+
+
Shares

मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसम प्रतिकूलतासँगै मुस्ताङमा पर्यटक आगमन घट्दा होटल र मुक्तिनाथ क्षेत्र सुनसान बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • बेनी–जोमसोम–कोरला सडकखण्डमा रातिको सवारी सञ्चालन चार दिनका लागि रोक्न स्थानीय प्रशासनले आग्रह गरेको छ।
  • पोखरा–जोमसोम हवाई उडान पनि घटेर दैनिक दुई–तीन मात्र भएका छन्, र शुक्रबार मौसम खराबीले कुनै उडान भएन।

१० असोज, मुस्ताङ । मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान बन्दै गएको छ । निरन्तरको वर्षासँगै बाढीपहिरोको बढ्नुका साथै कतिपय स्थानमा राजमार्ग अवरुद्ध हुँदा यहाँको पर्यटन क्षेत्र प्रभावित भएको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीले प्रभावित भएको मुस्ताङको पर्यटन अहिलेको पर्यटकीय याममा मौसम प्रतिकूलता हुँदा प्रभावित भएको छ ।

विगतका वर्षहरूमा अनुकूलयामसँगै दसैँतिहार जस्ता चाडपर्व अघि पर्यटकीय आगमन बढी हुने मुस्ताङमा बिहीबारदेखि सुनसान बनेको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई असोज ८ गतेदेखि ११ गते भारी वर्षा र हिमपात हुनसक्ने भन्दै पूर्वतयारीसहित सर्तक रहन निर्देशन गरेसँगै सम्बन्धित सबै स्थानीय प्रशासनले उक्त समय जोखिम न्यूनीकरणका लागि पर्यटक तथा सर्वसाधरणलाई सूचित गराइसकेका छन् ।

वर्षा र हिमपातको पूर्व प्रक्षेपण तथा यात्रामा आउन सक्ने समस्या र कठिनाइलाई मध्यनजर गर्दै मुस्ताङमा न्यून सङ्ख्यामा मात्रै पर्यटक भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षा र हिमपातको प्रक्षेपणसँगै बिहीबारदेखि बेनी–जोमसोम–कोरला सडकखण्डमा चार दिनसम्म रातिको समयमा सवारीसाधन सञ्चालन नगर्न म्याग्दी र मुस्ताङका स्थानीय प्रशासनले आग्रह गरेका छन् ।

प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी आवागमन रोकिएपछि मुस्ताङमा पर्यटकको उपस्थिति कम देखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए । मौसम प्रतिकूलताको सूचनालाई केन्द्रविन्दुमा राखेर यहाँ पर्यटक आगमन घटेको हुनसक्ने उनको भनाइ छ ।

केही दिनअघि औसत दैनिक चार हजारभन्दा बढी पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिने गरेकामा बिहीबारदेखि करिब २० प्रतिशत पर्यटक मात्र सडकमार्ग हुँदै मुस्ताङ भित्रिरहेका प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

पर्यटकको उपस्थिति कम हुँदै गएपछि यहाँका होटलहरू प्राय: सुनसान बनेका छन् । यसैगरी मुक्तिनाथ मन्दिरमा समेत दर्शनार्थी नआउँदा सुनसान भएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले बताए । उनका अनुसार रसुवा बाढीपछि गत साउनमा भन्दा भदौमा ४९ दशमलव ७८ प्रतिशतले पर्यटक घटेका प्रहरीको तथ्याङ्कमा देखिएको हो ।

यसैबीच रसुवामा बाढीपछि पोखरा–जोमसोम हवाई पनि उडान घटेको छ । विगतका वर्षहरूमा सोही समयमा दैनिक १० भन्दा बढी हवाई उडान हुने गरेकामा पछिल्लो एक महिनायता दैनिकी दुई–तीन उडान मात्र भइरहेका नागरिक उड्यन कार्यालयका प्रमुख विश्वराज शर्माले जानकारी दिए ।

रसुवा बाढी घटनापछि मुस्ताङ आउने पर्यटकले होटल बुकिङ रद्द गर्न तालेकाले त्यसको असर पोखरा–जोमसोम हवाई सेवामा परेको उनको भनाइ छ । बिहीबार हवाई सेवाअन्तर्गत निजी वायु सेवा कम्पनी तारा र समिट एयरले एक/एक उडान गरेकामा शुक्रबार मौसम प्रतिकूलताका कारण कुनै नभएको प्रमुख शर्माले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?