News Summary
Generated by OK AI. Editorially reviewed.- \'अ किलर भ्यू\' ले अपराध र रहस्यको कथामार्फत आधुनिक मानव चेतना र शहरी एकांकीपन उठाएको छ।
- नाटकले दृष्टिकोण र यथार्थबीचको द्वन्द्व, ग्यासलाइटिङ र सामाजिक पूर्वाग्रहको मुद्दा उठाउँदै आफूले देखेको कुरामाथि शंका गर्न बाध्य बनाउँछ।
नेपाली रङ्गमञ्चमा पछिल्लो समय विषयवस्तुको छनोट र प्रस्तुतीको शैलीमा नयाँ प्रयोगहरू भइरहेका छन् । टेकुस्थित कौशी थिएटरमा मञ्चन भइरहेको नाटक अ किलर भ्यू त्यस्तै एउटा साहसिक प्रयास हो ।
सतिश प्रसाईंको लेखन तथा निर्देशनमा तयार भएको यो नाटकले दर्शकलाई एउटा अपराध र रहस्यको घटनाक्रम देखाउँछ । त्यसैमार्फत, नाटकले आधुनिक मानव चेतना, शहरी एकांकीपन र दृष्टिकोण भर्सेस यथार्थको दार्शनिक धरातलमा उभ्याएर सोच्न बाध्य पार्छ ।
कोर्नेल वुलरिचको चर्चित कथा इट ह्याड टु बि मर्डर (१९४२) र अल्फ्रेड हिचककको क्लासिक सिनेमा रियर विन्डो (१९५४) बाट आंशिक रूपमा प्रेरित भए पनि निर्देशक प्रसाईंले यसलाई विशुद्ध नेपाली सामाजिक मनोवैज्ञानिक परिवेशमा ढालेर न्याचुरलिस्टिक एब्सर्ड डार्क कमेडीको रूप दिएका छन् ।
कथावस्तु
नाटकको केन्द्रमा छ नेत्र जोशी, जो पेसाले फोटोग्राफर हो । नाटकको सुरुवातमै खुट्टा भाँचिएर ४ महिनादेखि आफ्नै कोठाको चौघेरामा थुनिन बाध्य भएको दृश्यबाट कथा अघि बढ्छ । बाहिरी संसारसँग उसको सम्पर्कको एकमात्र माध्यम उसको झ्याल र क्यामेराको लेन्स बन्न पुग्छ । यही लेन्सबाट उसले आफ्ना छिमेकी दृश्य ठकुरी र उनकी बिरामी श्रीमतीको जीवन नियाल्न थाल्छ ।
छिमेकीको घरमा निरन्तर हुने भनाभन, शारीरिक मानसिक शोषण र रातको समयमा हुने शंकास्पद चहलपहलले नेत्रको मनमा ठूलो शंका उब्जाउँछ । रातको २/३ बजेतिर सुटकेस बोकेर पटकपटक बाहिरिने ठकुरीले आफ्नै श्रीमतीको हत्या गरिसकेको निष्कर्षमा नेत्र पुग्छ । तर, विगतमा रक्सीको मातमा आफ्ना साथीहरूकै कारण दुई पटक प्रहरीसमक्ष गलत उजुरी दिएर जेल परिसकेकाले नेत्रको कुरा कसैले पत्याउँदैनन् ।

नेत्रले आफ्ना प्रहरी साथी इन्सपेक्टर थमस (टमी) डङ्गाल र प्रेमिका एलिजालाई यो रहस्य सुल्झाउन भन्छ । कोकेन तस्करहरूको पछि लागिरहेको टमी र नेत्रको सनकबीचको द्वन्द्वले कथालाई एकातिर सस्पेन्सतर्फ लैजान्छ भने अर्कोतिर व्यङ्ग्य र डार्क कमेडीको सिर्जना गर्छ ।
त्यसपछि के नेत्रको कुरा प्रहरीले पत्याउँछ? उसले आफ्नो शंकालाई थप पुष्टि गर्न के-के गर्छ ? के दृश्य ठकुरी साँच्चैको हत्यारा हुन् ? अथवा अरू नै केही हुन्छ ? यी यावत् कुराहरू नै नाटकको बाँकी कथा हुन् ।
भनिहालौँ, नाटकको अन्त्यमा एउटा गजबको ट्विस्ट छ।
विषयगत गहिराइ
यस नाटकले उठाएको सबैभन्दा ठूलो प्रश्न हो – हामीले देखेको कुरा कति सत्य हो र हामीले बुझेको सत्य कति भ्रम ? अर्थात् दृष्टिकोण भर्सेस यथार्थ नाटकको मूल विषय हो । यी दुईको धुमिल रेखामा नाटकको कथा बगेको छ ।
हामी बाहिरबाट जे देख्छौं वा सुन्छौं, के त्यो नै पूर्ण यथार्थ हो ? वा त्यो हाम्रो आफ्नै मानसिक एकाकीपन र धारणाको उपज हो ? नाटकले यो प्रश्न खडा गर्छ । मानिसहरू कसैको वास्तविक जीवन र पीडा नबुझी टाढाबाटै हेरेर तुरुन्तै धारणा बनाउन र उनीहरूमाथि नैतिक वा सामाजिक ठप्पा लगाउन कति हतारिन्छन् भन्ने सत्यलाई नाटकले प्रस्तुत गरेको छ ।

अर्कोतिर, ग्यासलाइटिङ अर्थात् मानसिक रूपमा भ्रमित पार्ने प्रक्रिया र सामाजिक पूर्वाग्रहको मुद्दा पनि सतहमा आएको छ । नाटकमा ग्यासलाइटिङ मुख्यतया सम्बन्धभित्र, प्रहरी प्रशासनमा र दर्शकमाथि गरिएको छ । दृश्य ठकुरीले आफ्नी बिरामी श्रीमतीलाई विष दिएर अशक्त बनाउँदै उनको सम्पत्ति हडप्छ र बाहिर बिरामीको छटपटी मात्र भएको भान पार्छ ।
विगतमा गलत उजुरी दिएको इतिहास देखाउँदै नेत्रले प्रत्यक्ष देखेको अपराधको दाबीलाई साथी भए पनि प्रहरीले उसको सनक वा भ्रम भनेर पन्छाउँछ । अनि अन्त्यसम्म आइपुग्दा, मञ्चमा देखिएको घटनाक्रम यथार्थ हो कि दृष्टिको भ्रम भन्ने दोधारमा पार्दै नाटकले दर्शक स्वयंलाई नै आफूले देखे-सुनेको कुरामाथि शंका गर्न बाध्य बनाउँछ ।
चरित्रचित्रण र अभिनय
मुख्य पात्र नेत्रको भूमिकामा रहेका विजय आनन्द ताम्राकारले ४ महिनाको बन्दी जीवनले सिर्जना गरेको छटपटीलाई शारीरिक हाउभाउ र संवादमार्फत प्रभावकारी रूपमा व्यक्त गरेका छन् । उनले शंका, छटपटी, डर र दृढताको अद्भुत सन्तुलन प्रस्तुत गरेका छन् ।
दृश्य ठकुरीको रहस्यमयी, क्रूर र द्वैध चरित्रलाई अर्जुन पौडेलले मञ्चमा जीवन्त बनाएका छन्। बाहिर शान्त देखिने तर भित्र भयानक षड्यन्त्र बुनिरहेको पात्रको रूपमा उनको अभिनय सशक्त छ ।
राज न्यौपानेले निभाएको इन्सपेक्टर टमीको पात्रले नाटकमा हास्य र यथार्थको सन्तुलन मिलाएको छ। कानुनको औपचारिकता, कार्यव्यस्तता र साथीप्रतिको कर्तव्यबीचको ताणतानलाई उनले सहज ढङ्गले मञ्चन गरेका छन् ।

एलिजा र मधु नेपालको भूमिकामा रहेका क्रिस्टिना बस्नेत र ग्रीष्मा राणा भट्टले नाटकको सस्पेन्स र भावनात्मक उचाइलाई मजबुत बनाएका छन् । उनीहरूबाहेक अन्य कलाकारहरू कम समय मञ्चमा देखिन्छन् र उनीहरूको अभिनय औसत छ ।
निर्देशन, मञ्चशिल्प र प्राविधिक पक्ष
थिएटर भिलेजका पूर्वविद्यार्थी भएकाले पनि हुन सक्छ, निर्देशक सतिश प्रसाईंको सुझबुझ र नाट्य-दृष्टि यस नाटकमा स्पष्ट झल्किन्छ ।
नाटकको अर्को सबल पाटो यसको सेट हो । नाटकमा मुख्य रूपमा नेत्र र दृश्यको कोठालाई देखाइएको छ । त्यो बाहेक प्रहरी चौकी, अस्पताल लगायतका अन्य ठाउँहरू पनि कथाक्रममा आउँछन् । सेटभित्र सिङ्गो नाटकलाई बाँधेर राख्नु र दर्शकको ध्यान अलिकति पनि भड्किन नदिनु निर्देशक र सेट डिजाइनरको प्राविधिक सफलता मान्न सकिन्छ ।
त्यसमा प्रकाश र ध्वनि संयोजनले पनि राम्रो काम गरेको छ। रहस्य र त्रासको वातावरण सिर्जना गर्न रातो र अँध्यारो रङको प्रकाश संयोजन प्रयोग गरिएको छ । पृष्ठभूमिमा बज्ने शंकास्पद ध्वनि, टेलिफोनका घण्टीहरू र अडियो रेकर्डिङको प्रयोगले नाटकको सस्पेन्सलाई उत्कर्षमा पुर्याउँछ ।

यद्यपि टेलिफोनका घण्टीहरू भने अस्वाभाविक रूपमा चर्को सुनिएका छन्, जसले कथाको लयबाट दर्शकलाई क्षणिक रूपमा भड्काउँछ ।
नाटकको अर्को राम्रो पाटो यसको संवाद र लय हो । संवादलाई प्राकृतिक बनाइएको छ, जसमा वर्तमान समसामयिक विषयहरूलाई लिएर कमेडीका पञ्चलाइनहरू र दार्शनिक तर्कहरू राखिएका छन् । तर, यी कहिल्यै कथामाथि हाबी हुँदैनन् । संवादको यो सन्तुलनले नाटकलाई बोझिलो हुन दिँदैन ।

यद्यपि कतिपय ठाउँमा संवाद अलि लामो र दोहोरिएको जस्तो लाग्छ । अनावश्यक संवादहरू पनि कतिपय ठाउँमा छन्, जसले मूल कथालाई खासै सहयोग गर्दैनन् । यिनले कथाको गतिलाई क्षणिक रूपमा सुस्त बनाएका छन् । अर्कोतिर, अपराधको जटिलता र प्रहरी अनुसन्धानको प्रक्रियालाई अझ बढी सूक्ष्म र प्रामाणिक बनाउन सकिने ठाउँ जीवितै देखिन्छ ।
समग्रमा, ‘अ किलर भ्यू’ नेपाली रङ्गमञ्चमा एउटा फरक स्वाद र विचारोत्तेजक नाटक हो । कथाको मर्म, पात्रहरूको अभिनय र निर्देशकीय दृष्टिकोणको हिसाबले यो नाटक वर्तमान नेपाली थिएटरको एउटा स्मरणयोग्य प्रस्तुति बन्न पुगेको छ ।
फोटो: एब्सर्ड आईकन्स नेपाल
प्रतिक्रिया 4