+
+
Shares

कांग्रेसको नेतृत्वमा गगन थापाको विकल्प छैन : उपसभापति भुसाल

‘अग्रजलाई सम्मान र युवालाई जिम्मेवारी दिने नीति अहिलेको आवश्यकता हो । शेरबहादुर देउवालाई ससम्मान अभिभावक मान्न हामी तयार छौं,’ उनले भनिन् ।

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८३ असोज ६ गते १७:५५

६ असोज, अर्घाखाँची । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छन् । मंगलबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

‘कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन । १५औं महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्छ,’ उनले भनिन्, ‘आन्तरिक गुटको अन्त्य गर्दै सबै पक्षलाई समेटेर बलियो र सक्षम कांग्रेस निर्माण गर्नुपर्छ ।’

नेतृ भुसालले लामो राजनीतिक सङ्घर्षपछि नेपालमा प्राप्त लोकतन्त्रको संरक्षण र संस्थागत विकासमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको दाबी गरिन् । मुलुकको समृद्धि र दिगो विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको भन्दै उनले राजनीतिक दलहरू पनि आन्तरिक रूपमा बलियो हुनुपर्नेमा जोड दिइन्  ।

जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरणले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार सञ्चालनको जिम्मेवारीमा पुर्‍याएको उल्लेख गर्दै भुसालले वर्तमान सरकार पाँच वर्ष टिक्नुपर्ने धारणा राखिन् ।

तर, सरकारका गतिविधि हेर्दा जनताले रास्वपालाई विश्वास गरेपनि मुलुक हाँक्ने विषयमा अपरिपक्वता देखिएको उनको टिप्पणी थियो ।

पूर्वसभापति शेरबहादुर देउवालाई ससम्मान अभिभावकको भूमिकामा स्वीकार गर्न आफूहरू तयार रहेको नेतृ भुसालले बताइन् ।

‘अग्रजलाई सम्मान र युवालाई जिम्मेवारी दिने नीति अहिलेको आवश्यकता हो । शेरबहादुर देउवालाई ससम्मान अभिभावक मान्न हामी तयार छौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?