+
+
Shares
टिप्पणी :

युद्ध र किसानको बिम्बमार्फत शक्तिराष्ट्रलाई प्रश्न सोधे बालेनले

राष्ट्रसंघ महासभामा बालेनको सम्बोधन : कमजोरी औंल्याए, सहकार्य खोजे

एकातिर युद्ध चलिरहेको छ र युद्ध सञ्चालन गर्न जुन किसिमको तदारुकता, तयारी र स्रोतहरूको व्यवस्थापन गरेको देखिन्छ; त्यही किसिमको तयारी एउटा आम कृषकलाई खेतीपाती गर्न जुटाइएको देखिँदैन। एकातिर युद्ध चलिरहेको छ, अर्कोतिर ग्लोबल सप्लाई चेनमा ठूलो प्रभाव परिरहेको छ र त्यो प्रभावका कारणले एउटा आम किसान आफ्नो खेतीपाती गर्न सकिरहेको छैन। यो विषयलाई प्रधानमन्त्री बालेन्द्र शाहले बडो रोचक ढंगले, बिम्बात्मक रूपमा र सीधै अमेरिकाको नाम नलिई शक्ति राष्ट्रहरूलाई प्रश्न गरे।

उज्ज्वल प्रसाई उज्ज्वल प्रसाई
२०८३ असोज ९ गते ९:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले राजनीतिक नेतृत्वको कमजोरीले वातावरणीय संकट गहिरिँदै गएको भन्दै प्रश्न उठाए ।
  • उनले नेपाल एक्लैले संकट सामना गर्न नसक्ने भन्दै भारत, चीनलगायत सहयोगी देश र क्षमतावान् पक्षलाई सहयोगका लागि आह्वान गरे ।
  • उनले युद्ध र किसानको बिम्ब प्रयोग गर्दै युद्धका लागि जुट्ने स्रोत खेतीपातीमा नजुटेको भन्दै विश्व शक्तिमाथि प्रश्न गरे ।

अहिले अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गरे ।

एउटा खास परिस्थितिबाट, खासगरी राजनीतिक उथलपुथलपछि निर्वाचित भएका प्रधानमन्त्री बालेन्द्र शाहबाट धेरै किसिमका अपेक्षाहरू छन्। अहिले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न आउँदै गर्दा समग्र नेपालमा (खासगरी युवाहरूमा) र अहिले यहाँ अमेरिका, न्युयोर्क तथा विदेशमा भएका युवाहरूमा पनि एक किसिमको ठूलो अपेक्षा देखिन्छ।

बालेनले के बोल्लान् ? सम्बोधनमा के भन्लान् ? यस्तै उत्सुकता राखेर सबैले हेरिरहेको बेलामा म पनि ‘पक्कै पनि रोचक हुनेछ र यहाँ केही महत्त्वपूर्ण प्रश्नहरू उठाइनेछन्, केही असाध्यै सङ्गीन विषयहरू पनि सम्बोधन हुनेछन्’ भन्ने अपेक्षासहित त्यो सम्बोधनको पर्खाइमा थिएँ ।

सम्बोधन सुनिसक्दा मलाई लाग्यो- यसमा तयारी राम्रै गरिएको छ। अहिलेको विश्व परिस्थिति र खासगरी वातावरणीय संकटलाई नजिकबाट बुझ्न कोसिस गरिरहेका मान्छेहरूले उचित सुझाव दिएर यो मन्तव्य तयार गरेका हुन् भन्ने मलाई लाग्छ। त्यो मन्तव्यलाई उनले प्रभावकारी ढंगले नै प्रस्तुत गरे भन्ने मेरो बुझाइ छ ।

नेतृत्वमाथिको प्रश्न र युद्धको बिम्ब

बालेनले आफ्नो मन्तव्य राजनीतिक नेतृत्वको कमजोरीबाट सुरु गरे। ‘राजनीतिक नेतृत्वले कमजोरी गरेका कारण, राजनीतिक नेतृत्व उदासीन भएका कारण वातावरणीय संकटहरू अझै गहिरिँदै गएको र त्यसले ठूलठूला क्षतिहरू निम्त्याइरहेको’ तर्फ उनले संकेत गरे ।

‘राजनीतिक नेतृत्वले सुझबुझ पुर्‍याए र समयमा उचित हस्तक्षेप गरे यी ठूला क्षतिहरू न्यूनीकरण गर्न सकिन्छ । हामी हाम्रा धेरै पूर्वाधारहरू जोगाउन सकौंला, गुमाइरहेका धेरै जीवनहरू सुरक्षित गर्न सकौंला’ भन्ने अपेक्षासहित उनले राजनीतिक नेतृत्वलाई नै दोष दिए । यो एक हिसाबले हेर्ने हो भने सेल्फ क्रिटिकल (आत्मआलोचनात्मक) जस्तो पनि देखिन्छ ।

तर उनी आफैं भर्खरै राजनीतिमा आएको र छिटै प्रधानमन्त्रीका रूपमा उदाएका कारण उनले त्यो औंला हिजोदेखि जो शक्तिमा छ र जसले महत्त्वपूर्ण जिम्मेवारीहरू बोकेर यो संसार हाँकिरहेको छ, त्यसमाथि प्रश्न उठाउन खोजेको भन्ने बुझिन्छ । त्यो महत्त्वपूर्ण र जरुरी पनि हो भन्ने लाग्छ मलाई।

किनभने राजनीतिक नेतृत्व चुकेकै कारणले, उनीहरूको उदासीनताकै कारणले र उनीहरूले ‘अपेक्षाअनुरूप उचित हस्तक्षेप गर्न नसकेकै’ कारणले अहिले धेरै किसिमको क्षति हामीले भोग्दै छौं ।

भर्खरै भोटेकोसी बाढी भोग्यौं। त्योभन्दा अगाडि पनि ठूलठूला विपद् हामीले नेपालमा भोगिरहेका छौं। अन्यत्र (जस्तै : पाकिस्तानमा, सिक्किममा) पनि ठूलठूला क्षतिहरू हामीले भोग्दै नै गएका छौं। त्यो सबैलाई सम्बोधन गर्न सक्ने गरी उनले आफ्ना विचार राखे ।

त्यो मन्तव्यको अर्को रोचक विषयचाहिँ मलाई के लाग्यो भने- नेपालको कुरा गर्दा उनले भारत र चीनसँगको सहकार्यको कुरा प्राथमिकताका साथ उठाए; जुन जरुरी पनि थियो जस्तो लाग्छ मलाई। यद्यपि उनले अरूलाई पनि सहयोगका लागि आह्वान गरे ।

“नेपाल एक्लैले अहिले भइरहेको यो ठूलो समस्या सम्बोधन गर्न सक्दैन । भोलि हुन सक्ने क्षतिहरूको सामना गर्न नेपाल एक्लैलाई गाह्रो हुन्छ। अहिलेको यस्तो ठूलो वातावरणीय संकट निम्त्याउन नेपालले असाध्यै सानो (लगभग नगन्य) योगदान गरेको होला; तर यसले मूल्य भने असाध्यै ठूलो तिर्दै छ” भन्ने कुरा उनले स्मरण गराए । त्यसमा सबैले सहयोग गर्नुपर्ने, खासगरी जसको क्षमता छ, जसको स्रोत छ, जसले सक्छ र जसको सामर्थ्य छ; त्यसले बढी योगदान गर्नुपर्ने विषय उनले राम्रोसँग राखे ।

उनले भारत र चीनसँग सहकार्य र अपेक्षाको कुरा भन्दै गर्दा अन्य छिमेकी र सहकार्य गर्ने देशहरूलाई पनि आह्वान गरे। तर मेरो अपेक्षाचाहिँ- अमेरिका जहाँ आइपुगेर न्युयोर्कमै उभिएर उनी बोल्दै थिए, अमेरिकालाई पनि सीधै नाम लिएर सहयोगको अपेक्षा व्यक्त गर्लान् वा ‘अमेरिकाले पनि हामीलाई सहयोग गर्नुपर्छ’ भन्ने किसिमले स्पष्ट उच्चारण गरेर भन्लान् भन्ने थियो। उनले स्पष्ट सहयोगको माग वा आह्वान गर्दै गर्दा अमेरिकाको नाम लिएनन् ।

तर अमेरिकाको नाम उच्चारण नगरी उनले अमेरिकामाथि केही प्रश्नहरू भने पक्कै उठाए । अहिले ग्लोबल अर्डरमा जुन किसिमको परिवर्तन आइरहेको छ र अहिलेको परिस्थिति निर्माण गर्न (खासगरी युद्ध सञ्चालन गर्न र युद्धको भुमरी अझै बढी गहिराउन) अमेरिकाको जुन किसिमको भूमिका छ, त्यो भूमिकामाथि उनले प्रश्न उठाएको देखिन्छ । किनभने उनले आफ्नो मन्तव्यमा ‘युद्ध र किसान’ को बिम्ब प्रयोग गरेका छन् ।

एकातिर युद्ध चलिरहेको छ र युद्ध सञ्चालन गर्न जुन किसिमको तदारुकता, तयारी र स्रोतहरूको व्यवस्थापन गरेको देखिन्छ; त्यही किसिमको तयारी एउटा आम कृषकलाई खेतीपाती गर्न जुटाइएको देखिँदैन । एकातिर युद्ध चलिरहेको छ, अर्कोतिर ग्लोबल सप्लाई चेनमा ठूलो प्रभाव परिरहेको छ र त्यो प्रभावका कारणले एउटा आम किसान आफ्नो खेतीपाती गर्न सकिरहेको छैन ।

यो विषयलाई उनले बडो रोचक ढंगले, बिम्बात्मक रूपमा र सीधै अमेरिकाको नाम नलिई (अथवा विभिन्न देश वा क्षेत्रमा युद्ध सञ्चालन गरिरहेका, युद्धलाई भरणपोषण गरिरहेका र त्यसका लागि स्रोत जुटाइरहेका शक्तिहरूको नाम नलिई) ती शक्तिहरूका अगाडि ‘प्रश्नहरू छन्’ भन्ने कुरा स्मरण गराए ।

यद्यपि अरूले पनि त्यो प्रश्न उठाएका छन्, अरूले अझ स्पष्ट भाषामा त्यो कुरा महासभामा उठाए; तर उनले पनि त्यो प्रश्न राम्रैसँग उठाए र त्यो बिम्ब आफैंमा महत्त्वपूर्ण थियो जस्तो लाग्छ मलाई । किनभने नेपालका किसानहरूले क्षति व्यहोरिरहेका छन्, नेपालका किसानहरू संकटमा छन् ।

त्यो प्रश्न उठाउँदै गर्दा उनले जुन किसिमले वैश्विक परिस्थितिको विश्लेषण गरे र ग्लोबल अर्डरमा आइरहेको परिवर्तन तथा त्यसले निम्त्याइरहेका नकारात्मक असरहरूको बारेमा राम्रैसँग भने भन्ने मेरो बुझाइ छ। अमेरिकालाई पनि ती प्रश्न न्युयोर्कमै उभिएर गर्नु आफैंमा महत्त्वपूर्ण हो, र रोचक पनि हो भन्ने मलाई लाग्छ।

पशुपतिनाथ र बुद्धको नामबाट समापन : अर्थ के ?

उनले अर्को विषय भनेको- साधारणतया हामीले अपेक्षा गरेजस्तै यही क्लाइमेट क्राइसिस र हामीले भोगिरहेको समस्यालाई नै बढी प्राथमिकताका साथ उठाएका छन्।

नेपालले गरेका केही उपलब्धि, विद्युतीय सवारीसाधन (ईभी) को कुरादेखि लिएर जङ्गलको आयतन बढाएको कुरासमेत उनले सम्बोधनमा राखे। उनले ‘राजनीतिक नेतृत्व कसरी चुकिरहेको छ’ भने र मन्तव्य टुङ्ग्याउने बेलामा भने पशुपतिनाथ र बुद्धको नाम लिए।

‘पशुपतिनाथले सबैको कल्याण गरून्’ भन्ने जुन वाक्यांश छ, यो नेपाली भाषामा उनले भने। यो साधारणतया नेपालका राजाहरूले प्रयोग गर्ने र खासगरी हामीले प्रत्यक्ष सुनेको पूर्वराजा ज्ञानेन्द्रले आफ्नो मन्तव्यको अन्त्यमा सधैं प्रयोग गर्ने वाक्यांश थियो। बालेनले पनि त्यसरी नै त्यो वाक्यांश प्रयोग गरे। र, सँगसँगै उनले बुद्धको पनि नाम लिए।

यसलाई सकारात्मक रूपमा हेर्‍यो भने- त्यो नेपालको सांस्कृतिक बिम्बहरूलाई उनले प्रयोग गरेको र खासगरी अन्त्यमा नेपाली भाषामै उनले भनेको देख्दा ‘नेपाल भन्ने देशको पहिचानलाई लगेर त्यो भाषा र धार्मिक बिम्बसँग जोड्दा उनले समग्र नेपालको संस्कृतिलाई नै संकेत गर्न खोजेको, आफ्नो पहिचान उज्यालो बनाउन खोजेको’ जस्तो देखिन्छ।

तर त्यसलाई अर्को ढंगले बुझ्यो वा अलि आलोचनात्मक ढंगले हेर्‍यो भने- एकातिर ‘राजनीतिक नेतृत्व चुकेको’ भनिएको छ। राजनीतिक नेतृत्वमा त सम्भवतः यूएनको नेतृत्व पनि पर्छ। किनभने विश्व परिस्थितिलाई एउटा खास आकार दिन, यो ग्लोबल अर्डर सञ्चालन गर्न र आवश्यक हस्तक्षेप गर्न ‘यूएनजस्तो संस्थाको पनि महत्त्वपूर्ण भूमिका’ हुनुपर्ने हो। तर यूएन जति प्रभावकारी हुनुपर्ने हो, त्यति नभइरहेको परिस्थितिमा ‘नेतृत्व चुक्यो’ भन्दै गर्दा यूएनको नेतृत्व पनि चुकेको हो भन्ने कुरा त्यो संकेतमा बुझिन्छ। अथवा यूएन प्रभावकारी भइरहेको छैन भन्ने कुरा त्यो विषयले संकेत गर्छ।

उनले “लेट्स डु दिस, लेट्स डु द्‌याट” भन्दै जुन एउटा ‘रेटोरिकल’ किसिमले ती वाक्यहरू दोहोर्‍याएर भने, त्यो भने महत्त्वपूर्ण थियो।

तर आशा कोबाट राख्ने त ? हामी मान्छेहरूले, मान्छेले बनाएका संस्थाहरूले, वैश्विक स्तरमा बनेका संस्थाहरूले, त्यो सहकार्य र संयन्त्रहरूले राम्रोसँग काम गर्न सकिरहेका छैनन्; संकट भने असाध्यै ठूलो र गहिरो छ। यस्तो संकटको बेलामा यसरी हामी असफल भयौं भने हामीले आशा कोसँग गर्ने त ? भन्दा ‘हामीले आशा सम्भवतः परमेश्वरसँग, ईश्वरसँग, भगवान्सँग, पशुपतिनाथसँग गर्ने हो कि ! या बुद्धसँग गर्ने हो कि !’ भनेर त्यसलाई अन्ततः त्यहाँ लगेर टुङ्ग्याएको जसरी पनि बुझ्न सकिन्छ।

त्यो भनेको ‘एउटा खास निराशाको अभिव्यक्ति’ पनि भन्न सकिन्छ। सँगसँगै त्यो आफैंमा एउटा ‘सेल्फ क्रिटिकल’ कुरा हो । ‘अहिले हामी मान्छे, हामी नेतृत्व र हामी सबै त्यसमा असफल हुँदै छौं र त्यो ठूलो संकटलाई हामीले पार लगाउन नसकौंला’ भन्ने एउटा निराशाको अभिव्यक्ति पनि त्यसलाई भन्न सकिन्छ।

अझै आलोचनात्मक भएर हेर्‍यो भने “पशुपतिनाथले सबैको कल्याण गरून्” भन्नुको साटो हामीले ‘नेपालको पहिचान उज्यालो हुने गरी र नेपाली भाषामा त्योभन्दा राम्रो, सटिक, आशासहितको र अझै समावेशी हुने गरी’ कुनै अर्को सम्बोधन पनि गर्न सकिन्थ्यो। अर्को ढंगले पनि टुङ्ग्याउन सकिन्थ्यो भन्ने लाग्छ।

यद्यपि त्योभन्दा अगाडि उनले “लेट्स डु दिस, लेट्स डु द्‌याट” भन्दै जुन एउटा ‘रेटोरिकल’ किसिमले ती वाक्यहरू दोहोर्‍याएर भने, त्यो भने महत्त्वपूर्ण थियो। त्यसमा प्रतिबद्धताको कुरा थियो। त्यसमा ‘हामीले पुनः प्रतिबद्धता गर्नुपर्छ, हामी प्रतिबद्ध हुनुपर्छ र हामीलाई ऐक्यबद्धताको खाँचो छ। म यहाँ कसैलाई आरोप लगाउन आएको होइन; म खासमा ऐक्यबद्धता खोज्न आएको हुँ, रिकमिटमेन्ट खोज्न आएको हुँ’ भन्दै टुङ्ग्याउनुभन्दा अगाडि उनले भनेका केही वाक्यहरूको लहर भने असाध्यै रोचक र सकारात्मक पनि थियो भन्ने लाग्छ।

समग्रमा उनले जसरी विषय उठान गरे, त्यो राम्रो थियो। यद्यपि जसरी विभिन्न विज्ञहरू र सम्भवतः विपक्षी दलका पनि र देशका सरोकार राख्ने संस्था तथा मान्छेहरू सबैका सुझाव सुनेर उनले जसरी यो राम्रो मन्तव्य तयार गरे, त्यही किसिमको ‘प्रस्तुतिको कोसिस’ पनि उनले गरे भन्ने लाग्छ।

यद्यपि त्यो कोसिसलाई अझ राम्रो बनाउन सकिन्थ्यो। त्यो सम्बोधनलाई अझ बढी प्रभावकारी बनाउन सकिन्थ्यो। ‘स्वरमा अझै ओज भरेर, अझै मान्छेको बढी ध्यानाकर्षण हुने गरी’ त्यसलाई प्रस्तुत गर्न सकिन्थ्यो। यद्यपि ‘के–के गर्न सकिन्थ्यो ?’ भन्ने ग्यापमा हामी धेरै छलफल गर्न सकौंला। धेरैपटक यो विषयमा भन्न सकौंला।

तर हामीले अर्को पनि के महसुस गर्नुपर्छ भने- महासभामा गरिएको यो सम्बोधन महत्त्वपूर्ण भए पनि ‘यो नै अन्तिम होइन’ र ‘यो नै सबै कुरा होइन’। यति मात्रै गरेर अथवा यो ‘असाध्यै रोचक सम्बोधन बनाउँदा मात्रै पनि’ यहाँबाट ठूलो उपलब्धि केही हासिल भइहाल्दैन।

तथापि हामीले अहिले जुन किसिमको संकट भोगिरहेका छौं, जस्तो अवस्थितिमा हामी छौं र जुन किसिमको परिवर्तनपछि यो अपेक्षाहरूको डङ्गुर भइरहेको बेलामा बालेन्द्र शाह प्रधानमन्त्री भएका छन्; त्यो सबै परिस्थितिमा उनले गरेको सम्बोधन झन् महत्त्वपूर्ण छ भनेर यसलाई उत्सुकतासाथ हेरिरहेको बेलामा न्युयोर्क नजिकै बसेर यो सम्बोधन हेर्दा मलाई खुसी र गौरव पनि महसुस भयो।

एक जना युवा नेताले नेतृत्वको कमजोरीको प्रश्न उठाउँदै र वैश्विक परिस्थितिलाई पनि पर्गेल्ने कोसिस गर्दै रोचक र महत्त्वपूर्ण विषय उठाएका छन्। समग्रमा यो राम्रै भएको छ भन्ने मलाई लाग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?