जापानमा दुजुआन आँधीका कारण टोकियो र आसपासका क्षेत्रमा भएको मुसलधारे वर्षा र तीव्र हावाहुरीका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आँधीका कारण करिब ५० हजार मानिसको विद्युत् आपूर्ति अवरुद्ध भएको छ, भने देशभर सयौं उडान रद्द गर्नुपरेको छ ।
मंगलबार आँधी जापानको पूर्वी तटमा ठोक्किएपछि अधिकांश क्षेत्रमा मानिसलाई सुरक्षित स्थानमा सार्न जारी गरिएका आदेश हटाइएको छ ।
सोमबार आँधीको प्रभाव सबैभन्दा बढी हुँदा अधिकारीहरूले मानिसको ज्यानमा तत्काल खतरा रहेको चेतावनी दिएका थिए । त्यसबेला करिब १९ लाख मानिसलाई सुरक्षित स्थानमा जान अपिल गरिएको थियो ।
कानागावा र चिबामा भएका पहिरोका घटनामा चार जनाको मृत्यु भएको हो । सार्वजनिक प्रसारक एनएचकेका अनुसार अन्य ६ जना अझै बेपत्ता छन् ।
दुजुआन आँधीमा १३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो भने हावाको झोक्काको गति १९४ किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो ।
प्रशान्त क्षेत्रमा आएका आँधीहरूको शृंखलामा दुजुआन पछिल्लो आँधी हो । समुद्रको तापक्रम बढाउने ‘सुपर एल निनो’का कारण यस्ता आँधीहरू अझ शक्तिशाली बन्न सक्ने बताइएको छ ।
अधिकारीहरूले मानिसहरूलाई मौसमसम्बन्धी पछिल्ला सूचनामा निरन्तर ध्यान दिन अपिल गरेका थिए ।
प्रतिक्रिया 4