+
+
Shares

प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबीच राष्ट्रसंघ मुख्यालयमा भेटवार्ता 

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच न्युयोर्कस्थित मुख्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ४:५६
Photo Credit : फोटो : राजन काफ्ले/खसोखास डट कम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी प्रधानमन्त्री बालेन्द्र शाहले न्युयोर्कस्थित मुख्यालयमा महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरे।
  • भेटपछि प्रधानमन्त्री शाहले राष्ट्रसंघको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे र त्यसपछि महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
  • रसुवाको भोटेकोशी बाढीको क्षतिपछि नेपालले जलवायु परिवर्तनलाई मुख्य कारण ठहर गर्दै जलवायु न्यायको पक्षमा आवाज उठाउन प्रधानमन्त्री शाह महासभामा पुगेका हुन्।

९ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच न्युयोर्कस्थित मुख्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ।

बुधबार न्युयोर्क आइपुगेका प्रधानमन्त्री शाहले बिहीबार महासचिव गुटेरेससँग भेटघाट गरेका हुन्। शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६:३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४:१५ बजे) महासचिव गुटेरेससँग भेट गरेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघको आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए। 

फोटो : राजन काफ्ले/खसोखास डट कम

महासचिवसँगको छलफललगत्तै उनले महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। 

महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताए। उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए। भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए ।

भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो।

हालै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसबाट भएको क्षतिको मुख्य कारण जलवायु परिवर्तन भएको निष्कर्ष नेपालको छ। सोही विषयलाई लिएर जलवायु न्यायको पक्षमा विश्वमञ्चमा प्रभावकारी ढङ्गले आवाज उठाउन प्रधानमन्त्री आफैँ महासभामा सहभागी भएका हुन्। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?