७ असोज, काठमाडौं । एमालेका केन्द्रीय सदस्य रविन्द्र अधिकारीले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै आन्तरिक एकता मजबुत बनाउनुपर्ने बताएका छन्।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै अधिकारीले पार्टी एकताबद्ध भए विद्यमान समस्यालाई क्रमशः निस्तेज पार्दै पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिने बताए ।
उनले पार्टीभित्रको आन्तरिक एकतालाई पहिलो सर्तका रूपमा अघि सार्नुपर्नेमा जोड दिए।
‘सामूहिकता चल्नुपर्छ,’ अधिकारीले भने, ‘हामी रिभाइभ हुने पर्याप्त आधार छन्। एउटा प्रतिबद्धता गरेर जाऔँ।’
उनले बैठकमा प्रस्तुत प्रतिवेदनमा धेरै विषय समेटिएको भन्दै त्यसलाई आधार बनाएर पार्टी अघि बढ्नुपर्ने धारणा राखे। सामान्य विषयमा अल्झिएर बस्ने अवस्था नरहेको उनको भनाइ थियो।
अधिकारीले लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध बनाउने दायित्व पनि एमालेकै भएको बताए। त्यसका लागि पार्टीले पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ।
‘एकताबद्ध बनाउने, आन्तरिक एकता गर्ने, निराशा नबाँड्ने हो भने अहिले पनि रिभाइभ हुने स्पेस छ,’ उनले भने।
पार्टीका तल्लो तहसम्म प्रतिबद्ध र इमानदार कार्यकर्ता रहेको उल्लेख गर्दै अधिकारीले उनीहरूलाई साथमा लिएर अघि बढ्नुपर्ने बताए। उनले पार्टीका कमजोरीको गहिरो समीक्षा गर्दै त्यसपछि सकारात्मक संकेत दिनुपर्नेमा पनि जोड दिए।
प्रतिक्रिया 4