News Summary
Generated by OK AI. Editorially reviewed.- इथियोपियन एयरलाइन्सले अशान्त उत्तरी क्षेत्र टिग्रेका लागि बुधबार बिहान हुने सबै उडान रद्द गरेको छ ।
- प्रधानमन्त्री अबिय अहमदलाई सत्ताबाट हटाउने उद्देश्यले टिग्रे पिपुल्स लिबरेसन फ्रन्टसहित सात विपक्षी समूहले गठबन्धन बनाएका छन् ।
- एयरलाइन्सले मेकेले, अक्सुम र शायरका उडानहरू स्थगित गरेको जनाएको छ, तर चार्टर्ड उडानमार्फत त्यहाँ पुग्न सकिन्छ ।
७ असोज, अदिस अबाबा (रासस/एपी)। सङ्घीय र क्षेत्रीय सेनाबीच लडाइँ चर्कने आशङ्काबीच, सरकारी स्वामित्वको इथियोपियन एयरलाइन्सले बुधबार बिहान अशान्त उत्तरी क्षेत्र टिग्रेका लागि हुने आफ्ना सबै उडान रद्द गरिएको घोषणा गरेको छ ।
प्रधानमन्त्री अबिय अहमद र उनको सरकारलाई सत्ताबाट हटाउने उद्देश्यले ‘टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट’ लगायत सात विपक्षी समूहले गठबन्धन बनाएको तीन दिनपछि यी उडानहरू रद्द गरिएका हुन् ।
मुख्य विपक्षी समूहले बहिष्कार गरेको जुन महिनाको आम निर्वाचनमा अबियको ‘प्रोस्परिटी पार्टी’ले सत्ता कायम राखेको थियो ।
बुधबार, इथियोपियन एयरलाइन्सले थप विवरण नदिई वर्तमान परिस्थितिका कारण टिग्रेको राजधानी मेकेले तथा अक्सुम र शायर सहरमा हुने उडानहरू स्थगित गरेको जनाएको छ ।
यद्यपि चार्टर्ड उडानमार्फत त्यहाँ पुग्न सकिन्छ, तर अन्य कुनै पनि एयरलाइन्सले यस क्षेत्रमा नियमित उडान भर्दैनन् ।
‘टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट’ले उत्तरी इथियोपियामा भएको घातक द्वन्द्वका क्रममा सङ्घीय सेनासँग लडेको थियो, उक्त द्वन्द्व नोभेम्बर २०२२ मा शान्ति सम्झौतामा हस्ताक्षर भएसँगै अन्त्य भएको थियो ।
विपक्षी समूहले आइतबार ‘इथियोपियन पिपुल्स फोर्सेस एलायन्स फर सर्भाइभल’ (अस्तित्वका लागि इथियोपियाली जन–बल गठबन्धन) नामक गठबन्धन गठन गरेको घोषणा गरेका थिए ।
प्रतिक्रिया 4