News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र सिंह महताले आफ्नी भाइबुहारीको सुत्केरीपछि जटिल बनेको अवस्थामार्फत आपत्कालीन उद्धार प्रणालीको समस्या प्रतिनिधिसभामा उठाएका छन्।
- उनले मन्त्रालयहरूमा फोन नउठेको, कानुनी जटिलताका कारण हेली उद्धार रोकिएको र निजी हेलिकप्टरबाट उद्धारको विकल्प खोज्नुपरेको बताए।
- महताले गम्भीर बिरामीका लागि तत्काल निर्णय हुने उद्धार प्रणाली, चौबीसै घण्टा समन्वय संयन्त्र र दुर्गम क्षेत्रका बिरामीका लागि हवाई साधनको व्यवस्था गर्न सरकारसँग माग गरे।
८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र सिंह महताले आफ्नै परिवारका सदस्यले भोगिरहेको पीडा र त्यसबाट आफूले गरेको अनुभूतिमार्फत राष्ट्रिय समस्या देखाउने प्रयास गरेका छन् ।
प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सधैं अरूका समस्या र पिडा सदनमा उठाउँदै आएकोमा आजमा आफ्नै परिवारका सदस्यले भोगिरहेको पीडा सुनाएका हुन् ।
उनका अनुसार, उनका भाइ बुहारी भदौ ६ गते सुत्केरी बेथा लागेपछि कञ्चनपुरको महाकाल अस्पतालमा भर्ना भइन् । चिकित्सकको सल्लाह अनुसार भदौ ७ गते शल्यक्रिया गरियो । बुहारीले छोरीलाई जन्म दिइन्, परिवारमा खुसीको क्षण थियो ।
‘तर त्यो खुसी धेरै समय टिक्न सकेन । शल्यक्रियापछि आमाको मुटुको चाल रोकिएपछि स्वास्थ्य अवस्थामा एकाएक जटिल बनेर उहाँलाई भेन्टिलेटरमा राखियो र चिकित्सकसँग परामर्श गर्दा उहाँको स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने भएकाले भेन्टिलेटर सहितको हेलिकप्टर मार्फत सुविधा सम्पन्न अस्पतालमा लैजान डाक्टरले सुझाव दिनुभयो,’ सांसद महताले भने ।
त्यसपछि आफूले तत्काल स्वास्थ्य महिला बालबालिका तथा गृह मन्त्रालयमा सम्पर्क गरेको सुनाए । ‘तर त्यहाँ कसैको पनि फोन रिसिभ भएन त्यसपछि म सम्माननीय सभामुखज्यूको कार्यकक्षमा पुगेँ’ उनले भने ।
आफ्नो परिवारको सदस्यको जीवन बचाउनु पर्ने अत्यन्तै पीडादायी अवस्थामा रहेको र सभामुखलाई सबै कुरा बताउँदै गर्दा आफू भावनात्मक रुपमा विचलित भएको स्मरण गरे ।
सभामुखले तत्काल स्वास्थ्य मन्त्रीलाई फोन गरी जसरी भएपनि उद्धारको व्यवस्था गर्न भनेको सुनाए ।
त्यसपछि आफूहरू स्वास्थ्य मन्त्रालय पुगेको उल्लेख गर्दै उनले थपे, ‘स्वास्थ्य मन्त्रालय हुँदै महिला बालबालिका र गृह मन्त्रालयसम्म पुग्यौ र अन्तत: हामीले एउटै जवाफ सुन्यौं, कानुनी जटिलता कारण हेली उद्धार गर्न सकिने त्यो क्षण मेरा लागि, मेरो अगाडि एउटै प्रश्न थियो त्यतिबेला कानुन ठूलो कि एउटा नागरिकको जीवन म कुनै विशेष सुविधा मागिरहेको थिइनँ ।’
आफू केवल जीवन बचाउन सकिने सम्भावना भएकाले एउटा गम्भीर बिरामीलाई समयमै उपचार गराउने अधिकारका लागि दौडिरहेको स्मरण गर्दै उनले भने, ‘अन्तत: निजी क्षेत्रको हेलिकप्टर मार्फत उद्धारको विकल्प खोज्नु पर्यो र काठमाडौंको मेडिसिटी अस्पतालका जिएम सँग कुराकानी पश्चात उहाँको टिमले महाकाल अस्पतालको चिकित्सकसँग निरन्तर सम्पर्क गरिएको छ र उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ ।’
सीमित स्रोत साधनका बीच पनि गेटा विश्वविद्यालय र महाकाल अस्पतालका डाक्टरहरुले डाक्टरहरुको टिमले बिरामीको अवस्थामा सुधार ल्याउन सबै खाले प्रयास जारी राखेको बताए ।
यहाँनेर उनले आफूले भोगेको जस्तो समस्या आम नागरिले कसरी सामना गरिरहेका होलान् ? भनेर विषय राखे ।
‘म एकजना संघीय सांसद भएर राज्यका विभिन्न निकाय समक्ष प्रत्यक्ष पहुँच हुँदा हुँदै पनि एउटा गम्भीर बिरामीलाई समयमै हेलिकप्टरबाट उद्धार गराउन यति धेरै तह प्रक्रिया र पार गर्नुपर्ने अवस्था आयो भने आमनागरिकले यस्तो परिस्थितिमा के गर्ने ?,’ उनले भने, ‘दुरदराजका गाउँमा बस्ने आर्थिक रुपमा कमजोर राज्यका निकाय सम्म पहुँच नभएका नागरिकले आपतकालीन अवस्थामा जीवन बचाउने उपचार कसरी पाउने ?’
आफूहरू निर्वाचित भएर आएको पनि करिब ६ महिना पुगिससकेको भन्दै उनले यस्ता अत्यन्तै जटिल परिस्थितिमा नागरिकको जीवन बचाउने काममा के गर्न सकियो भनेर समीक्षा गर्ने बेला भएको बताए ।
‘नागरिकको जीवन बचाउन बाधक बन्ने ऐन कानुन किन संशोधनको प्रक्रियामा आएन ? अगाडी बढ्न सकेनन् ? किन यो प्रक्रियालाई अझै सरल र छिटो र मानवीय बनाउन सकिरहेका छैनौं ?,’ उनले प्रश्न गरे ।
आफू सरकारसँग कुनै व्यक्ति विशेषका लागि नियम तोड्न माग नगरिरहेको भन्दै उनले थपे, ‘बरु सबै नेपाली नागरिकका लागि समान रुपले लागू हुने गरी स्पष्ट पारदर्शी आपतकालीन अवस्थामा तत्काल निर्णय गर्न सकिनेगरी उद्धार प्रणाली निर्माण गर्न माग गर्दछु ।’
गम्भीर बिरामीको चिकित्सकिय प्रमाण र सम्बन्धित अस्पतालको सिफारिसका आधारमा तत्कालिन हवाई उद्धारको निर्णय तत्काल लागू गर्ने व्यवस्था लागू गर्न माग गरे ।
स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र निजी हेलिकप्टर कम्पनीबीच चौबीसै घण्टा समन्वय हुने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
विशेषगरी सुदूरपश्चिमका भौगोलिक रुपमा दुर्गम क्षेत्रका गम्भीर बिरामीहरुको उपचारका लागि आवश्यक हवाई साधन र पूर्वतयारीलाई प्राथमिकता राख्नुपर्ने उनको आग्रह छ ।
‘आज मेरो परिवारले भोगिरहेको पिडा भोलि अर्को कुनै परिवारले भोग्न नपरोस् । म आज एउटा सांसदको रुपमा आफ्नो परिवारको सदस्यका लागि दौडिरहेको छु । मैले हिजो जे देखे जे भोगें भोलि कुनै आमनागरिकले यस्तो अवस्था भोग्दा उसले कसको ढोका ढकढकाउने ?’ उनले भने ।
मानव जीवनभन्दा ठुलो कुनै प्रक्रिया हुन नसक्ने भन्दै उनले भनेका छन्, ‘जीवनभन्दा ठुलो कुनै नियम हुन सक्दैन । कानुन नियम र नागरिकको जीवन सहज बनाउनका लागि जीवन बचाउने बाटो छेक्नका लागि होइनन् ।’
प्रत्येक नेपाली नागरिकको आपतकालीन अवस्थामा समयमै उपचार तथा उद्धार पाउने सुनिश्चित गर्न उनले सरकारसँग माग गरे ।
प्रतिक्रिया 4