कमरेड माधवकुमार नेपालले लगातार नेतृत्व गर्नुभयो। उहाँको नेतृत्व एक ढङ्गले भन्नुपर्दा निर्विरोध र निर्विघ्न थियो। तथापि, सलबलाएका केही निश्चित कारणहरू थिए; जसको जगमा उभिएर हामीले अब नेतृत्वको अनिवार्य विकल्पका रूपमा कमरेड केपी शर्मा ओलीलाई अघि सार्न चाह्यौं, अघि सार्न रुचायौं।

यो बेलासम्म पार्टीको स्थायी कमिटी सदस्य रहनुभएका नेता कमरेड ओलीले नै राजनीतिक दल र दलीय जीवनमा नेपाली समाजको झल्को आउने संरचनागत पक्षलाई जोडतोडका साथ उठाउनुभयो। महासचिव नामको एकल पात्र नै कार्यकारी रहने वैधानिक व्यवस्थाको विकल्पमा बहुपदीय सङ्गठनात्मक संरचनाको पक्षमा दृढतापूर्वक उभिनुभयो।

वैधानिक दिशानिर्देशसहित यससम्बन्धी रेखाचित्र कोर्नुभयो, सामूहिक नेतृत्व प्रणाली र व्यक्तिगत जिम्मेवारी वहन गर्ने विषयमा पृथक् ढङ्गले वकालत गर्नुभयो। पार्टी जीवनको लोकतान्त्रीकरणको पक्षमा सैद्धान्तिक मताभिमतसहित योगदान गर्नुभयो। एउटा नेतृत्वको सक्रिय उमेरको हद ७० वर्ष र कार्यकारी रहन सकिने व्यहोराअनुरूप दुई कार्यकालको बारेमा नयाँ ढङ्गले बहस चलाउनुभयो, अन्तिम रूपमा टुङ्गो लगाउनुभयो र परिभाषित गर्नुभयो।

पार्टीलाई समयसुहाउँदो मूल्यमान्यताअनुरूप लोकतान्त्रिक अभ्याससहित अघि बढाउने कामलाई जनताको बहुदलीय जनवादको अभिन्न अङ्गका रूपमा बहस आरम्भ गर्नुभयो र कार्यान्वयनमा ल्याउनुभयो। आजको आँखीझ्यालबाट दुई दशकयता चियाएर हेर्दा वस्तुतः यही मात्र एउटा गर्विलो कारण थियो– जसले गर्दा हामीले तपाईंलाई खोज्यौं, तपाईंलाई नै रोज्यौं र माधवकुमार नेपालको उपयुक्त विकल्पका रूपमा तपाईंलाई उभ्यायौं।

तपाईं एक्लैले मात्र आजको यो अवस्था प्राप्त गर्नुभएको होइन। यसमा तपाईं एक्लै भएका बखत अर्थात् प्रतिकूल समयमा पनि निर्बाध भएर तपाईंका अघिपछि उभिने सयौं सहयोद्धा र हजारौं कार्यकर्ताको अहम् भूमिका छ, योगदान छ र सर्वस्व छ। आफ्नो भन्ने केही नराखी सर्वस्व खर्चिएर तपाईंका निमित्त अघिपछि रहने पङ्क्ति, पात्र, व्यक्ति र स्रोत आज कहाँ छ ? खोज्नुभएको छ ?

जनताको बहुदलीय जनवादको अभिन्न अङ्गका रूपमा तपाईंले वकालत गर्नुभएको पार्टी जीवनको लोकतान्त्रीकरण, सामूहिक निर्णय प्रक्रियाअन्तर्गत सबैको सहभागिता र व्यक्तिगत जिम्मेवारीसहितको सामूहिकता, विचारको जग निर्माणमा विभिन्न औपचारिक र अनौपचारिक फोरममार्फत प्राप्त हुने योगदानको आवश्यक सम्मान आदि पक्ष अहिले कहाँ छन् ? यसनिम्ति समय निकालेर सोच्न भ्याउनुभएको छ ? छैन।

तपाईं एक्लैले मात्र आजको यो अवस्था प्राप्त गर्नुभएको होइन। यसमा तपाईं एक्लै भएका बखत अर्थात् प्रतिकूल समयमा पनि निर्बाध भएर तपाईंका अघिपछि उभिने सयौं सहयोद्धा र हजारौं कार्यकर्ताको अहम् भूमिका छ, योगदान छ र सर्वस्व छ।

जनताको बहुदलीय जनवादप्रतिको तपाईंको राजनीतिक–वैचारिक क्षमतासहित पृथक् बुझाइ जति उम्दा र अग्राधिकारपूर्ण थियो, व्यवहार त्यसको आधा मात्रामा पनि छैन। तीन मिनेटमा एउटा सचेत मानिस आफ्नो परिचयको प्रारम्भिक अंश त राख्न सक्दैन; एमालेको राजनीतिक–वैचारिक नेतृत्वले के बोल्नुहोला ! के भन्नुहोला ! जब नेता–कार्यकर्ताले बोल्ने फोरम पाउँदैन, पाएको फोरममा समयावधिका कारण आफ्ना कुरा राख्न पाउँदैन भने त्यो उब्रिएको विचार कहाँ राखोस् !

मनको बह कोसँग कहने… मौका नै कहीँ पनि पाइँदैन त ! तपाईंलाई भेट्न चाह्यो, मजस्ताको केही खैर चल्दैन, केही दाल गल्दैन। मजस्ताले आफ्ना विचार र भावनाहरू कहाँ पोखोस् त ! कि टेलिभिजनमा, कि सामाजिक सञ्जालमा, कि उपलब्ध आमसञ्चारमा होइन त ? अनि यसलाई किन अन्यथा लिइरहनु ? लिनुपर्छ र ? पर्दैन जस्तो लाग्छ।

कतिपय केन्द्रीय सदस्यहरू त उभिन गाह्रो मान्ने र उभिइहाले पनि थरथर काँपेर स्वरोच्चारण गर्न नसक्ने अवस्थाका पनि हुनुहुन्छ। उहाँहरूको क्षमता विकास हुन बाँकी छ। जे बोल्न चाहन्छ, उसलाई धितमरुन्जेल बोल्न दिए हुन्न ? जोसँग विषयगत ज्ञान छ, अध्ययन छ, अनुभव छ, उसलाई प्रशस्तै बोल्न दिए हुन्न ? जोसँग आन्दोलन निर्माणको अथाह योगदान छ र योगदानको इतिहास छ, उसलाई सम्मानपूर्वक बोल्न दिए हुन्न ? आखिर तपाईं पनि त घण्टौंसम्म बोल्नुभएकै छ !

सबैको उत्तिकै लगानी छ यो पार्टी बन्नमा र यत्तिको सुदृढ हुनमा। आफूले बनाएको पार्टी बिग्रियोस् भनेर कसैले पनि बोलेको हुँदैन, धारे हात लगाएको र उछित्तो काढेको पनि हुँदैन, कटाक्षपूर्ण केही विषयवस्तु राखेको हुँदैन। हामीले यसलाई कसरी लिन्छौं ? भन्ने मात्र मूल प्रश्न हो। प्रशंसामोहले ‘आलोचनात्मक चेत र चेत विकासलाई’ खायो। अन्ततः आलोचनाका स्वरहरू हामीलाई हाम्रा लागि अप्रिय लाग्न थाले। कुरा यति मात्र हो नि ! होइन र ?

पार्टीमा तपाईंबाहेक झन्डै दुई दर्जन पदाधिकारी हुनुहुन्छ, प्राविधिक कारणले केन्द्रीय सदस्य बन्न पुग्नुभएको सुयोग्य नेतृत्व पङ्क्ति छ। शिक्षित, दीक्षित र प्रशिक्षित आशलाग्दो पङ्क्ति छ। यो हाम्रो पार्टी र समग्र आन्दोलनको सम्पत्ति हो। यसलाई विश्वास नगरेजस्तो ‘अरूको भूमिकालाई निस्तेज तुल्याउँदै’ तपाईं अध्यक्ष स्वयंले बैठकको सञ्चालन गर्नुभएको छ, अध्यक्षता गर्नुभएको छ, आचारसंहिता आदि फरमान गर्नुभएको छ आदि–आदि।

तपाईंको ‘आत्मस्वीकारोक्ति’ आओस् नआओस्; तर राजनीतिबाहेक सामाजिक संरचनाअन्तर्गत क्रियाशील विभिन्न सङ्घसंस्था चलाउने सचेत लोकका लागि पनि यो ‘सुहाउँदो–मिल्दो’ भएको छैन।

‘आत्मस्वीकारोक्ति’ अबको बाटो

हिजो तपाईंले यो एमालेमा गरेको योगदान आफैंमा अथाह छ। यसको जगमा एमाले राष्ट्रको पहिलो शक्ति बनेको जगजाहेर छ। यो स्थापित मात्रै भएन, देशलाई सङ्कटको बेलामा हिम्मतका साथ पार लगाउनुभयो। ‘आत्मस्वीकारोक्ति’ हुन्छ भने ‘बा’ मोहमा रुमलिँदा आज तपाईं पार्टीभित्र र बाहिरसमेत कमजोर बन्दै जानुभएको छ।

बुटवल महाधिवेशनताका तपाईंलाई प्रमुख नेता बनाउन जिउज्यानको बाजी थापेर साथ दिने पङ्क्ति आज कहाँ छ ? आज तपाईंको वरिपरि को छ ? त्यो पुरानो दोस्ती अहिलेसम्म तपाईंसँग किन अडिन र उभिन सकेन ? मृत्युशय्याको रोदनले नजिकिएको म एक जना पात्र अर्थात् मानवीय संवेदनासँग निःसर्त साटिएको ‘तपाईं र मेरो आत्मीयता’ कहाँ खलबलियो ? तृष्णासँगै किन वितृष्णा पलायो ? हामीबीच कुन रणकौशल खेलाडीले गोल खेल्यो ? म स्वयं ‘नेतृत्व छाड्न’ किन भनिरहेको छु ?

विषय खोतल्नुभन्दा पनि जिम्मेवार सबैले घोत्लिन जरुरी छ। सक्रिय जीवनको उत्तरार्धमा अब ‘धेरै आलोचित भएर होइन, सम्मानजनक बिदा हुने स्थिति विकास गर्नु’ उपयुक्त हुन्छ।

एउटा हातोले सिङ्गो जाँतो चलाएजस्तो पार्टी चलाउने हो भने ‘बहुपद, सामूहिकता, पदीय जिम्मेवारी’ जस्ता विषयलाई किनार लगाए हुन्छ, खारेज गरे हुन्छ। होइन भने विधानतः स्थापित विधिअनुरूप पार्टी कमिटी चलेको देख्नेलाई पनि सुहाउँदो–बुझ्दो हुन्छ।

देशमा नवोदित शक्ति, पात्र र प्रवृत्तिको बोलबाला छ। यसैको जग, आड र भरोसामा राजनीतिले नयाँ मोड लिएको छ। यद्यपि, यसले सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी पारेको सतहमै देखिन्छ। एमाले यो प्रभावबाट अछुतो छैन।

यतिबेला ऐतिहासिक पृष्ठभूमि, सङ्घर्ष र बलिदानको इतिहास बोकेको पार्टीमा ‘आफ्नै नेतृत्वको कार्यशैलीका कारण’ संशय प्रकट हुनु, प्रश्न उठ्न र असन्तुष्टि बढ्नु राम्रो होइन; गम्भीर सङ्कटपूर्ण अवस्थाको पूर्वानुमान हो। विचारको लडाइँ र विचार–व्यवहारबीचको अन्तरसम्बन्धमा ‘अमुक व्यक्तिको देवत्वकरण’ हामीलाई फापेन। यस्तो अफाप काम गर्नुहुँदैन। आशीर्वचन र आशीर्वादले तलको काम उठेन। परिवर्तित सन्दर्भमा कामको क्षेत्र पहिचान गर्ने, कामलाई सङ्गठित ढङ्गले उठाउने र उठाएको काममा तागत जुटाउने ‘जनशक्ति निर्माण एवम् परिचालन’ जरुरी छ।

सङ्गठनात्मक जीवनमा उठेका कतिपय प्रश्नहरूको उत्तर दिनुको सट्टा ‘आलोचनात्मक आवाजलाई दबाउन र क्रमशः हतोत्साहित गर्ने’ जुन प्रयास भएको देखिन्छ, यो राम्रो होइन। प्रश्न छन्— पार्टीमा प्रश्न सोध्नु अपराध हो ? पार्टीमा यसको विधानको कुरा गर्नु अपराध हो ? सङ्गठनात्मक जीवनमा लोकतन्त्रको माग गर्नु अपराध हो ? गलतविरुद्ध आवाज उठाउनु अनुशासनहीनता हो ?

देशमा नवोदित शक्ति, पात्र र प्रवृत्तिको बोलबाला छ। यसैको जग, आड र भरोसामा राजनीतिले नयाँ मोड लिएको छ। यद्यपि, यसले सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी पारेको सतहमै देखिन्छ। एमाले यो प्रभावबाट अछुतो छैन। यो अवस्था सिर्जना हुनुमा ‘हामी पनि केही हदसम्म दोषी’ अवश्य छौं। यसबीचमा हाम्रा पनि केही कमीकमजोरीहरू रहे। कसैलाई धारे हात लगाएर र सत्तोसराप गरेर होइन, बरु ‘आत्मस्वीकारोक्ति’ गरे मात्र सुधार सम्भव छ।

सिद्धान्त सही पैमानामा छ, यसको गाइडलाइन ठीक छ; तर ‘व्यवहार र व्यावहारिक पक्ष’ कमजोर छ। राजनीतिक पृष्ठभूमि राम्रो छ तर हाम्रा मानिसको व्यवहार चाम्रो छ। डिजिटल डिभाइस सँगसँगै लिएर तयार भएको नवोदित पुस्ताले हामीलाई पत्याउँदैन, चाहँदैन र रुचाउँदैन। यो आजको यथार्थ हो। झन्डै ३९ प्रतिशत मत यो पुस्ता, पङ्क्ति र पात्रको अधीनमा छ। यसलाई प्रभावित तुल्याउने सहअस्तित्वसहितका सुयोग्य व्यवहारभन्दा पनि ‘आत्मकेन्द्रित हाम्रा व्यवहारले’ हामीलाई कहाँ लैजाला ?

पार्टी यतिबेला जागरण अभियानअन्तर्गत छ। अभियान चाहिँ जित्नेहरूको मात्र हो कि ? भन्ने भान पर्छ, आभास हुन्छ। मेरो क्षेत्रको पार्टी इन्चार्ज फलानोचाहिँ पार्टी लाइनविरोधी भनेर निषेधको मनोविज्ञान सिर्जना गर्न खोज्नुहुन्छ; बेदाग जीवनमा धर्सो कोर्दै र कसैको नाम विशेष पुकार्दै हिँड्नुहुन्छ। यो राम्रो होइन।

चालु बैठकमा जे देखियो, यसले झन् यस्ता गतिविधिलाई मलजल गरेको छ। निरुत्साहन होइन, प्रोत्साहन गरेको छ। गलत नजिर मात्र होइन, अभ्यासको थालनी भएको छ। ढिलोचाँडो मात्र हो, सुधारविना पर्खन सके यसले हामीलाई रसातलमा लैजानुको विकल्प छैन।

हिजो हामीले बनाएको विधानमा सबैका आआफ्नै काम, कर्तव्य र अधिकार छन्। यसले पुलको काम मात्र गरेको छैन, ‘परस्पर खोजेको छ र सबैलाई जोडेको छ।’ विधानको व्यवस्थाभित्र कमिटी प्रणाली निर्माण भएको छ। यसलाई जस्ताको तस्तै पछ्याऔं ! विधानतः कमिटी प्रणालीलाई स्वस्फूर्त चल्न दिऔं र आफूअनुकूल तोडमरोड गरेर मर्न नदिऔं ! यसैमा हामी सबैको कल्याण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?