+
+
Shares

देउवा समूहको महाधिवेशन : वडादेखि केन्द्रसम्म ‘जेनजी’ अनिवार्य

‘निर्वाचित हुने सबै तहका कार्यसमितिहरूमा एक जना १८ देखि २८ वर्षसम्मको महिला र एक जना १८ देखि २८ वर्षसम्मको नवयुवा अनिवार्य रुपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ,’ निर्देशिका निर्माणमा संलग्न स्रोतले भन्यो ।

केशव सावद केशव सावद
२०८३ असोज १० गते १४:२९
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्षका एक महिला र एक पुरुष नवयुवा अनिवार्य समावेश गर्ने निर्देशिका तयार गरेको छ।
  • निर्वाचन निर्देशिकामा समावेशी क्लष्टरबाट निर्वाचित प्रतिनिधिमा पनि १८ देखि २८ वर्षका एक महिला र एक पुरुष समावेश गर्नुपर्ने र नवयुवा नभए अन्य समूहबाट पदपूर्ति गर्न सकिने व्यवस्था छ।
  • इतर समूहले १५ असोजमा वडा अधिवेशन गर्ने र २१–२३ मंसिरमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।

१० असोज, काठमाडौं । समानान्तर महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका ६ वटै तहमा नवयुवा (जेनजी)को प्रतिनिधित्व गराउने भएको छ ।

१५ औं महाधिवेशनका लागि गठन गरिएको एकराज पोख्रेल संयोजकत्वको केन्द्रीय निर्वाचन समितिले तयार गर्न लागेको ‘१५ औं महाधिवेशन निर्वाचन निर्देशिका’ मा केन्द्रदेखि वडासम्मका कार्यसमितिहरूमा उक्त व्यवस्था गरिएको छ ।

निर्वाचन निर्देशिकामा सबै तहका कार्यसमितिहरूमा १८ देखि २८ वर्षसम्म उम्मेर समूहका महिला र पुरूष एक–एक जनालाई अनिवार्य रुपमा समावेश गर्नुपर्ने प्रावधान राखिएको छ ।

कांग्रेसको विधानमा केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेशसभा, प्रतिनिधिसभा, गाउँ–नगर, वडा र टोल गरी आठ तहका कार्यसमितिहरू गठन हुने व्यवस्था छ । कांग्रेसमा मौजुदा अवस्थामा टोलबाहेक छ वडा कार्यसमितिहरू छन् ।

‘निर्वाचित हुने सबै तहका कार्यसमितिहरूमा एक जना १८ देखि २८ वर्षसम्मको महिला र एक जना १८ देखि २८ वर्षसम्मको नवयुवा अनिवार्य रुपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ,’ निर्देशिका निर्माणमा संलग्न स्रोतले भन्यो ।

स्रोतका अनुसार, समावेशीअन्तर्गतका समूह (क्लष्टर) बाट निर्वाचित हुने प्रतिनिधिहरूमा पनि एक जना महिला र एक जना पुरुष १८ वर्षदेखि २८ वर्षसम्मको नवयुवा समावेश गर्नु पर्ने प्रावधान राखिएको छ ।

‘समावेशीअन्तर्गत समावेश गरिएका क्लष्टरबाट निर्वाचित हुने प्रतिनिधिहरूमा समेत सकेसम्म एक जना महिला र एक जना पुरुष १८ वर्षदेखि २८ वर्षसम्मको नवयुवा समावेश गर्नु पर्नेछ,’ निर्देशिकामा लेखिएको छ ।

निर्वाचन निर्देशिकामा १८ देखि २८ वर्षसम्मको नवयुवा नभए खाली हुन गएको अवस्थामा अन्य उमेर समूह वा अन्य समूहबाट पदपूर्ति गर्न सकिने बताइएको छ ।

‘यदि कुनै स्थानमा १८ देखि २८ वर्षसम्मको तथा समावेशी क्लष्टरमा समेत १८ वर्ष देखि २८ वर्षसम्मको नवयुवा नभई खाली हुन गएको खण्डमा अन्य उमेर समूह वा अन्य समूहबाट पदपूर्ति गर्नलाई बाधा पुग्ने छैन,’ निर्देशिकामा उल्लेख छ ।

इतर समूहले निर्वाचन निर्देशिकामा विषयविज्ञ भएको स्थानमा विषयविज्ञको उपस्थिति पनि अनिवार्य गर्नुपर्ने बाध्यकारी प्रावधान निर्वाचन निर्देशिकामा राखेको छ ।  निर्देशिकालाई शनिबार अन्तिम रुप दिने तयारी रहेको बताएको छ ।

१४ औं महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवाको समूहले जारी कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।

उक्त समूहले २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्नेगरी कार्यतालिका ल्याएको छ । चुनदेवी सम्पर्क कार्यालयका अनुसार इतर समूहले १५ असोजमा देशभरका वडाहरूमा वडा अधिवेशन गर्दैछ ।

१५ औं महाधिवेशनका लागि इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ गठन गरेको छ ।

समितिले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजकहरू तोकेर महाधिवेशनको तयारी गरिरहेको छ ।

इतर समूहले वडा अधिवेशन गरेको भोलिपल्ट (१६ असोज) मा कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका सभापति गगन थापा नेतृत्वको कांग्रेसले केन्द्रीय महाधिवेशन काठमाडौंमै आयोजना गर्दैछ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?